गाउँ सहर

ठूला राजनीतिक दलका नेताहरुले नीतिगत रुपमा नै भ्रष्टाचार गरे : अध्यक्ष ढकाल

नुवाकोट । आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँग नेपाल परिवार दलले चुनाब केन्द्रीत कार्यक्रमलाई तिब्रता दिएको छ । बैकल्पिक प्रजातान्त्रिक धारको रुपमा नेपालको राजनीतिमा आएको परिवार दलको नुवाकोट जिल्ला कमिटीको आयोजनामा शनिबार नुवाकोट विदुरमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।  

दलका जिल्ला अध्यक्ष शिवकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै परिवार दलका अध्यक्ष एकनाथ ढकालले पुराना दलहरुको आयु सकिएको बताउदै उनीहरुले गर्न सक्ने जति काम गरिसकेकोले अब यो भन्दा धेरै आशा गर्न नहुने र पुरानो विचारले कहिल्यै नयाँ युगको नेतृत्व गर्न नसक्ने ठोकुवा गरे ।

उनले भने- विकासको साधक हुनुपर्ने नेताहरुनै बाधक बनेकोले स्थानीय तहमा अपेक्षा अनुसारको विकास निर्माण हुन नसकेको बताए ।

पूर्वमन्त्रीसमेत रहेका ढकालले देश परिवर्तन गर्ने जिम्मा राजनीतिक नेतृत्वको प्रमुख भूमिका रहेपनि वर्तमान अवस्थामा जन्मदर्ता प्रमाणपत्र बनाउनदेखि मृत्यु दर्ता प्रमाणपत्र बनाउनसमेत भनसुन र कमिसन दिनुपर्ने स्थिति सिर्जना भएको बताए ।

उनले पुराना नेताहरुले नीतिगत रुपमा नै भ्रष्टाचार गरेर विकृत संस्कार खडा गरी राज्यको ढुकुटी सबै पोल्टामा हालेर दादागिरी मच्चाएकाले अब जनताहरु सचेत भएर नयाँ नेतृत्व चुन्नुपर्नेमा जोड दिए । ढकालले आसन्न स्थानीय निर्वाचनमा आफ्नो पार्टीले भाग लिनको लागि ७६ जिल्लाको विवरण निर्वाचन आयोगमा पेश गरेको बताउदै निर्वाचनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

दलका महामन्त्री सन्तोष कुमार पौडेलले पार्टी स्थापना कालदेखि नै जनताको घर दैलोमा पुगेर साथ दिएकाले हामिलाई पार्टीको आकारले खासै प्रभाव नपारेको बरु जनताहरु बिस्तारै परिवार दलमा आकर्षित भएको बताए ।  

दलका अर्का महामन्त्री प्रकाश बाबू थापाले यूवाहरु परिवर्तनको संवाहक भएता पनि आजको नाजुक परिस्थितिले आफूलाई कहाली लागेको र आफू परिवार दलमा आएर सचेत नभएको भए विदेशी भूमिमा श्रम बेचेर बस्नु पर्ने अवस्था गरेको बताए ।

पीस फोर्सका अध्यक्ष रविन्द्र चौलागाईले भत्किएका यूवा संस्कारहरुलाई पुनस्थापना गर्न पिस फोर्स जन्मिएको बताएका थिए । दलका युवा नेता ढुण्डिराम खनालले सबैभन्दा बढि बजेट नुवाकोट जिल्लामा विनियोजन भएता पनि बाटैमा भ्रष्टचार गरि नुवाकोटे जनतालाई उनीहरुले अपराध गरेको बताए ।  

अध्यक्ष ढकालले बिभिन्न दल परित्याग गरेका दर्जनौँ व्यक्तिहरुलाई परिवार दलको सदस्यता वितरण गदै दलमा प्रवेश गराएका थिए ।  

यसैबीच दलको भातृसंगठन पिस फोर्स नुवाकोट जिल्ला कमिटी गठन गरेको छ । अर्जुन मिजार अध्यक्षतामा बनेको कमिटिमा, वरिष्ठ उपाध्यक्षमा विक्रम थापा मगर, उपाध्यक्षमा रिता कुमाल, सचिवमा कुसल श्रेष्ठ, सह-सचिवमा उद्दव अधिकारी, कोषाध्याक्षमा सरस्वती रिजाल, सह-कोषाध्यक्षमा उत्तमराज अधिकारी र जिल्ला सदस्यहरुमा सुजिता अधिकारी, गणेश श्रेष्ठ, विजय तामाङ, पुष्पा तामाङ, संगिता श्रेष्ठ, दिपासा कुमाल, सुस्मिता कुमाल, सरिता कुमाल, सुसक कुमाल लगायत रहेका छन् ।   

गाउँ सहर संवाददाता

तपाईँको मत