कांग्रेस हाप्सिलो बोकेर हिँडेको छ, एमालेको सूर्य सिध्याउँछु भनेर कुदेकाहरुको थुतुनो आज डढिराखेको छ : अध्यक्ष ओली
- गाउँ सहर संवाददाता
- ८ बैशाख बिहीबार, २०७९ | १६:३१:०० मा प्रकाशित
काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘चारवटा भैँसी समातेर नेपाली कांग्रेस भिरमा जान लागेको’ बताएका छन् । बिहीबार राजधानीमा एमालेको सल्लाहकार परिषद्को पहिलो बैठकमा सम्बोधन गर्दै उनले कांग्रेसले जोखिमपूर्ण चुनावी तालमेल गरेको बताएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा कांग्रेस खराब प्रवृत्तिका मानिसलाई साथ दिएको टिप्पणी गरेका छन् ।
“भैँसी भिरतिर गयो भनेर जोगाउने प्रयास गर्नुपर्छ । तर, लड्नै लागिसकेपछि छोडिदिएन भने आफू पनि भैँसीसँगै लडेर समाप्त हुने जोखिम हुन्छ,” ओलीले भने, “कांग्रेस अहिले चारवटा भैँसी समातेर भिरतिर गइरहेको छ ।” ओलीले समयमा सत्ता गठबन्धनका दल छोड्न नसके कांग्रेसको हालत खराब हुने जिकिर समेत गरे ।
ओलीले भने, ‘कांग्रेस अलच्छिनजति बोकेर हिँडेको छ, कोही हाप्सिलोजस्ता छन्, कतै जान लाग्दा अलच्छिन लगाउने गरी हाप्सिलो कराउँछ, हाप्सिलै हाप्सिलो काँधमा बोकेर कांग्रेस हिँडेको छ, योभन्दा अलच्छिन के हुन्छ ?’ गठबन्धनसँगै कांग्रेस पनि सकिने ओलीको दाबी छ ।
ओलीले स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने बताएका छन् ।
उनले विगतमा तराईमा एमालेलाई प्रवेश निषेध गरिएको उल्लेख गर्दै अहिले तराई, मधेशमा एमालेको लहर आएको बताए । मधेश प्रदेश एमालेको मजबुद गढ बनेको उनले दाबी गरे। अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा एमालेले बहुमत ल्याउने जिकिरसमेत गरे ।
‘अहिले पाँच दलीय गठबन्धन ६ दलीय भएको छ । अब त राजावादी राप्रपासँग पनि उनीहरुको गठबन्धन भइसक्यो र झापाको मेरै निर्वाचन क्षेत्रमा राजावादी राप्रपाको उम्मेदवारलाई कांग्रेस, माकुने, प्रचण्ड सबै गुटहरुले साझा उम्मेदवारको रुपमा मानेर एमाले विरुद्ध आइनै सके’, उनले भने, ‘त्यसकारण यो पाँचदलीय होइन ६ दलीय गठबन्धन भइसक्यो । हिजो जुन परोक्ष रुपमा त्यो गठबन्धन थियो पार्टी फुटाउन त्यस विरूद्ध हामीले ताजा जनादेशमा जान फैसला गर्यौं। अदालतले हामीलाई हराइदियो ।’
उनले एमालेको सूर्य चिन्ह सिध्याउँछु भनेर खान खोज्नेको थुतुनो जलेको टिप्पणी गरे। तत्कालिन नेकपामा प्रचण्डले आफूलाई पार्टीबाट निष्काशन गरी मुद्दा चलाएर थुन्ने योजनाका साथमा १९ पृष्ठ लामो अभियोग पत्र ल्याएको बताए ।
‘एमालेको सूर्य सिध्याउँछु भनेर कुदेकाहरुको थुतुनो आज डढिराखेको छ । गत वर्ष एउटा डरलाग्दो षड्यन्त्र भयो । १९ पृष्ठ लामो पार्टी अध्यक्षका विरुद्ध फौजदारी आरोपसहित अभियोगपत्र अगाडि बढाइयो’, उनले भने, ‘यो ठूलो षड्यन्त्र थियो । त्यस अभियोग पत्रबाट के योजना थियो भने पार्टीबाट निष्काशन गर्ने र मुद्दा चलाएर थुन्ने योजना थियो ।’
अध्यक्ष ओलीले आगामी निर्वाचन पछाडि नेकपा (एमाले) संवैधानिक रुपमा, मुल ढोकाबाटै शासन सत्ता सम्हाल्न पुग्ने बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
प्रतिकृया दिनुहोस