गाउँ सहर

नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अन्जन बिष्ट माछापुच्छ्रे स्कुलको ब्राण्ड एम्बेसडरमा नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्ट माछापुच्छ्रे स्कुलको ब्राण्ड एम्बेस्डर नियुक्त भएका छन् । शनिवार ललितपुरको कुसुन्तिमा रहेको स्कुल परिसरमा आयोजित कार्यक्रमबीच अन्जनलाई खेलकुद दूतको रुपमा सार्वजनिक गरिएको हो ।

स्कुलका अध्यक्ष विनोद यादव र अन्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अवधि दुई वर्षको छ । सम्झौतासँगै अन्जनले स्कुलको एकेडेमी तथा खेलकुद विकासमा सहयोग गर्ने छन् ।

माछापुच्छ्रे स्कुलका अध्यक्ष यादवले नेपाली फुटबल टिमका कि प्लेयर विष्टलाई आफनो स्कुलमा आवद्ध गर्न पाउदा खुशी भएको बताए । उनले स्कूलको खेलकुदको क्षेत्रमा मारेको फड्कोमा अन्जनको आगमनले थप उचाईमा पुर्याउने दाबी समेत गरे । उनले खेलकुद क्षेत्रमा रहेका खेलाडीहरुलाई सबै क्षेत्रले सहयोग गरे उनीहरुमा थप खेलप्रतिको उर्जा थपिने विश्वास ब्यक्त गरे ।

अन्जनले स्कुलको खेलकुदमा आफुले सक्दो सहयोग गर्नै र बालबालिकाको खेलकुद प्रतिको लगावलाई बढाउन आफुल भरमजदुर सहयोग गर्नै बताए । ‘स्कुलसँग सम्झौता गर्न पाउँदा हर्षित भएको छु, उनले भने, ‘यससँगै अब स्कुलको एकेडेमी संचालनका लागि मैले सहयोग गर्नेछु ।’

एन्फा एकेडेमी उत्पादन अन्जनले नेपालको युथ टिम हुँदै हाल राष्ट्रिय टोलीका नियमित खेलाडी हुन् । उनी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) टिम झापा एफसीका मार्की खेलाडी समेत हुन् । अन्जन सम्मिलित नेपाली टिमले यु–१९ साफ च्याम्पियनसिप, १२औँ दक्षिण एशियाली खेलकुद (साग) बंगबन्धु गोल्डकप, एएफसी सोलिडारिटी कप जितेको थियो । यस्तै, घरेलु मैदानमा भएको थ्रि नेसन्स कपको उपाधि हात पारेको छ ।

कार्यक्रमको मुख्य अतिथिको रुपमा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष उपेन्द्रमान सिंह रहेका थिए । उनले कार्यक्रमका लागि स्कुल र अन्जनलाई बधाई दिँदै एन्फा स्कुल प्रतियोगितामा सहभागी हुन माछापुच्छ्रे स्कुललाई आग्रह समेत गरे ।

गाउँ सहर संवाददाता

तपाईँको मत