पूर्वाधार

भरतपुर आँखा अस्पताललाई ‘आईएसओ’ चिह्न

चितवन । नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले आईएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गरेको छ । अस्पतालले गुणस्तरीय व्यवस्थापन गरेबापत यो अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त गरेको हो ।

आइतबार साँझ यहाँ आयोजित एक कार्यक्रममा युनाइटेड रजिष्ट्रार्ड (यूआर)का देशीय निर्देशक प्रकाश पौडेलले नेपाल नेत्रज्योति सङ्घ तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज धरेललाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अस्पतालले अन्तर्राष्ट्रिय गुणस्तर पाउनु खुसीको कुरा भएको बताइन् । अस्पतालले लिएको दिगो विकासको लक्ष्य प्राप्तिको कामना गर्दै प्रमुख दाहालले यो चिह्न प्राप्तिसँग चुनौती थपिएको बताइन् । उनले भनिन्, “यो गुणस्तर चिह्नले भरतपुरलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाएको छ ।”

भरतपुर आँखा अस्पताल विसं २०४४ चैत १८ गते स्थापना भएको हो । ३५ वर्षमा अस्पतालले २३ लाखभन्दा बढी बिरामीलाई सेवा दिएको छ । त्यसमध्ये २२ लाख २० हजार ८६३ लाई बहिरङ्ग सेवा सेवा दिएको छ भने एक लाख सात हजार ६३६ को शल्यक्रिया गरेको छ । 

गत आर्थिक वर्ष २०७८/७९ मा एक लाख ९६ हजार ४०० बिरामीलाई ओपीडी सेवा र नौ हजार ३२८ जनाको शल्यक्रिया गरिएको अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिए । भतपुर आँखा अस्पतालअन्तर्गत भरतपुर उकालोमा बहिरङ्ग विभाग, तीनवटा सेकेण्डरी अस्पताल र १०  आँखा उपचार केन्द्र हाल सञ्चालनमा रहेका छन् । चितवनसहित छ जिल्लामा अस्पताल र सेवा केन्द्र रहेका छन् । भारतीय नागरिकसहित १२ जिल्लाका बासिन्दाले अस्पताल र सेवा केन्द्रबाट प्रत्यक्षरुपमा सेवा पाएका छन् । रासस

गाउँ सहर संवाददाता

तपाईँको मत