समाज

आज योमरी पूर्णिमा र उधौली पर्व, राष्ट्रपति, प्रधानमन्त्री र सभामुखकाे यस्ताे छ शुभकामना

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ ।

मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

 

राष्ट्रपतिद्वारा उधौली पर्वको शुभकामना

 

राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन् । 

 “ऋतु परिवर्तनको प्राकृतिक चक्र सँगसँगै आफ्नो जीवन चर्यालाई एकाकार बनाउन अभ्यस्त प्रकृति र पितृपूजक किराँत समुदायको यो चाडले हाम्रो मौलिक सांस्कृतिक परम्परालाई समृद्ध तुल्याएको छ, यस उधौली पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्दै मानव जातिको अस्तित्वको निरन्तरताका लागि प्रकृति र वातावरणको संरक्षण अपरिहार्य रहेको सन्देशसमेत दिएको छ भन्ने मलाई लागेको छ”, सन्देशमा भनिएको छ । 

उधौलीले आपसी सद्भाव तथा भातृत्व अभिवृद्धिमा सघाउँछ : प्रधानमन्त्री देउवा

 

प्रधानमन्त्री शेरबहादुर देउवाले किरात समुदायको महान पर्व उधौलीले नेपालका सबै धर्मावलम्बी, जातजाति भाषाभाषीबीच एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् । 

प्रधानमन्त्री देउवाले उधौली पर्वको अवसरमा आज एक सन्देश जारी गर्दै नेपालको उच्च पहाडी भूभागमा ठूलो सङ्ख्यामा बसोबास गर्ने किरात समुदायद्वारा हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमाका दिन मनाउने उधौली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरे। 

“भूमिको श्रद्धासाथ पूजा अर्चना गर्दै यस वर्षको अन्नका लागि भगवानलाई धन्यवाद दिँदै आउँदो वर्षको राम्रो उब्जनीको प्रार्थनासमेत गर्ने चलन छ”, प्रधानमन्त्री देउवाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “यसले किरात सम्प्रदायमा आफ्नो मातृभूमिप्रतिको आगाध प्रेम र देशभक्तको भावना रहेको दर्शाउँछ । किरातहरू आफूलाई भूमिका सन्तान मान्छन् र यस दिनलाई पवित्र भूमि पूजाका रुपमा पनि लिइने सन्देशमा उल्लेख छ ।

 

चाडपर्वले सामाजिक सद्भाव कायम राख्ने सभामुखको विश्वास

सभामुख अग्निप्रसाद सापकोटाले बहुजातीय बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषतायुक्त देशमा यसरी मनाइने चाडपर्व परिवार एवं आफन्तजनसँग भेटघाट तथा मिलनका अवसरहरू पनि भएको बताएका छन् । उधौली पर्वका अवसरमा एक शुभकामना सन्देश दिँदै सभामुखले आपसी सद्भाव र सामाजिक एकता कायम राख्न मद्दत गर्दै आएका उल्लेख गरे ।

सभामुखले किराँत समुदायभित्रका राई, लिम्बू, याख्खा, सुनुवार, थामी, सुरेल, हायु लगायतले मनाउने का अवसरमा यो चाड मनाउनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई एवं शुभकामना व्यक्त गरेका छन् । सभामुखले नेपालसहित विश्वव्यापीरुपमा देखापरेको जलवायु परिवर्तनका कारण उत्पन्न नकारात्मक असरहरू कम गर्न एवं प्राकृतिक सम्पदाको व्यवस्थित एवं दिगो प्रयोग गर्न प्रकृतिप्रति समर्पित यस्ता चाडपर्वले आम नागरिकमा प्रेरणा मिल्ने विश्वास समेत व्यक्त गरेका छन् ।

धान्यपूर्णिमा पर्व

मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

यसअघि नवअन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवीलगायत स्थानमासमेत मेला लाग्ने गर्दछ ।

नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ ।

नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ । योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाइने प्रचलन छ ।

यो पर्वलाई नेवार समुदायले पनि नवअन्नप्राशनका रुपमा मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउँछन् । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिल राखेर डल्लो बनाइन्छ ।

नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । साथै चेलिबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रुपमा उपहार पठाउने चलन पनि रहेको छ ।

किराँत समुदायको उधौली पर्व पनि आजै परेको छ । किराँती मान्यता अनुसार आजको दिनदेखि हिउँद शुरु भयो । हिँउदको शुरु भएलगत्तै लेकबाट बस्तुभाउ अनि चराचुरुंगी बेसीतिर बसाइँ सर्ने समय भएको संकेतका रुपमा लिइन्छ ।साथै अन्नबाली भित्र्याइएको खुशीयालीमा यो पर्व मनाइन्छ ।

सरकारले उधौली र योमरी पूर्णिमाको अवसरमा आज पर्व मनाउने समुदायका लागि र काठमाडौंमा सार्वजनिक बिदासमेत दिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत