शिक्षा

सीसीएमसीको सिफारिस : माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने

काठमाडौं । बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै विद्यालयहरूमा माघ १५ गतेसम्म हिउँदे बिदा दिन कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सरकारलाई सिफारिस गरेको छ। 

आइतबार बसेको सीसीएमसीको बैठकले देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरुमा आगामी माघ १५ गतेसम्म हिउँदे बिदा दिन सिफारिस गर्ने निर्णय गरेको हो।

हिउँदे बिदाकै अवधिमा १२ वर्ष देखि १७ वर्षसम्मका विद्यार्थीहरुलाई र १८ वर्षभन्दा माथिका सबै उमेर समूहका खोपको पूर्ण मात्रा नलगाएका शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई खोप उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक खोप आपूर्ति गर्ने सीसीएमसीको निर्णय छ।

यस्तै, जिल्ला खोप समन्वय समितिले प्राथमिकताका साथ अभियान सञ्चाचन गर्न सहजीकरण गर्ने भनिएको छ। 

'यस कार्यमा प्रदेश सरकारहरु सहयोग र सहजीकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत् तथा सबै स्थानीय तहहरुलाई विगतमा झैं आवश्यक सहयोग तथा सहजीकरण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् अनुरोध गर्ने', सीसीएमसीको निर्णयमा भनिएको छ।

माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

भीडभाड हुने सार्वजनिक स्थलमा एन्टीजेन बुथ राख्ने निर्णय पनि सीसीएमसी बैठकले गरेको छ । साथै, बैठकले राजनीतिक कार्यक्रम र मेला महोत्सव नगर्न समेत आग्रह गरेको छ । गर्नेपरे स्थानिय प्रशासनको अनुमति पनि आवश्यक पर्ने भएको छ ।

सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

परीक्षाको तालिका सार्वजनिक भैसकेका शिक्षण संस्थाको हकमा सामाजिक दूरी कायम गर्दै परीक्षा संचालन गर्ने निर्णय पनि भएको छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ यात्रुको चाप नहुने गरी उडान तालिका बनाउन पर्यटन मन्त्रालयलाई आग्रह गर्ने निर्णय पनि भएको छ ।

गाउँ सहर संवाददाता

Prabhu N Khadka लेख्नुहुन्छ २६ पौष, २०७८ ०८:५४ am

Ccmc bhani ko ko ra chha mcc jastaye ho ki

तपाईँको मत