कला

छरिएका सपनाहरु टिप्नु छ

सोफा ओछ्यान र भुईंतिर

केटाकेटीले भताभुङ्ग छरेका

खेलौना पेन्सिल र मैला

मोजा जस्तै

अपरिभाषित सपनाहरु

छरिएका हुन्छन्

डोजलले उधिनेको

पहाडबाट

ठाउँ ठाउँमा पहिरो भत्के

जस्तै

विश्वासको पहाड भत्किन्छ

बेलाबेला

र खस्छन् भरोसाका स-

साना चोईटा

त्यहि पहाडको तल उभिएर

म एउटा यात्री

चिसा आँखा हेर्छु

चुल्होमा बसालिएको

कसौंडी भित्र

मान्छेहरुको भोक

उम्लिरहेको छ

मान्छेभित्र अनन्त भोक छ

तकियामा कुन्ठा

निदाईरहेको छ

मान्छेसँग अनन्त कुन्ठा छ

एका बिहानै आकाश

नाङ्गै बाहिर निस्किएको छ

नवजात सूर्यको नाल

काटिरहेछ क्षितिज

टेबलमा केहि थान

जेष्ठ नागरिक पुस्तकहरु

सुतिरहेका छन्

हेरचाह बिहीन पुस्तक

कुनै दयालु वटुवा पर्खेर बस्छन्

घर ज्वाईं बसेको टाटेपाङ्ग्रे बिरालो

घरीघरी सञ्चो बिसञ्चो

सोध्न आईपुग्छ

अरु खासै यस्तो कस्ट उठाउँदैनन्

कहिलेकाँहि म

चुपचाप निलो आकाश

नियालिरहेको हुन्छु

बादलको बथानभित्र खोजिरहेको हुन्छु-

छोडी गएका आफन्तहरु

बितिसकेका दिनहरु

भेट्टाउन नसकेका सपनाहरु

यस्तो लाग्छ

धेरै काम गर्न बाँकी छ

टिप्न बाँकी छ

छरिएका अनगिन्ती सपनाहरु ।

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत