खेल

विश्वकप : स्पेन र जर्मनीको बराबरी, क्रोएसियाको पहिलो जित, क्यानडा बाहिरियो

काठमाडाैं । कतारमा जारी फिफा विश्वकप फुटबलमा स्पेन र जर्मनीले बराबरी खेल्दै अंक बाडेका छन् भने क्रोएसियाले पहिलो जित निकालेको छ ।   

आइतबार राति भएको खेलमा स्पेन र जर्मनीले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

प्रतिस्पर्धात्मक खेलको ४० औं मिनेटमा एन्टोनी रुडिगरले जर्मनीका लागि गोल गरेका थिए । तर, भीएआरले अफसाइड देखाएपछि उनको गोलले मान्यता पाएन ।

खेलको ६२ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १-० को अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८३ औं मिनेटमा निकलस फूलक्रुगले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरी ल्याए ।

यस बराबरीसँगै समूह 'ई' बाट दुबै टोलीको नकआउट सम्भावना कायम रहेको छ । स्पेनले २ खेलमा ४ अंक जोडेको छ । स्पेन शीर्ष स्थानमा रहेको छ । जर्मनी २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।  

त्यस्तै, क्यानडालाई ४-१ गोल अन्तरले हराउँदै क्रोएसियाले पहिलो जित निकालेको छ ।

खेलमा सुरुआती अग्रता भने क्यानडाले बनाएको थियो । दोस्रो मिनेटमा डाभिसले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए । 

तर, ३६ औं मिनेटमा क्रमारिचले गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याए । ४४ औं मिनेटमा लिभाजाले गोल गर्दै क्रोएसियालाई २-१ को अग्रता दिलाए । 

खेलको ७० औं मिनेटमा क्रमारिचले व्यक्तिगत दोस्रो गोल गर्दै क्रोएसियालाई ३- १ को अग्रता दिलाए । त्यसपपछि खेलको इन्जुरी समयमा माजेरले गोल गर्दै क्रोएसियालाई ४-१ को जित दिलाए ।

जितसँगै समूह 'एफ' को क्रोएसियाले २ खेलमा ४ अंक जोडेको छ ।  क्रोएसिया शीर्ष स्थानमा रहेको छ । क्यानडाको यो लगातार दोस्रो हार हो । क्यानडा पुछारमा रहेको छ ।  क्यानडा प्रतियोगिताबाट बाहिरिएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत