कला

भक्तपुरमा पछिमा बाजा प्रतियोगिता : नास हैमा बाजा खलः प्रथम (फाेटाेकथा)

भक्तपुर । भक्तपुरको सांस्कृतिक विधाहरुको संरक्षण र सम्बद्र्धन गर्नुका साथै नागरिकहरुमा भएको सीप उजागर गर्न भक्तपुर नगरपालिकाद्वारा आयोजित भक्तपुर नगरव्यापी पछिमा बाजा प्रतियोगिता शुक्रबार भव्यताका साथ सम्पन्न भएकाे छ ।

नगरव्यापी पछिमा बाजा प्रतियोगितामा नास हैमा बाजा खलः प्रथम, खिछेँ दाफा भजन खलः द्वितीय, तचपाल मको गल्ली बाजा समूह तृतीय, सिद्धिगणेश बांसुरी बाजा समूह र श्री चोछें छुमा गणेश बांसुरी बाजा खलःले सान्त्वना स्थान हासिल गरेको छ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा शुक्रबार भक्तपुरको दरबार क्षेत्रमा पछिमा बाजा प्रतियोगिताको समापन तथा विजयी टोलीहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे हाे ।

पुरस्कार वितरण समारोहमा बोल्दै अध्यक्ष बिजुक्छेँले 'कला र संस्कृति हाम्रो अमूल्य सम्पत्ति भएको बताउँदै यसको संरक्षण र संवद्र्धन गर्नु हाम्रो दायित्व हो' भने ।

सांस्कृतिक प्रतियोगिताले यहाँका कलाकारहरुमा उत्साह र हौसला थप्ने र कला संस्कृति पनि संरक्षण हुने बताउँदै उनले कला संस्कृति संरक्षणमा भक्तपुर नपाले गरेको कामबाट देशका अन्य स्थानीय तहहरुले पनि सिक्ने अवसर मिलेको बताए ।

अध्यक्ष बिजुक्छेँले कला संस्कृतिको क्षेत्रमा सांस्कृतिक गुरुहरु विश्वविद्यालय तहका प्राध्यापकसरह भएको बताए ।

विद्यालय तह, विभिन्न सहकारी संस्था र टोलटोलमा भएको सांस्कृतिक विधाहरुको प्रशिक्षणले नयाँ पुस्तामा यसतर्फ आकर्षण बढाउन मद्दत पुगेको बताउँदै उनले सांस्कृतिक गुरुहरु समाजका आदरणीय र सम्मानित व्यक्तिहरु भएको हुँदा उनीहरुको योगदानको उचित कदर गर्नेमा जाेड दिए ।

समारोहका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले चुनावी घोषणापत्रअनुसार प्रत्येक वर्ष सांस्कृतिक प्रतियोगिता गर्दै आएको बताउनुहुँदै नगरव्यापी पछिमा बाजा प्रतियोगितामा ३३ वटा बाजा समूहको उत्साहपूर्वक सहभागिता हुनु सुखद् पक्ष रहेको बताए ।

सम्पदा पुनःनिर्माणमा भक्तपुर नगरपालिकाले अपनाइरहेको ख्वप मोडल भक्तपुरबासी जनताहरुको साथ र सहयोगकै कारण सम्भव भएको बताउँदै उनले नेमकिपाको तर्फबाट निर्वाचित भक्तपुरका जनप्रतिनिधिले जनताको निःस्वार्थ रुपमा सेवा गर्दै आइरहेको बताए ।

प्रतियोगी समूहहरुको मूल्यांकन नगरपरिक्रमाको क्रममा विभिन्न ठाउं र कार्यक्रमस्थल भक्तपुर दरबार क्षेत्रमा भएको थियो ।

प्रतियोगितामा प्रथम भएको समूहलाई नगद रु. २० हजारका साथै पछिमा १ थान, सिछ्या १ जोडी, त“ १ जोडी, बांसुरी ४ थान, द्वितीय भएको समूहलाई नगद रु. १५ हजारका साथै पछिमा १ थान, सिछ्या १ जोडी, त“ १ जोडी, तृतीय हुन सफल समूहलाई नगद रु. १० हजारका साथै पछिमा १ थान, सिछ्या १ जोडी, सान्त्वना स्थान प्राप्त गरेका समूहलाई प्रति टोली नगद रु. ५ हजारका साथै पछिमा १ थान पुरस्कार वितरण गरिएको थियो । त्यस्तै प्रतियोगितामा सहभागी प्रत्येक टोलीलाई पछिमा बाजा १÷१ थान र प्रत्येक सहभागी टोलीलाई खाजा खर्च रु. २५०० सय प्रदान गरिएको थियो ।

सोही क्रममा प्रमुख अतिथि बिजुक्छेंले विजयी टोलीलाई पुरस्कार र निर्णायक मण्डलका सदस्यहरु शंखबहादुर दुवाल, पन्चलाल लाछिमस्यू, बुद्धलाल मानन्धर, कृष्णकुमार कोजू, विष्णुबहादुर मानन्धर, रवि कपाली र इन्दिरा लाछिमस्यूलाई मायाको चिनोसहित प्रशंसा पत्र प्रदान गर्नुभएको थियो भने नगर प्रमुख प्रजापतिले प्रतियोगितामा सहभागी प्रत्येक टोलीलाई पछिमा बाजा १/१ थान हस्तान्तरण गरे । प्रतियोगितामा नगरभित्रका ३३ वटा पछिमा बाजा समूहहरुले भाग लिएका थिए ।

तस्बिरहरू : भक्तपुर नगरपालिका

गाउँ सहर संवाददाता

तपाईँको मत