राजनीति

नयाँ वैकल्पिक शक्तिको रुपमा आउने गरी जनमुक्तिकाे ५ बुँदे निर्णय

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले मुलुक श्रीलंकाको बाटोमा लागेको भन्दै चिन्ता ब्यक्त गरेको छ ।

साउन ५ गते देखि ७ गते सम्म रुपन्देहीको मंगलापूरमा सम्पन्न राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका महासचिब टोप अस्लामीले मुलुक श्रीलंकाको बाटोतर्फ लागेको भन्दै चिन्ता ब्यक्त गरेका हुन् ।

मुलुक श्रीलंकाको बाटोमा लागेको भन्दै झ्याली पिट्नुको साटो त्यसलाई रोक्नेतर्फ आवश्यक कदम चाल्नुपर्ने उनको भनाई छ ।

भ्रष्टाचारकै कारण मुलुक आर्थिक संकटमा फस्न लागेको भन्दै महासचिब अस्लामीले भ्रष्टाचारलाई राज्यद्रोह सरहको अपराध मानेर सर्वस्वसहित जन्मकैदको सजाय हुने ब्यवस्था गर्नुपर्नेमा जोड दिए ।

स्थानीय तहको निर्वाचनको समीक्षा गर्नुका साथै बैठकले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीलाई नयाँ बैकल्पीक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्ने विषयमा ब्यापक छलफल भएको महासचिब अस्लामीले बताए ।

बैठकले आगामी संसदीय निर्वाचनमा नयाँ बैकल्पीक शक्तिको रुपमा आउने गरी तयारी गर्ने सहित ५ बुँदे निर्णय गरेको छ ।

नियन्त्रण बाहिरको भ्रष्टाचार, परनिर्भर राष्ट्रिय अर्थतन्त्र, चरम व्यापार घाटाको अवस्था, स्वदेशमा रोजगारको अवस्था नगण्य, असंलग्न परराष्ट्र नीति माथि प्रहार, कमजोर अनि निरीह बनाईएको राष्ट्रिय अडान र श्रीलङ्काको बाटोमा अर्थतन्त्र ओरालो लाग्नु देशको जल्दोबल्दो समस्या बनेको यी र यस्ता समस्या समाधानको लागि वैकल्पिक राष्ट्रिय शक्ति निर्माण गर्नु आवश्यक रहेको बैठकको निष्कर्ष रहेको महासचिब अस्लामीले बताए ।

प्राप्त उपलब्धीको रक्षा र थप उपलब्धीका लागि मित्र शक्तिहरुसंग सहकार्य आवश्यक रहेको भन्दै बैठकले जल्दोबल्दो राष्ट्रिय समस्या समाधानका लागि पार्टीले आफ्नै जोडबलमा पनि अभियान÷आन्दोलन सञ्चालन गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा बितरीत प्रेस विज्ञप्तिमा जनाइएको छ ।

यस्तै भ्रष्टाचार र खर्चिलो निर्वाचन रोक्न पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्नुपर्नेमा जोड दिदै बैठकले आगामी निर्वाचनका लागि विदेशमा रहेका नेपालीहरुका हकमा इ–भोटिङ्ग को व्यवस्था गर्न माग गरिएको छ ।

थ्रेसहोल्ड राजनीतिक निषेधको हतियार र लोकतन्त्र विरोधी व्यवस्था भएको भन्दै बैठकले उक्त प्रावधान हटाउन पनि माग गरेको छ ।

अमेरिकी सरकारलाई एसपीपी सम्झौता अस्वीकार गरेको विषयमा तत्काल पत्राचार गर्न समेत जनमुक्तिको माग छ ।

यस्तै आगामी निर्वाचनमा पार्टीलाई वैकल्पिक शक्तिको रुपमा उभ्याउनका लागि : पार्टी अध्यक्ष–कार्यकारी अध्यक्षको नेतृत्वमा केन्द्रीय पदाधिकारी पदेन सदस्य र प्रदेश अध्यक्ष तथा जनसंगठनका केन्द्रीय अध्यक्षहरु आमन्त्रित सदस्य रहने गरी निर्वाचन निर्देशक समिति गठन गरिएको विज्ञप्तिमा जनाइएको छ ।

बैठकले पार्टीका विभिन्न विभाग ईन्चार्ज समेत तोकेको छ । पार्टीको संगठन विभाग प्रमुखमा महासचिव टोप अस्लामी (प्रमुख), सदस्यहरुमा क्रमशः सचिव मोजीव अली, सचिव गजेन्द्र आङ्बुहाङ्ग, संघीय परिषद सदस्यहरु क्रमशः धनी आले, राम इक्बाल मण्डल, लक्ष्मण पुन, टीपु सुल्तान, र जीवनपति श्रेष्ठ रहेका छन् ।

यस्तै प्रशिक्षण विभागः उपाध्यक्ष विदु प्रकाश कायस्थ (प्रमुख), सदस्यहरुमा क्रमशः उपमहासचिव विष्णु थाम्देन, सचिव गीता सारु, सचिव पूर्ण ब. राना र संघीय परिषद सदस्यहरु क्रमशः अधिवक्ता बालशिोर राना रहेका छन् ।

प्रचार विभाग : उपाध्यक्ष बलदीप राई (प्रमुख), सदस्यहरुमा क्रमशः उपमहासचिव विष्णु थाम्देन, सचिव गीता सारु, सचिव गजेन्द्र आङ्बुहाङ्ग, सचिव मोजीव अली, संघीय परिषद सदस्यहरु क्रमशः राम इक्बाल मण्डल, मधु राना, टीपु सुल्तान रहेका छन् भने अर्थ विभाग : कोषाध्यक्ष मान ब. राई (प्रमुख), डिके सूर्यवंशी (उपप्रमुख), सदस्यहरुमा संघीय परिषद सदस्यहरु क्रमशः अशोक पुन, मोहन तिमिल्सेना, धन बहादुर गुरुङ्ग, अरमान अन्सारी, कलावती पुन रहेका छन् ।

अनुशासन विभाग : उपाध्यक्ष हाजी डा. मोहम्मद हसन (प्रमुख), उपाध्यक्ष भीम ब. राना (उपप्रमुख), सदस्यहरुमा संघीय परिषद सदस्यहरु क्रमशः हरिदेव थापा, अशोक पुन, ज्ञान ब. गुरुङ्ग , जनसंगठन विभाग ः उपाध्यक्ष रविन्द्र उच्च नेपाली (प्रमुख), उपाध्यक्ष मनीराम चौलागाई (उपप्रमुख) रहका छन् ।

संघीय परिषदका वरिष्ठ सदस्य हस्त ब. थापालाई संघीय महासभाका लागि ईञ्चार्ज तोकिएको छ । संघीय महासभा सदस्य केहर सिंह राना (नवलपरासी सुस्ता पूर्व) र बल बहादुर राना (बाँके) लाई संघीय परिषद सदस्यमा मनोनयन गरिएको जनाइएको छ ।

पार्टीका संघीय परिषद सचिव गीता सारूकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत