राजनीति

कस्ताे छ हालकाे प्रतिनिधि सभाका निर्वाचनमा सहभागी मन्त्रीहरूको चुनावी अवस्था ?

काठमाडौं ।  प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा १२ जना मन्त्रीमध्ये कतिपयले हारेका छन् भने कतिपयले जितेका छन् । कस्ताे छ हालसम्मकाे प्रतिनिधि सभाका निर्वाचनमा सहभागी  मन्त्रीहरूको ताजा चुनावी अवस्था ? 

नेपाली कांग्रेसका तर्फबाट

कांग्रेसका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवासमेतले डडेलधुराबाट जित हासिल गरेका छन्  भने,राज्यमन्त्री उमेश श्रेष्ठ पराजित भएका छन् ।बारा १ बाट उम्मेदवार रहेको खानेपानी मन्त्री उमाकान्त चौधरी  नेकपा एमालेका अच्युत मैनालीसँग झण्डै ९ हजार मतान्तरले मन्त्री चौधरी पराजित भएका छन् ।सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की नेपाली कांग्रेसको तर्फबाट सुनसरी ४ मा उम्मेदवार छन् । उनको क्षेत्रमा हाल मतगणना जारी छ । प्रारम्भिक मतगणनामा मन्त्री कार्की नेकपा एमालेका जगदीशप्रसाद कुसियैतसँग पछि परेका छन् । गृहमन्त्री बालकृष्ण खाण पनि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ बाट कांग्रेसका तर्फबाट उम्मेदवार छन् । गृहमन्त्री खाणको निर्वाचनमा क्षेत्रमा समेत मतगणना जारी छ । खाण राप्रपाका उम्मेदवार दीपक बोहरासँग कडा प्रतिष्पर्धामा छन् । यस्तै उदयपुरबाट उम्मेदवारी दिएका परराष्ट्र मन्त्री डा. नारायण खड्काको क्षेत्रमा मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार मन्त्री डा खड्काले अग्रता लिइरहेका छन् । नेकपा एमालेकी मञ्जुकुमारी चौधरीले उनलाई पछ्याइरहेकी छन् । यस्तै कांग्रेसका तर्फबाट दार्चुला उम्मेदवार रहेका उद्योग मन्त्री दिलेन्द्र बडू विजयी भएका छन्। नेकपा एमालेका गणेश ठगुन्नालाई पराजित गर्दै मन्त्री खाड सांसद निर्वाचित भएका हुन् ।

नेकपा एकीकृत समाजवादीको तर्फबाट

अछाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवार रहेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर विजयी भएका छन् । नेकपा एमालेका झपट बोहोरालाई हराउँदै मन्त्री कुँवर निर्वाचित भएका हुन् । दाङ क्षेत्र नम्बर १ बाट नेकपा एसकै तर्फबाट उम्मेदवार शहरी विकास मन्त्री मेटमणि चौधरी पनि विजयी भएका छन् । एमालेकी शान्ता चौधरीलाई पराजित गर्दै मन्त्री चौधरी निर्वाचित भएका हुन् ।काठमाडौं क्षेत्र नम्बर ८ मा नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार रहेका पर्यटन मन्त्री जीवनराम श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पराजित भएका छन् ।

नेकपा माओवादी केन्द्रको तर्फबाट

नेकपा माओवादी केन्द्रको तर्फबाट बाग्लुङ क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका शिक्षा मन्त्री देवेन्द्र पौडेलले जित हासिल गरेका छन् । पौडेल नेकपा एमालेकी मञ्जु शर्मासँग ५ हजार ७ सय ७९ मतान्तरले विजयी भएका हुन् । माओवादी केन्द्रका उपमहासचिव समेत रहेका अर्थमन्त्री जनार्दन शर्मा पनि विजयी भएका छन् । उनले नेकपा एमालेका नन्दराम देवकोटालाई हराउँदै रुकुम पश्चिमबाट निर्वाचित भएका हुन् । बाँके १ बाट माओवादी केन्द्रका उम्मेदवार रहेका खेलकुद मन्त्री महेश्वरराज गहतराजको क्षेत्रमा समेत मतगणना जारी छ । एमालेका सूर्यप्रसाद ढकाल र मन्त्री गहतराजबिच मतगणनाका क्रममा समेत चर्को प्रतिष्पर्धा भइरहेको छ । यद्यपि मन्त्री गहतराज एमालेका ढकालसँग पछि परेका छन् ।ललितपुर ३ मा माओवादीकै तर्फबाट उम्मेदवार रहेकी ऊर्जा मन्त्री पम्फा भुसाल पराजित भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीसँग मन्त्री भुसाल भारी मतान्तरले पराजित भएकी हुन् ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत