अर्थतन्त्र

कृषिप्रधान देशकाे हविगतः ९ महिनाको अवधिमा फलफूल मात्रै झण्डै रु १२ अर्ब बराबरको आयात

काठमाडौँ । चालु नाै महिनाको अवधिमा देशमा प्रमुख फलफूल मात्रै रु ११ अर्ब ७० करोड ८९ लाख २६ हजार बराबरको आयात भएको छ । भन्सार विभागका अनुसार नौ महिनाको अवधिमा प्रमुख फलफूल मात्रै रु ११ अर्ब ७० करोड ८९ लाख २६ हजार बराबरको आयात भएको हाे ।

देशकाे पछिल्ला दृश्यहरूले नेपाल कृषिप्रधान हाे कि हाेइन प्रश्न तेर्स्याइदिएकाे छ ।

जनजीविका, रोजगारी र आर्थिक एवं सामाजिक रुपान्तरणको प्रमुख आधारका रुपमा रहेको कृषि क्षेत्र मुलुकको अर्थतन्त्रको एक प्रमुख रहँदै आएको भए पनि उच्चमात्रामा आयातले थप प्रश्नहरू सिर्जना गरेकाे छ ।

आर्थिक सर्वेक्षण २०७७/०७८ मा देशकाे कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५ दशमलव ८ रहने अनुमान गरिएको थियो भने चालू आवमा कृषि क्षेत्रको जिडिपीमा योगदान २७ प्रतिशत बराबर रहेको राष्ट्रिय तथ्याङ्क विभागको विवरणले देखाएको छ । तर देशकाे अवस्था याे छ ।

मुलुकको आर्थिक क्षेत्रमा कृषिको योगदान उल्लेख्य रहेकाे भनिए पनि अझै कूल कृषियोग्य जमिनमध्ये धेरै बाँझो छ । यस्ता कृषियोग्य भूभागको थोरै मात्रको सही र ब्यवस्थित उपयोग गर्नसके कृषिजन्य उपभोग्य वस्तुमा आत्मनिर्भर हुने अवस्था ल्याउन सकिने भएपनि नीति र साेकाे कार्यान्वयनमा सरकार चुकेकाे छ । जसकाे पीडा अहिलेकाे तथ्यांकमा देख्न सकिन्छ । यहि समयमा सुन ३२ अर्ब माथि, चामल त्यसकाे डब्बल !

निर्वाहमुखी खेतीका कारण उल्लेख्य मात्रामा कृषिउपज उत्पादन हुन नसक्दा विप्रेषणबाट आयात भएको ठूलो धनराशी विदेशिएको छ । पहाडका अधिकांश भूभाग बाँझो छ । नेपालको कूल खेतीयोग्य जमिनमध्ये सात प्रतिशत बराबरको जमिन बाँझो छ । झण्डै रु ६० अर्ब बराबरको खाद्यान्न आयात भएको छ । त्यस्तै १८ लाख किलो सुर्ती तथा सुर्तीजन्य पदार्थ आयात भएको छ । जसकाे मूल्य झण्डै ५५ अर्ब हुन्छ ।

दैनिक दुई हजारको सङ्ख्यामा नेपाली युवा रोजगारीको खोजीमा विदेशिने गरेका छन् । अनौपचारिक तथ्याङ्कअनुसार झण्डै ४० लाख युवा विदेशमा छन् ।

विप्रेषणबाट आयात भएको ठूलो धनराशि उपभोग्य वस्तुमा खर्च हुँदा त्यसले औद्योगिक वातावरणसमेत बनाउन सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार विप्रेषणबाट आप्रवाह भएको रकमको झण्डै ७५ प्रतिशत बराबर हिस्सा उपभोग्य वस्तु खरीदमा खर्च भएको छ । विप्रेषणलाई आर्थिक समृद्धिमा नलगाउँदासम्म त्यसले दीर्घकालीन र रणनीतिक प्रभाव पार्न नसक्ने विभिन्न अध्ययनले देखाएको छ ।

भन्सार विभागले चालू आवको पहिलो नौ महिनाको आयात र निर्यातको अवस्थाबारेमा सार्वजनिक गरेको विवरणानुसार मुलुकले उपभोग्य वस्तुको आयातबाट अर्बौं रकम बाहिर पठाएको देखिन्छ भने नेपालमै उत्पादन गर्न सकिने कृषि उपजसमेत अत्याधिक आयात भइरहेका छन् । धान, मकै, कोदो जस्ता प्रमुख खाद्यबालीका साथै फलफूल आयातमा अर्बौं मुद्रा मुलुक बाहिर गएको देखिन्छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत