मौलिक पर्व : गठेमङ्गल र घन्टाकर्ण पर्व मनाइँदै
- गाउँ सहर संवाददाता
- १० श्रावण मंगलबार, २०७९ | ०९:३०:०० मा प्रकाशित
काठमाडौं । आज गठामुंगः पर्व । साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आज नेवार समुदायले गठामुंगः पर्व मनाउँदैछन् । घरमा शान्तिको कामना गर्दै यो पर्व मनाउने चलन छ ।
वर्षको चारवटा प्रमुख चतुर्दशी- घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशीमा घण्टाकर्ण राक्षसको पूजा गर्दै नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवारहरूको मौलिक पर्वका रूपमा लिने गरिएको छ ।
आज आफ्नो घरगृहमा शान्तिको कामना गर्दै परिवारलाई रोग नलागोस् भनेर राक्षसको पूजा गर्ने चलन छ ।
यस दिन एकाबिहानै उठेर घर लिपेर सफा पार्ने र महादेव र नारायणको मन्दिर पुगेर जल ल्याई आफ्नो घरको सम्पूर्ण भागमा जलले छर्केर चोखो बनाउने प्रचलन छ । दैनिक जीवनमा प्रयोग भइरहेका सम्पूर्ण भाँडाकुँडा समेत धोएर चोखो बनाउनु पर्दछ । जल नछर्केसम्म कसैले खान नहुने धार्मिक मान्यता रहेको छ ।
आजको पर्वलाई किसानहरूको ‘सिनाज्या ब्यंकेगु’ (रोपाइँ कार्य सम्पन्न भएको) र वर्ष दिनको चाडपर्वको सुरुआत भएको सङ्केत पर्वको रूपमा पनि लिने गरिएको छ ।
नेवार समुदायमा घण्टाकर्ण पर्व प्राचीन इतिहासकालदेखि प्रचलनमा रहेको इतिहासविद् एवं संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए । काठमाडौं उपत्यकामा करिब दुई हजार वर्षअघिदेखि यो पर्व मनाउँदै आएको उनले बताए ।
कानमा घण्टा झुण्ड्याएर हिँड्ने राक्षसको पूजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व भनिएको हो । घण्टाकर्णलाई शिवको प्रतीकका रूपमा पनि लिइन्छ ।
आजकै दिनबाट नेवार समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन थालिन्छ । गाईजात्राका बेला आठ दिन प्रदर्शन गरिने विभिन्न बाजागाजा, भैरव नाच, माक प्याखं, देवी प्याखं, भालुचा प्याखं, नागाचा प्याखं, मयुर प्याखं, खिचा प्याखं, रामायणलगायत व्यंग्यले भरिपूर्ण नाटकको प्रशिक्षणसमेत घण्टाकर्ण पर्वपछि सुरुआत गरिन्छ ।
भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचका लागि आजकै दिनबाट मुखुण्डो बनाउन शुभारम्भ गरिन्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
प्रतिकृया दिनुहोस