गाउँ सहर

राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता, सत्ता साझेदार दल र प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि मङ्गलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने कार्यतालिका रहेकाे छ । 

निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

रिक्त १९ राष्ट्रिय सभा सदस्यको पदका लागि निर्वाचन हुने लागेको हो । जसमा सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात जना अन्य समूहका रहेका छन् ।

आयोगका अनुसार प्रदेश १ बाट तीन, प्रदेश २ बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन जना निर्वाचित हुनेछन् ।

राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा राजनीतिक दलले निर्वाचन  आयोगमा दल दर्ता गरेको छन् । निर्वाचनका लागि दल दर्ता गराउनेमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, प्रजातान्त्रिक जनता पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र नेपाल परिवार दल रहेका छन् ।

१९ सिटमा सत्ता गठबन्धनमा रहेका दलले भागबण्डा गरेका छन् । जसअनुसार कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५र५, जनता समाजवादीले २ र जनमोर्चाले एक सिटमा प्रतिस्पर्धा गर्नेछन् ।

एमाले भने एक्लै चुनावी मैदानमा छ । उसले एक्लै रिक्त १९ पदमा उम्मेदवारी दर्ता गर्दै छ । एमालेले सबै उम्मेदवारको टुंगो लगाइसकेको छ ।

आयोगले मतदानका लागि प्रदेश १ मा दुई र अन्य ६ वटा प्रदेशमा एक–एक वटा मतदान केन्द्रभित्र दुई–दुई वटा मतदान केन्द्र रहने गरी आठ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्र निर्धारण गरेको छ ।

प्रदेश १ मा पालिका प्रमुख तथा उपप्रमुखका लागि विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यहरुका लागि वाली संरक्षण प्रयोगशाला मतदान स्थल तोकिएको छ । प्रदेश २ को लागि महेन्द्र नारायण निधी भवन, बागमती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय पोखरामाम मतदान हुने छ । 

यस्तै  लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि प्रदेशसभा भवन धनगढीमा मतदानस्थल रहने छ । आयोगले निर्वाचनका अनुसार प्रदेशसभा सदस्यहरु ४३२ , पालिका प्रमुख र उपप्रमुखहरु १४ सय ९३ गरी कुल २०२५ जना मतदाता हुने छन् ।

यो चुनावका लागि सत्ता साझेदार दल र प्रतिपक्षी एमाले प्रतिस्पर्धा गर्दैछन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत