विद्युत

विद्युत चुहावट ४ महिनामा २.८३ प्रतिशतले घट्यो

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा विद्युत चुहावट १४.३५ प्रतिशतमा झारेको छ । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा विद्युत चुहावट २ दशमलव ८३ प्रतिशतले घटेको हाे । नियमित विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट विद्युत चुहावट घटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार गत आवको कात्तिकमा प्रणालीबाट १७ दशमलव १८ प्रतिशत चुहावट हुने गरेकोमा चालू आवको कात्तिकमा २ दशमलव ८३ प्रतिशत विन्दुले घटेर १४.३५ प्रतिशतमा झरेको छ । कात्तिकसम्ममा प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ ९ दशमलव २४ प्रतिशत र बाँकी प्रसारण तथा उत्पादनतर्फबाट हुने गरेको छ । 

प्राधिकरणले चालू आवमा विद्युत चुहावट १५ दशमलव ५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । पहिलो चार महिनामै लक्ष्यभन्दा कम चुहावट रहेकाले आवको बाँकी अवधिमा लक्ष्य पूरा हुने प्राधिकरणले जनाएको छ । 

पहिलो चार महिनामै लक्ष्यभन्दा कम चुहावट रहेकाले आवको बाँकी अवधिमा लक्ष्य पूरा हुने देखिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।

घिसिङले चुहावट नियन्त्रण अभियान प्रभावकारी रूपमा चलाइएको, सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको बताए ।

‘गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कारबही गर्ने, बन्द मिटर फेर्ने, मिटर  लिन प्रोत्साहित गर्नेलगायतका काम अभियानकै रुपमा चलाएका छौं’, कार्यकारी निर्देशक घिसिङले भने, ‘चोरी नियन्त्रण गर्दा कति ठाउँमा हाम्रा कर्मचारीमाथि आक्रामण भएको छ, यस्तो अवस्थामा पनि वितरण तथा ग्राहक सेवाअन्तर्गतका व्यवस्थापक र दिनरात नभनी खटिएका कर्मचारी, गृह प्रशासनलगायत सबैको साथ र सहयोगमा चुहावट घटाउन सफल भएका छौं ।’  

उनका अनुसार उपयुक्त स्थानमा उपयुक्त व्यक्ति भन्ने अवधारणाका आधारमा जिम्मेवारी दिन सुरु गरिएको छ,ग्राहकलाई दिने सेवामा सुधार गर्न, ग्राहकलाई थप विद्युत दिन, विद्युत चुहावट नियन्त्रण, विद्युत् महशुल वक्यौता असुली, विद्युतीकरण लगायतलाई मुख्य मानक मानी ग्राहक तथा वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन गर्दै छौं, यसबाट चुहावट नियन्त्रण, विद्युतीकरण, सेवा प्रवाह लगायतमा सुधार हुने छ ।’

गाउँ सहर संवाददाता

तपाईँको मत