खेल

नेपालले नामिबियालाई जित्न सकेन

काठमाडौं । आईसीसी विश्वकप लिगको त्रिदेशीय सिरिज अन्तर्गतको नामिबियामा जारी त्रिदेशीय एकदिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल आयोजक नामिबियासँग पराजित भएको छ । 

युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा बुधबार भएको खेलमा नेपाल ८६ रनले पराजित भयो ।

युनाइेड क्रिकेट क्लब मैदानमा सम्पन्न खेलमा नामिबियाले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १८९ रनमात्र बनाउन सक्यो । 

नेपालका कप्तान रोहित पौडेलले ४४ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३४, ज्ञानेन्द्र मल्ले ३०, अर्जुन साउदले २९, आरिफ शेख र ललित राजवंशीले ११ रन बनाए । 

नेपाललाई सस्तैमा समेट्न नामिबियाका जेजे स्मिथ, टंगेनी लुंगामेनी र पिकी या फ्रान्सले समान दुई विकेट लिए । यस्तै, रुबेन ट्रम्पेलमान, ब्रान्डन स्कोल्ज र मिचेल भान लिंगेनले एक–एक विकेट लिए ।

यसअघि मिचेल भान लिगेनले ११९ रन बनाएपछि टस हारेर ब्याटिङमा निम्त्याइएको नामिबियाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २७५ रनको योगफल खडा गरेको थियो । 

नामिबियाका भान लिगेनले १११ बलमा १५ बल र एक छक्का प्रहार गरेका थिए । कप्तान गेहार्ड इरास्मसले ५३, जान निकालेल लोफ्टी इटोनले ४०, डिभान ला ककले १८ र लो–हान्ड्रे लोउरेन्सले १४ रन जोडे । 

नेपालका ललित राजवंशीले चार विकेट लिएका थिए । १० ओभर बलिङ गरेका उनले ३६ रन खर्चिए । यसबाहेक सोमपाल कामीले दुई र सागर ढकालले एक विकेट लिएका थिए ।

शृंखलामा नेपालको यो तेस्रो र नामिबियाको चौँथो खेल थियो । नेपालले अब शृंखलाको अन्तिम खेलमा बिहीबार स्कटल्यान्डसँग खेल्नेछ ।

शृंखलामा नेपाल र नामिबियासँगै स्कटल्यान्ड सहभागी छन् । वर्षाले बिथोलेपछि नेपाल र नामिबियाबीचको पहिलो खेल रद्द भएको थियो । दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग तीन विकेटले पराजित भएको थियो ।

यता नामिबिया भने पहिलो खेलमा स्कटल्यान्डसँग चार विकेटले पराजित भएको थियो । नेपालविरुद्धको दोस्रो खेल रद्द हुँदा नामिबियाले तेस्रो खेलमा स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो ।

लिग–२ मा २३ खेलबाट १८ अंक जोडेको नेपाल तालिकाको छैटौँ स्थानमा छ । ३१ खेलबाट ४४ अंक जोडेको स्कटल्यान्ड तालिकाको शीर्ष स्थानमा छ ।

यस्तै, ३० खेलबाट ३७ अंक जोडेको नामिबिया तालिकाको तेस्रो स्थानमा छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत