दृष्‍टिकोण

राजनीतिक चपेटामा शेयर बजार

 
कोभिड -१९ को संत्रास कायम नै रहेको बेला वर्तमान सरकारले अनुमानित आर्थिक वृद्धिदर ७.५ प्रतिशतको लक्ष्य सार्वजनिक गरेको छ । हामीकहाँ  वैज्ञानिक तथ्यविना धेरै हचुवाको भरमा आर्थिक वृद्धिदरको अनुमान गर्ने परम्परा जस्तै बनेको छ । तथापी लक्ष्य प्राप्त गर्न स्रोत र साधनको परिचालनको साथै नेतृत्वमा रहेका व्यक्तिले लिने नीतिगत निर्णय एवं उच्च राजनैतिक नेतृत्वबाट विचार पुर्‍याई समय सापक्ष रुपमा बेलावखत बाेलिने शब्दसमेतको अपरिहार्यता देखिन्छ । तर विडम्बना नेपालका राजनेताहरु एवं मन्त्रीहरुको अलोकप्रिय भाषणले देशको अर्थतन्त्रमा गम्भिर धक्का लाग्ने गरेको कुराप्रति हेक्का राख्नुपर्दछ । स्मरणहोस् शेयर बजार अर्थतन्त्रको मेरुदण्ड हो जुन विना राष्ट्रिय पूँजी निर्माण असंभव छ भन्ने कुरा बुझ्दा बुझ्दै लहडमा सस्तो लोकप्रियता हासिल गर्न शेयर बजारप्रति नकारात्मक टिप्पणी नेतृत्व तहबाट हुनु दुखद छ । कसैले शेयरबजारलाई जुवा घर भनेका छन् भने कसैले औद्याेगिक क्षेत्रमा लगानी गर्नु पर्ने पूँजी र स्रोतहरु पूँजी बजार लगायतका क्षेत्रमा जानु साम्राज्यवादको विकसित रुप भएको भन्दछन् । पूँजी बजारलाई जुवाघर भन्ने शब्दकाे प्रयोगले करिब एक वर्ष शेयर बजार उठ्नै नसक्ने गरि थला पर्‍यो । शेयर बजारलाई साम्राज्यवादको विकसित रुप भन्ने शब्दले यसै त थला परेको शेयर बजार अब कोमामा जाने अवस्था नआउला भन्न सकिदैन । के पूँजी जुटाउन शेयर बजार नभई हुन्छ र ? नेपालका विकासको प्रशस्त संभावना बाेकेका जलविद्युत आयोजना, बैंक तथा वित्तिय संस्था, उत्पादनमूलक उद्याेग, वाणिज्य तथा कृषि क्षेत्र सबैले त आखिरमा शेयर बजारमार्फत पूँजी जुटाउने होइन र ? विद्धान नेतृत्वबाट यतिासम्म कुरा किन नबुझेको होला भन्ने जनमानसमा व्यापक चर्चा हुने गरेको छ । सबैमा स्मरण होला वर्तमान सरकारका जिम्मेवार मन्त्रीहरुले शेयर बजारलाई माथि उठाउने कार्यमा हामी लाग्दछौँ भनेका थिए तर वर्तमान सरकार र केन्द्रिय बैंकको नयाँ नेतृत्व र नीतिगत निर्णय भए देखिनै नै शेयर बजार ओरालो लागेको छ । मित्र होमनाथ चालिसेका अनुसार करिब ४८ लाख डिम्याट खाता, २५ लाख आइपो भर्ने व्यक्ति १३ लाख जति कारोबारी, उल्लेखित संख्यामा सबै कुनै न कुनै दलका भोटर नै हुन् ।  यसबाट पुरानो सिमित शेयरबजारका खेलाडिलाई त खासै असर नगर्ला तर सानो पूँजी हालेका खाडी मुलुकमा चर्को घाममा रहेर काम गर्ने मजदुर, गृहणी, विद्यार्थी लगायत साना लगानीकर्ताको मनोवल खस्कने कुरामा कसैको दुईमत नरहला । यसले स सम्बन्धित दल र नेतालाई दिर्धकालीन असर नपर्ला भन्न सकिदैन । यसले जनमानसमा नकारात्मक असर पर्नुको साथै पूँजीको स्रोत मा ह्रास आई  उद्याेग धन्दा नै बन्द हुने अवस्था नआउला भन्न सकिदैन ।

कोरोना संकट लामो समय लम्बिन पनि सक्छ जसवाट आर्थिक वृद्धिदर तलपनि झर्न सक्छ ।  कोभिड महामारीमा केही कमी आई देशमा आर्थिक गतिविधि लगायत शेयर बजारसमेत चलायमान भएको अवस्थामा गरिने नीतिगत परिवर्तन र बेमौसमी बोलीले शेयर बजार मात्र हैन विदेशी लगानीमा समेत ह्रास आउने कुरामा कसैको दुईमत नहोला । नेपालको संघियतासमेत बढि खर्चिलो भएको हुँदा संघिय, प्रदेश तथा स्थानीय सरकारले संकटलाई मध्यनजर गरि अनावश्यक फजूल खर्च लगायत साधारण खर्चमा कटौति गर्न सकेको खण्डमा आर्थिक वृद्धिदरमा धेरै निराशाजनक अवस्था नआउन पनि सक्छ । मुलत देशमा पूँजीको अभावले आर्थिक संकट हुन्छ । पूँजी आन्तरिक तथा बाह्य स्रोतबाट उठाउने गरिन्छ । नेपालको सन्दर्भमा शेयर बजारलाई प्रश्रय गर्न सकियो भने महामारीले ल्याउने आर्थिक संकट टार्न आन्तरिक स्रोतबाट पनि प्रयाप्त पूँजी जुटाउन सकिन्छ । संकटबाट मुक्तिको लागी स्वास्थ्य, पूर्वाधार र कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने सरकारको योजना अनुरुप एसियाली विकास बैंक लगायतसँग सरकारले आर्थिक सहयोगको अनुरोध गरेको देखिन्छ एकातर्फ भने अर्कोतर्फ नेपालको पूँजी विभिन्न बहाना र माध्यामबाट भारत लगायत विभिन्न देशमा पलायन भएको समाचार पनि आइरहेको सन्दर्भमा शेयर बजारलाई थप सुदृढ गर्दै उचित लगानीको वातावरण निर्माण, लगानीकर्तालाई उचित प्रतिफल दिने र प्रतिस्पर्धी एवं वैज्ञानिक व्याज दर  कायम हुन सकेको खण्डमा मात्र पूँजी पलायनलाई केही हदसम्म रोक्न सकिने अपेक्षा गर्न सकिन्छ । हाल शेयर बजारमा मन्दी आउनुमा तरलता संकट र विकास खर्च प्रयाप्त नहुनु हो एकातर्फ भने अर्कोतर्फ गैरजिम्मेवार बोली र नीतिले शेयर बजार राजनैतिक चपेटामा परेको छ भन्नुमा अत्युक्ति नहोला । 

पूँजी विकासको साधन हो तसर्थ संकटको बेलामा पूँजीको आवश्यकता पर्ने र यसको जोहो पूँजी बजार अर्थात शेयर बजारले गर्ने हुँदा यसलाई संकटग्रस्त अर्थतन्त्रको संजीवनी भन्न सकिन्छ । पूँजी बजारको सुदृढिकरण विना देश विकासको कल्पना अधुरो हुन्छ । अधिकांश सर्वसाधरणमा पूँजीवजारको ज्ञान छैन एकातर्फ भने अर्कोतर्फ प्राथमिक बजार र दोस्रो बजार भनेकोसमेत थाहा नभएको अवस्था छ । दीर्घकालीन लगानी गर्ने वित्तीय संस्थाहरुदेखि लिएर औद्योगिक लगानीका लागि शेयर पूँजी परिचालन गर्ने धितोपत्र बजार र ऋणपत्र बजारसमेत यस अन्तर्गत पर्दछन् । सबै वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनी मुद्रा तथा पूँजी बजारका अंग हुन सक्दछन् । वाणिज्य बैंकले अल्पकालीन लगानीको अतिरिक्त दीर्घकालीन लगानी ऋण तथा शेयर सहभागिता गर्न सक्छ । त्यस्तै दीर्घकालीन पूँजी प्रवाहका लागि स्थापित विकास बैंकहरुले छोटो अवधिको सरकारी ऋणपत्रमा लगानी गर्न सक्छन् । संस्थागत भन्दा उपकरणगत प्रकृतिको आधार मुद्रा बजारमा अल्पकालीन निक्षेप, ट्रेजरी बिल, अल्पकालीन व्यवसायिक कर्जा, ओभरड्राफ्ट, टी.टी. आदिको उपयोग हुन्छ भने पूँजी बजारमा दीर्घकालीन निक्षेप, स्थिर पूँजीका लागि कर्जा, शेयर लामो अवधिका सरकारी ऋणपत्रहरु तथा लामो अवधिका ऋण जस्ता उपकरणको प्रयोग हुन्छ ।

नेपालमा पूँजी बजारभन्दा वित्तिकै शेयरवजारको बाहुल्यता देखिन्छ जहाँ विभिन्न संघ संस्थाको शेयरको खरिदविक्री गरिन्छ । यसलाई समेत पूँजी बजार भनिन्छ । तर विडम्वना नेपालको शेयर बजारलाई व्यवस्थीत र भरपर्दो बनाउनको लागी विभिन्न नियम कानुन बनेको र अनुगमनकारि निकायको रुपमा धितोपत्र वोर्डसमेत रहेको भएतापनि धितोपत्र वोर्डका पदाधिकारीहरुसमेतको शेयर बजारप्रतिको नकारात्मक बाेली र व्यवहारकोसाथै राजनैतिक हस्तक्षेपको कारण शेयर बजारले स्थिरता प्राप्त गर्न सकेको छैन ।  त्यसो त शेयर सम्बन्धी जनचेतनाको स्तरलाई हेर्ने हो भने कूल जनसंख्याको न्यून प्रतिशतलाई मात्र शेयर र यसको किनबेच, महत्वबारे थाहा होला भन्ने अनुमान गर्न सकिन्छ ।  शेयर बजारको अनपेक्षित उतार चढाव हेर्दा हाल नेपालको शेयर बजार केही सीमित व्यक्तिले चलाएको जस्तो देखिन्छ । कृत्रिम अभाव, अवैध चलखेल अर्थात कार्टेलिंग आदिको कारणले पनि शेयर बजार स्थिर हुन नसकेको हो भन्ने व्यक्ति को कमी छैन ।  शेयर बजार वैज्ञानिक कारणभन्दा पनि राजनैतिक घटनाक्रम एवं विश्व संकट र स्वदेशको आर्थिक संकटको आधारमा घटवढ हुने गर्दछ भने पनि नेपालको शेयर बजारमा सरकारको नीति तथा राजनेताको बोलीले बढि घटबढ भएको अवस्था देखिनछ । सैद्धान्तिक विश्लेषण गर्ने हो भने कम्पनीको आर्थिक अवस्थाको कारणवाट शेयर घटबढ हुनुपर्ने हो र शेयरमा लगानी गर्दा लगानीकर्ताको सम्बन्धित कम्पनीको वासलात अध्ययन गर्नुपर्ने हो  तर बजारमा हल्लाकै भरमा लगानी गर्ने, तथा शेयर किनबेच गर्ने वानी परेको देखिन्छ । शेयर  सैद्धान्तिक रुपमा शेयर बजार संकुचन हुनाको कारण हेर्दा  सूचीकृत कम्पनीको शेयर मूल्य घट्दै जानु, घरजग्गा कारोबारमा भइरहेको मन्दी, बैंक वित्तीय संस्थाले शेयर किन्न दिने ऋणमा गरेको कडाई, बैंक निक्षेपको ब्याजदरमा हुने उतारचढाव, धेरै बैंक वित्तीय संस्थाहरुले राइट र बोनस शेयर दिइसकेकोले अब शेयर संख्या बढ्दैन भन्ने भावना, बैंकिङ्ग प्रणालीमा तरलता अभाव, लघुवित्त विकास बैंकको ब्याजदरमा सीमा तोकिएको र शेयर खरिद विक्रीमा कडाई,   लगानीकर्ताहरुको शेयर बिक्री गर्ने प्रवृत्तिमा बढोत्तरी हो भन्न सकिन्छ । विश्वका विकिसित तथा विकासन्मुख मुलुकले अपनाएको नीतिलाई समेत मध्यनजर गर्दै पूँजी बजारको विकासमा ध्यान दिन सक्यो भने मात्रै आवश्यक दीर्धकालिन पूँजीको अभावलाई टार्न सकिन्छ । सरकारलाई विकास निर्माणको लागी चाहिने आवश्कय पूँजी जुटाउन नेपाल राष्ट्र बैंकको अलावा शेयर बजारलाई प्रयोग गर्न सकेमामा भविष्यमा पूँजी पलायनको संभावनामा कमी आउने देखिन्छ । 

शेयर बजारमा आउने संकुचनलाई नटारेसम्म संकटकालीन अर्थव्यवस्थाको सुदृढीकरणको कल्पना अधुरो हुन्छ । तसर्थ संकटग्रस्त अर्थतन्त्रको सुधारको लागी शेयर बजारमार्फत अधिकतम पूँजी जुटाउने र यसको उच्चतम परिचालन गर्नुपर्दछ । जसको लागी सर्वसाधरणलाई अर्थतन्त्रमा आउने गिरावटको बारेमा जनचेतना जगाउने, व्यवस्थापकीय कार्यकुशलतामा वृद्धि गर्ने, संचालन खर्चमा कटौती गर्ने, सीमित स्रोत र साधन को न्यून लागतमा उच्चतम परिचालन गर्न, खर्च र आम्दानी सम्बन्धित नीति नियममा आवश्यक परिमार्जन गर्ने लगायतका कार्य आवश्यक पर्दछ जसले कम्पनीनीको घाटामा कमी ल्याउदछ । संकटकालीन अर्थव्यवस्थाको विकासको लागी सुदृढ पूँजी बजारको जरुरी पर्दछ  भन्ने प्रति सबैको संकल्प जरुरी छ । यसर्थ यदाकदा सस्तो लोकप्रियताको लागी जिम्मेवार निकायबाट बाेलिने अलोकप्रिय शव्दले पूँजी बजारको विकासभन्दा विनास गर्दछ शेयर बजारको विकासले औद्याेगिक र आर्थिक विकास हुने, रोजगारी सृजना गर्ने, वजारमा तरलता र पूँजीको उपलव्धता मा सघाउने, सर्वसाधरण र कम्पनीहरुलाई लगानीप्रति आकर्षित गर्ने, पूँजी पलायन रोकिने,  सरकारको वित्तिय नीतिलाई सहयोग हुने, लगानीको गुणस्तरमा वृद्धि हुने, दिर्धकालीन लगानी प्रर्वधन हुने गर्दछ जसले वर्तमान आर्थिक संकट समाधानमा संजिवनीको कार्य गर्दछ । 

शेयरबजार विकासको लागी निक्षेप तथा कर्जाको ब्याजदरको फराकिलो अन्तर घटाउने,  धितोपत्र बजारको उपकरणहरुमा विविधीकरण गर्ने, शहरी क्षेत्र र सीमित क्रियाकलापमा केन्द्रिकृत हुने प्रवृत्तिलाई निरुत्साहित गर्ने, कृषि घरेलु उद्योग तथा ग्रामीण अर्थतन्त्रमा लगानी गर्न प्रोत्साहित गर्ने, सेवा क्षेत्रमा बढेको सेयरको आकर्षणलाई कृषि तथा उत्पादन मुखी उद्याेगतर्फ आकर्षण गर्ने, दीर्घकालीन कर्जा प्रवाह गर्न उत्प्रेरित गर्ने, लगानी गरिएको कर्जाको सुपरिवेक्षण र असुलीमा ध्यान दिने, भाखानाघेको कर्जामा पारदर्शिताको विकास गर्ने,  व्यवस्थापनमा सुधार गर्ने, कर्मचारी संचयकोष, बीमा संस्थान, नागरिक लगानी कोष आदि पूँजी बजारमा निर्णायक संस्थाहरुलाई पूँजी बजारमा लगानी गर्न उत्प्रेरित गर्ने, सर्वसाधरणलाई वितरण गरिने सेयरको मात्रा बढाउने, वचतलाई उत्पादनशिल कार्यमा लगाउन जोड दिने, सर्वसाधरणलाई अनुत्पादक खर्चमा कटौति गर्न प्रेरित गर्ने, र राजनैतिक हस्तक्षेप र गैरजिम्मेवार शव्दको प्रयोगलाईलाई घटाउने कार्य गर्नुपर्दछ । विश्वका विकसित मुलुकले समेत शेयर बजारको विकासबाट नै देशको आर्थिक विकासमा फड्को मारेको प्रशस्त उदाहरणहरु भएको हुँदा नेपालले पनि शेयर बजार मार्फत दिर्धकालिन तथा अल्पकालिन पूँजीको परिचालन गर्न सक्नुपर्दछ । (लेखक वैक तथा वित्तिय संस्था संवन्धि विज्ञ हुन् ।)   

गाउँ सहर संवाददाता

तपाईँको मत