राजनीति

महत्वपूर्ण १३ वटा निर्णय गर्दै सकियाे कांग्रेस केन्द्रीय समिति बैठक (पूर्णपाठ)

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक विभिन्न १३ वटा निर्णय गर्दै सोमबार सकिएको छ ।  बैठकले भ्रातृ संगठनहरुको पूर्णतादेखि आगामी चुनावमा गठबन्धनभित्र तालमेलको गर्नेसम्मको निर्णय गरेको छ । साथै विभिन्न नयाँ भ्रातृ तथा सुभेच्छुक संस्थालाई मान्यता दिएको छ ।

बैठकले आगामी संघीय चुनावमा गठबन्धन गर्ने निर्णय पनि गरेको छ । सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालेमेलका लागि छलफल गर्ने निर्णय बैठकले गरेको छ ।

 

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता प्रकाशशरण महतले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय भएको जानकारी दिए । त्यसका लागि गठबन्धनमा रहेका दलहरूसँग आवश्यक संवाद गरेर थप निष्कर्षमा पुग्ने उनको भनाइ छ । 

असार २७ गतेदेखि प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको बैठक आज सम्पन्न भएको छ । बैठकले देहाय बमोजिमका निर्णयहरु गरेको छ :

१. पार्टी उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक

पूर्णबहादुर खड्काद्वारा केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत “स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन” र पार्टी प्रवक्ता एवं स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतद्वारा प्रस्तुत “स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको प्रतिवेदन” उपर केन्द्रीय कार्यसमितिको बैठकबाट प्राप्त सुझावलाई समावेश गर्ने गरी उक्त दुबै प्रतिवेदनहरुलाई अनुमोदन गर्ने ।

२. सदस्यता व्यवस्थापन केन्द्रीय समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समिति गठन सम्बन्धमा ।

(क) नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४(९)(क) बमोजिम पार्टी सभापति शेरबहादुर देउवाद्वारा तोकिनु भएका पार्टीका महामन्त्री गगनकुमार थापा संयोजक रहनु भएको “सदस्यता व्यवस्थापन केन्द्रीय समिति” गठन गर्ने ।

(ख) नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४(७) बमोजिम केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा “केन्द्रीय अनुशासन समिति” गठन गर्ने ।

(ग) नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३८(१) बमोजिम पार्टी सभापति शेरबहादुर देउवाद्वारा प्रस्ताव गरिनु भएका पार्टी केन्द्रीय कार्यसमितिका सदस्य श्यामकुमार घिमिरे संयोजक रहनु भएकोे “केन्द्रीय लेखा समिति” गठन गर्ने ।

सभापतिले आवश्यक परामर्श गरी उपरोक्त समितिहरुलाई पूर्णता प्रदान गर्ने ।

३. नयाँ भ्रातृ संघ एवं शुभेच्छुक संस्थाको मान्यता सम्बन्धमा ।

(क) नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२(१)(क) बमोजिम (१) नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ (२) नेपाल थारु संघ (३) नेपाल लोकतान्त्रिक खेलकूद संघलाई नेपाली कांग्रेसको भ्रातृ संघको मान्यता प्रदान गर्ने ।

यस अघि नै पार्टीको भ्रातृ संघको रुपमा मान्यता प्राप्त गरिसकेका (१) नेपाल राष्ट्रिय मगर संघ, र (२) नेपाल तामाङ संघ तथा शुभेच्छुक संस्थाको रुपमा मान्यता प्राप्त गरिसकेका (१) नेपाल लोकतान्त्रिक शेर्पा संघ, (२) नेपाल कुमाल संघ र (३) लोकतान्त्रिक नेवाः खल, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ अन्तर्गत आवद्ध संघको रुपमा रहनेछन् । आदिवासी जनजाति भित्र रहेका अन्य जातजातिहरु (थारू बाहेक) को आवद्ध संघ महासंघले गठन गर्न सक्नेछ ।

(ख) नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२(२)(क) बमोजिम (१) नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, (२) नेपाल लोकतान्त्रिक यातायात व्यावसायी संघ, (३) नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ, (४) नेपाल लोकतान्त्रिक पर्यटन व्यावसायी संघ, (५) नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ, (६) नेपाल लोकतान्त्रिक आर्युवेद चिकित्सक संघ, (७) नेपाल लोकतान्त्रिक साना होटल व्यावसायी संघ, (८) नेपाल लोकतान्त्रिक भूतपूर्व प्रहरी संघ, (९) नेपाल लोकतान्त्रिक भूतपूर्व कर्मचारी संघ, (१०) नेपाल स्वास्थ्यकर्मी संघ, (११) नेपाल सामुदायिक विद्यालय कर्मचारी संघलाई नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको मान्यता प्रदान गर्ने ।

नेपाल आदिवासी जनजाति संघका विद्यमान संरचनाहरु स्वतः निष्क्रिय

हुनेछन् । पार्टीबाट मान्यता प्राप्त उल्लेखित भ्रातृ संघ र शुभेच्छुक संस्थाको विधानलाई आवश्यक परिमार्जन गरी केन्द्रले अन्तिम रूप प्रदान गर्ने ।

४. अवधि समाप्त भएर गठन हुन बाँकी रहेका र पूर्णता प्राप्त नगरेका पार्टी आवद्ध भ्रातृ संघलाई यही २०७९ श्रावण मसान्तभित्र गठन र पूर्णता प्रदान गर्ने ।

५. नेपाली कांग्रेसको आगामी ‘नीति महाधिवेशन’ का सम्बन्धमा आवश्यक तयारी गरी केन्द्रीय कार्यालयले केन्द्रीय कार्यसमितिको आगामी बैठकमा प्रस्ताव प्रस्तुत गर्नेछ ।

६. स्थानीय तहमा नेपाली कांग्रेस पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि आचार संहिता जारी गरी केन्द्रले लागू गर्ने ।

७. २०७९ भाद्र २ देखि २४ गतेसम्म राष्ट्रव्यापी रुपमा विशेष अभियान चलाउने यो बैठक निर्णय गर्दछ । अभियानको विस्तृत खाका केन्द्रीय कार्यालयले तयार गर्नेछ ।

८. नेपाली जनसम्पर्क समिति साइप्रसबाट पार्टी विधान बमोजिम तोकिएको रकम र आवश्यक कागजात सहित प्राप्त हुन आएका क्रियाशील सदस्यताको नामावली जम्मा ५०१ (नवीकरण १३० र नयाँ ३७१) लाई स्वीकृत गर्ने ।

९. धन्यवाद प्रस्ताव

नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले स्थानीय निर्वाचन व्यवस्थित र निष्पक्ष रुपले एकै चरणमा सम्पन्न गराएकोमा केन्द्रीय कार्यसमितिको यो बैठक प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँको मन्त्रीपरिषदको उच्च कदर गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछ । साथै, यो बैठक निर्वाचन आयोग, निर्वाचनमा खटिएका कर्मचारी एवं सम्पूर्ण सुरक्षा निकाय, संचार क्षेत्र लगायत सबैको मेहनत र दक्षताको उच्च प्रशंसा गर्दछ ।

१०. सम्मान र बधाई

ज्ञापन प्रस्तावस्थानीय निर्वाचनमा उत्साहपूर्वक सहभागी भएर मुलुकको लोकतान्त्रिक प्रणालीलाई अझ मजबुत बनाउन योगदान गर्ने सम्पूर्ण नेपाली दिदिबहिनी दाजुभाइमा यो बैठक बधाई ज्ञापन गर्दछ ।

आफ्नो अमुल्य मत मार्फत नेपाली कांग्रेसलाई पहिलो दल बनाउनु हुने समस्त मतदातामा यो बैठक हार्दिक आभार प्रकट गर्दै मतदाताको त्यो विश्वासलाई सदैव शिरोपर गर्ने प्रण गर्दछ ।

पार्टीको विजय अभियानलाई सफल बनाउन अहोरात्र खट्नु हुने विभिन्न तहमा कृयाशिल पार्टीका साथीहरु तथा सबै शुभचिन्तकहरुमा यो बैठक सम्मान तथा

बधाई ज्ञापन गर्दछ ।

११. चुनावी तालमेल सम्बन्धमा

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताका आधारमा पाँच दलीय गठबन्धनमा सहभागी हुने निर्णय पार्टीले गरेको थियो । यही निर्णयका आधारमा कतिपय स्थानीय तहमा गठबन्धन सहित हामीले निर्वाचनमा भाग लियौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक समग्रमा गठबन्धन सहित प्राप्त परिणामप्रति सन्तोष व्यक्त गर्दछ ।

बैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसलाई आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा बहुमत तर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकार मार्फत सम्बोधन गर्नका लागि केन्द्रीय कार्यसमितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ ।

यसरी गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका बिषयमा न्यूनतम साझा धारणा निर्माण गर्दै आम नेपाली जनतालाई पाँच वर्षमा स्थीर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाका सहित आमनिर्वाचनमा नेपाली कांग्रेस प्रस्तुत हुनु पर्दछ भन्ने ठहर यो बैठक गर्दछ ।

साथै, तालमेल गरिरहँदा नेपाली कांग्रेसको मुख्य नेतृत्वदायी भुमिका रहेको यथार्थ, सांगठनिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठ्बन्धनमा रहेका दलहरुसंग संवाद मार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दछ ।

१२. सरकारलाई सुझाव तथा ध्यानाकर्षण

संविधानको रक्षा गर्न र लोकतान्त्रिक संस्थाहरू माथिको आक्रमण रोक्नका निम्ति विशेष परिस्थितिमा नेपाली कांग्रेस नेतृत्वमा गठन भएको पाँच दलीय गठबन्धनको वर्तमान सरकारले आफ्नो कार्यकालको एक वर्ष पुरा गरेको छ । संविधानलाई ट्रयाकमा ल्याउँदै क्रमशः कोभिड खोप व्यवस्थापन, एमसिसी अनुमोदन र स्थानीय तहको निर्वाचन लगायतका महत्वपूर्ण काममा सरकारले निर्वाह गरेको भूमिकाको यो बैठक कदर गर्दै अनेक राजनैतिक चुनौती पार गर्दै मुलकलाई सहि मार्गमा ल्याई पु¥याउन सफल नेतृत्व गरेको नेपाली कांग्रेसको नेतृत्वमा विद्यमान आर्थिक चुनौतीलाई सामना गर्दै मुलुकको आर्थिक विकास र समुन्नति यात्रालाई सार्थक गति दिन सकिन्छ र त्यो नै आजको प्रधान कार्यभार हो भन्ने आग्रह साथ यो बैठक जनजीविका र सुशासन लगायत निम्न विषयमा सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छ ।

(क) पूर्ववर्ती सरकारले संविधानको मर्म विपरित संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लगायत विविध विषयमा ल्याएका प्रस्ताव र निर्णयहरुका विरुद्ध उभिएको स्मरण गर्दै यस्ता महत्वपूर्ण कानून बनाउँदा र निर्णय गर्दा संविधानको मर्म र भावनाको अनुरुप हुनेगरी निर्णय गर्न नेपाली कांग्रेस सरकारसँग आग्रह गर्दछ ।

(ख) देशको विद्यमान आर्थिक अबस्थालाई लिएर आम नागरिकमा अस्वभाविक ढङ्गले भय सृजना गर्ने काम भैरहेकोमा सरकारले आम नागरिकलाई अर्थतन्त्रको अहिलेको वास्तविक अवस्था के छ, मुख्य समस्या कहाँ छ, चुनौतीहरु के छन्, जोखिम न्युनिकरण गर्न के गर्न सकिन्छ लगायतका विषयमा श्वेतपत्र जारी गरी यथार्थ सार्वजनिक गर्न आग्रह गर्दछ तथा अर्थतन्त्रमा देखिएका समस्यालाई सम्बोधन गर्न आवश्यक कार्य योजना तयार गरि कार्यान्वयन गर्न सरकारसंग आग्रह गर्दछ ।

(ग) सुशासन कायम गर्ने सन्दर्भमा ‘शुन्य सहनशीलता’ नीति अंगिकार गरी व्यवहारिक कार्यान्वयन गर्न, पारदर्शीता कायम गर्न र गल्ती गर्ने कसैले पनि उन्मुक्ति नपाउने अवस्थाको सिर्जना गर्न कुनै कसर बाँकी नराख्न यो बैठक सरकारसँग आग्रह गर्दछ ।

(घ) महंगी, कालोबजारी, मलको अभाव लगायत जनजीविकाका सवालहरूमा सरकारले विशेष ध्यान दिई जनताले दैनिक रुपमा भोग्नुपरेका समस्या, प्रकृयागत झन्झट र अप्ठ्याराहरूलाई सहज बनाउन र जनताको साथमा सरकार छ भन्ने अनुभूति दिलाइरहन सरकार थप क्रियाशील हुन यो बैठक आग्रह पर्दछ । खेतीको समयमा हरेक बर्ष नेपाली किसानहरुले भोग्नुपरेको मलको अभाव अन्त्य गर्न दीर्घकालीन समाधानको उपाय अवलम्बन गर्न यो बैठक सरकार समक्ष आग्रह गर्दछ ।

(ङ) नागरिकताबाट बञ्चित नेपाली नागरिकहरुलाई नागरिकता प्रदान गर्न संविधानको व्यवस्था बमोजिम संसदमा सरकारद्वारा प्रस्तुत नागरिकता सम्बन्धी विधेयकलाई संसदको चालु अधिवेशनबाट पारित गर्न सरकारको ध्यानाकर्षण गराउँदछ ।

१३. विविध

संभावित प्राकृतिक विपत्तिप्रति सतर्कताको अपील

हरेक बर्ष वर्षाको समयमा बाढी पहिरो, अतिवृष्टि जस्ता प्राकृतिक विपत्तिमा परेर जनधनको ठूलो क्षती हामीले व्यहोर्दै आएका छौं । यो बैठक तिनै तहको सरकारलाई विपत्तिसँग जुध्न सम्पूर्ण तयारी समयमै गर्न आग्रह गर्दै सम्भाव्य प्रभावित क्षेत्रका नागरिकलाई सजग गराउँदै आवश्यक सहयोग र सेवाको समन्वयका लागि स्थानीय पार्टी पंक्तिलाई सतर्क रहन अपील गर्दछ ।

श्रीलंकाको स्थितिप्रति

मित्रराष्ट्र श्रीलंकाले गम्भीर आर्थिक संकट व्यहोरिरहेको घटनालाई यो बैठकले संवेदनशीलतापूर्वक लिएको छ । यो प्रतिकुल स्थितिबाट श्रीलंकालाई बाहिर ल्याउन विकसित राष्ट्रहरु र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुलाई यो बैठक अपील गर्दछ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अध्यक्ष राष्ट्रका रुपमा नेपालले अन्य सबै देशलाई श्रीलंका र त्यहाँका नागरिकले भोग्नुपरेको पिडामा हरसंभव सहयोग र समन्वयका लागि अग्रसरता लिन आग्रह गर्दछ ।

जापानका पूर्व प्रधानमन्त्रीको निधनप्रति श्रद्धाञ्जली

मित्रराष्ट्र जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेको हिंसात्मक आक्रमणमा निधन भएकोमा यो बैठक गहिरो दुःख व्यक्त गर्दै घटनाको निन्दा गर्दछ । आवेलाई हामी नेपाल देशको एक असल मित्रको रुपमा सदैब सम्झिने छौं । उहाँको परिवार, जापान सरकार र जापानी जनताप्रति गहिरो समवेदना व्यक्त गर्दै यो बैठक उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ ।

समवेदना

कपिलवस्तुका पूर्व सांसद विष्णुराज आचार्यको वैशाख १० गते, नेपाली कांग्रेस दोलखाका पूर्व सभापति एवं ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य माधवमणि राजभण्डारीको जेठ १२ गते, नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ प्रेमबहादुर देउवाको जेठ ३ गते, नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य डोटीका हरिप्रसाद पन्तको जेठ १० गते, चितवन जिल्ला राधापुर निवासी प्रजातन्त्र सेनानी पूर्णाखर अधिकारीको असार २७ गते, नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवारकी धर्मपत्नी प्रमिला सुनुवारको असार १२ गते, नेपाली कांग्रेस जिल्ला कार्यसमिति बझाङका पूर्व सभापति एवं महासमिति सदस्य पृथ्वीबहादुर सिंहको माता तारादेवी सिंहको जेठ २७ गते, मोरङका पूर्व महाधिवेशन प्रतिनिधि प्रेम पराजुलीको असार ३१ गते, नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. २ का पूर्व क्षेत्रीय सभापति राकेश रोशन पंजियारको वैशाख २४ गते, कंचनपुरका महाधिवेशन प्रतिनिधि श्री अमरजन साउदकी माता सुभद्रा देवी साउदको जेठ २७ गते, पर्साका महाधिवेशन प्रतिनिधि प्रेमचन्द्र दुवेका पिता जगी दुवेको असार ३ गते, चितवनका नेता ऋषि पाण्डेकी धर्मपत्नी लता पाण्डेको वैशाख ३० गते, नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि कृष्ण खड्का, नेविसंघ दोलखाका अध्यक्ष भीम खड्काकी माता तुलसीमाया खड्काको असार २७ गते र स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते मतदान गर्न जाने क्रममा स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नं. १४ सिख्रेका कुल्लुपी कवर, टेककला कवर, जानुका कवर, मिनाकुमारी कवर, गान्धरी कुँवर, पोतकुमारी कवर, धनमाया कुँवर (गर्भवती), मुवाकुमारी कवर, फुलमाया देवी कवर, नन्दकुमारी घर्ती, डेयामकुमारी कवर, लिलबहादुर कुँवर, च्यामकला कवर र हरिकला कवरको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामना साथ एक मिनेट मौन धारण गर्दै शोक सन्तप्त सम्पूर्ण परिवारजनप्रति यो बैठक गहिरो समवेदना प्रकट गर्दछ ।

जय नेपाल !

कृष्णप्रसाद पौडेल

मुख्य सचिव

गाउँ सहर संवाददाता

तपाईँको मत