गाउँ सहर

कसैको डर, धाकधम्की र त्रास नमानी निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगकाे अपील

काठमाडाैँ । निर्वाचन आयोगले बैशाख ३० काे स्थानीय निर्वाचनमा कसैको डर, धाकधम्की र त्रास नमानी निर्धक्क भएर मतदान गर्न अपील गरेकाे छ । उसले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गरी साे कुरा बताएकाे हाे ।

जारी विज्ञप्तिमा "यस निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारीहरु निर्विरोध निर्वाचित भई सकेका छन् भने ६ वडा अध्यक्ष सहित ३५ जना स्वतन्त्र सदस्यहरु समेत निर्विरोध निर्वाचित भएका छन् । यो निर्वाचनमा १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदानकेन्द्रहरुबाट १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले जम्मा ३५ हजार २ सय २१ जना मध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनौट गर्नका लागि मतदान गर्दैछन् ।" उल्लेख छ ।

प्रेस विज्ञप्ति

मितिः २०७९ वैशाख २७ गते

१.    जनताले प्रतिनिधि रोज्न पाउने लोकतान्त्रिक हक अधिकारलाई सुनिश्चित गर्न वि.सं. २०७९ साल वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्यको आवधिक निर्वाचन अन्तिम र महत्वपूर्ण चरणमा प्रवेश गरी सकेको छ । स्थानीय तह सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरुबाट सम्पूर्ण तयारीहरु पूरा भइसकेका छन् । यस निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारीहरु निर्विरोध निर्वाचित भई सकेका छन् भने ६ वडा अध्यक्ष सहित ३५ जना स्वतन्त्र सदस्यहरु समेत निर्विरोध निर्वाचित भएका छन् । यो निर्वाचनमा १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदानकेन्द्रहरुबाट १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले जम्मा ३५ हजार २ सय २१ जना मध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनौट गर्नका लागि मतदान गर्दैछन् । मतदानकेन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीहरु सहित १ लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८ सय ६५ जना स्वयंसेवकहरु आ–आप्mनो मतदानकेन्द्रमा पुगी सकेका छन् । स्थानीय तह निर्वाचनमा भाग लिने भनि दर्ता भएका ७९ वटा राजनीतिक दलहरु मध्ये जम्मा ६५ वटा राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा रहेका छन । ५५ हजार ६९८ जना महिला र ८९ हजार ३ सय १३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत जम्मा १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाधरुपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था मिलाउन नेपाल सरकार लगायत सम्बन्धित स्थानीय प्रशासनहरुलाई आवश्यक निर्देशन दिई सकिएको र सो बमोजिम निर्वाचन  सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको छ । 
२.    वैशाख २८ र २९ गते सबै मतदानस्थलहरुमा मतदानकेन्द्रका लागि खटिएका मतदान टोलीहरुबाट मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सहि तरिका सम्बन्धी जानकारी दिने कार्यक्रम रहेको छ । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयहरुमा निवेदन दिएका मतदाताहरुलाई वैशाख २८ र २९ गते सम्बन्धित मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण गरिने छ । बढी भन्दाबढी मतदाताहरुलाई मतदान सम्बन्धी जानकारी उपलब्ध गराउन सरकारी संचार माध्यम लगायत आम संचार माध्यमहरु तथा सामाजिक सञ्जालको प्रयोग गरी श्रब्यदृश्यको माध्ययमबाट विभिन्न जानकारीमूलक सन्देशहरु प्रसारण समेत भै रहेका छन् । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, स्वयंसेवक लगायत मतदानको कार्यमा खटिने सम्पूर्ण जनशक्तिहरुलाई विभिन्न चरणमा आवश्यक तालिम तथा प्रशिक्षणको कार्य समेत सम्पन्न भै मतदान स्थलमा पुगी सकेका छन् । 
३.     निर्वाचन आचार संहिता उलङ्घन गर्ने विभिन्न दल, उम्मेदवार र व्यक्तिलाई आयोगमा प्राप्त उजुरी र जानकारीका आधारमा आचार संहिता विपरीत भएका कार्यहरु हटाउने आदेश दिने, स्पष्टीकरण सोध्ने, सचेत गराउने जस्ता कार्यहरु भइरहेका छन् भने प्राप्त जवाफको अध्ययन र छानबिनको कार्य भइरहेको छ । निर्वाचन आचार संहिताको पूर्ण कार्यान्वयनका लागि आयोगले उल्लंघनका घट्नामा तत्काल कारवाही गर्न सक्ने अधिकार समेत दिई १९ वटा उच्चस्तरीय टोली तुलनात्मक रुपमा संवेदनशील ठानिएका विभिन्न स्थानहरुमा परिचालन गरेको छ । यस्ता अनुगमन टोलीलाई निर्वाचनको गोपनीयतामा प्रतिकूल असर नपर्ने गरी निर्वाचनका कार्यसँग सम्बन्धित दृश्यको छायांकन गर्न आवश्यकता अनुसार भिडियो क्यामेरा वा अन्य विद्युतीय उपकरण प्रयोग गरी दृश्य छायाकंन गर्न सक्ने र मौन अवधिमा आमसभा, कार्यशाला, गोष्ठी, सम्मेलन, भोजभत्तेर, पैसा बाड्ने काम भए नभएको र सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिने काम भए नभएको अनुगमन गरी त्यस्तो कार्य भए÷गरेको पाइएमा तत्काल आवश्यक कारवाही गरी आयोगलाई जानकारी गराउने अधिकार दिइएको छ । 
४.    मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न नपाइने हुँदा सो अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिहरुको सम्बन्धमा निगरानी राखी त्यस्तो गतिविधि हुन नदिने तथा मतदानको दिन मतदातालाई सुरक्षित रुपमा मतदानकेन्द्रसम्म पुग्न र मतदानकेन्द्रबाट फर्किन सक्ने वातावरण निर्माण गर्नुपर्ने भएकोले मतदातालाई कुनै पनि प्रकारको अवरोध हुन नदिन आवश्यक व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा सबै स्थानीय प्रशासनहरुलाई आयोगले निर्देशन समेत दिएको छ । 
५.     निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधिलाई रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सिर्जना गर्न निर्वाचनमा मौन अवधि आवश्यक हुन्छ । यो अवधि मतदानको समयभन्दा ४८ घन्टा अगाडि अर्थात् आज वैशाख २७ गते मङ्गलबार राति १२ बजेदेखि शुरु हुँदैछ । यस अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने, राजनीतिक दल वा उम्मेदवारका प्रचार प्रसारका सामग्री राखिएको भए तत्काल हटाउनु पर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार प्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न, गराउन नहुने हुँदा यस बमोजिम आचरण पालन गरिदिन सम्बन्धित सबैमा आयोगले आग्रह गरेको छ । 
६.    मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत र मतदान हुने दिन आन्तरिकरुपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्ने व्यवस्था मिलाईएको छ । उम्मेदवार र अत्यावश्क सेवाका लागि सवारी आवागमन अनुमतिको मापदण्ड जारी गरी पास उपलब्ध गराउने व्यवस्था गरिएको छ । निर्वाचनमा शान्ति सुरक्षाको स्थिति कायम राख्न मौन अवधि शुरु भएपछि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि स्थानीय प्रशासनको समन्वयमा तोकेका क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन गर्न सख्त निषेध गरिएको छ । 
७.    निर्वाचन आचारसंहिता उल्लंघनको अनुगमनका लागि विभिन्न तहमा संरचना बनाइएका छन् । आयोगका अनुगमन हेर्ने आयुक्तको संयोजकत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय तहमा निर्वाचन अधिकृतको संयोजकत्वमा स्थानीय तहको आचारसंहिता अनुगमन समितिको प्रबन्ध गरिएको छ । यी संरचनाका अतिरिक्त विशेष संवेदनशील मानिएका जिल्ला र पालिकामा विशेष अनुगमनका लागि अधिकार प्रत्यायोजन सहित विशेष अनुगमन टोली खटाइएको छ । सो टोलीले आचारसंहिता विपरीत दल र उम्मेदवारले झण्डा, चिन्ह र गाडी प्रयोग गरेमा, अनधिकृतरुपमा सामानको ओसारपसार वा नगद वा जिन्सी वितरण गरेको पाइएमा कब्जामा लिएर तत्काल कारबाही गर्न सक्ने अधिकार दिइएको छ । निर्वाचनमा सुरक्षाको प्रत्याभूति हुनेगरी आवश्यक व्यवस्था मिलाइएको छ, जस अन्तरगत नेपाली सेना सहित तीन घेराको सुरक्षा प्रबन्ध गरिएको छ । 
८.    वालिग मताधिकारको आधारमा संविधानले सबै नेपाली जनतालाई निर्वाचनमा सहभागी हुने अधिकार दिएको छ । यो अधिकारको प्रयोग गर्न यही वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचनमा कसैको डर, धाकधम्की र त्रास नमानी निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न आयोग सम्पूर्ण मतदाताहरुलाई हार्दिक अपील गर्दछ । 


    (शालिग्राम शर्मा पौडेल)
    सहसचिव एवम् प्रवक्ता

 

मौन अवधिको लागि कल ब्याक टोन

आयोगले भनेकाे छ - "अहिले निर्वाचनको मौन अवधि सुरु भैसकेको छ । यस अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत नमाग्न, निर्वाचन प्रचार प्रसार नगर्न, छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी नगर्न, सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश पोष्ट वा शेयर नगर्न नगराउन आयोग सबैमा अनुरोध गर्दछ ।"

गाउँ सहर संवाददाता

तपाईँको मत