नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि स्वास्थ्य मन्त्रालयकाे यस्ताे विज्ञप्ति
- गाउँ सहर संवाददाता
- २० मङ्सिर सोमबार, २०७८ | १४:१०:०० मा प्रकाशित
काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले नेपालमा पनि ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
एक जना ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका ७१ वर्षीय अर्का नेपाली नागरिकमा यही मंसिर १९ गते ओमिक्रोन संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो ।
दुवै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाएका थिए । गत मंसिर ३ गते नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै ६६ वर्षीय विदेशी नागरिक त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका थिए । नेपाल आउँदा नियमानुसार पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेको पाइएको थियो ।
तर कोभिड-१९ सँग मिल्दाजुल्दा लक्षणहरु देखिएको थियो । त्यसपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ विधिबाट परीक्षण गर्दा मंसिर १९ गते ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल दुवै जना सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा छन् । हाल उनीहरुमा कुनै लक्षणहरु नदेखिएको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ । ती दुई व्यक्तिहरुसँग सम्पर्कमा आएका ६६ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा सबैको नतिजा नेगेटिभ आएको र सबै स्वस्थ रहेको पाइएको छ ।
२४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा कोरोनाको उत्परिवर्तित भाइरस ओमिक्रोन पहिलोपटक पहिचान भएको थियो । यो भेरियन्ट हालसम्म ३५ भन्दा बढी देशहरूमा फैलिइसकेको छ । हालसम्म प्रयोग हुँदै आएको कोरोनाविरुद्धको खोपको प्रभावकारीता ओमिक्रोनमा हुने वा नहुनेभन्नेबारे स्पष्ट भइसकेको छैन । यो भाइरस सर्ने दर र संक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा वैज्ञानिक तथ्यहरूको खोज भैरहेको छ।
विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम छ। छिमेकी मुलुक भारतसहित दक्षिण एशियाका केही देशहरुमा समेत यो भेरियन्ट पुष्टि भैसकेको छ ।
हेर्नुहोस् स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति
कोभिड-१९ को भाइरसमा नयाँ उत्परिवर्तन (mutation) देखिएको छ र नयाँ उत्परिवर्तित भेरिएन्टलाई ओमिक्रोन (Omicron) नाम दिइएको छ । यो भेरीएन्ट पहिलो पटक २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको थियो। हालसम्म यो भेरिएन्ट विश्वका ३५ देशहरुमा फैलिसकेको जानकारी प्राप्त भएको छ र यी देशहरुमा आजको मितिसम्म ५७४ जना (Omicron) भेरिएन्ट संक्रमित देखिएका छन् ।
विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमीक्रोनको उच्च जोखिम रहेको उल्लेख छ। दक्षीण एशियाका केहि देशहरुमा समेत यो भेरिएन्ट पुष्टि भैसकेको छ क्ष् यो भाइरस सर्ने दर र संक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा बैज्ञानिक तथ्यहरूको खोज भैरहेको छ। यसको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले विभिन्न प्रयासहरू जारी राखेको छ ।
नेपालले अन्तरराष्ट्रिय हवाई तथा स्थल नाकाहरूमा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगटिभ PCR रिपोर्ट अनिवार्य गरेको, खोपको विवरण लिने गरेको, लक्षण तथा चिन्हहरूको जाँच गर्ने व्यवस्था गरेको तथा हवाई र स्थल नाकाहरू भई प्रवेश गर्ने पूर्ण मात्रा खोप नलगाएका र शंकास्पद सबै यात्रुहरुको एन्टिजेन परीक्षण गर्ने गरिएको छ । एन्टिजेन परीक्षणमा पोजिटिभ फेला परेकाहरुको नमुना संकलन गरी PCR गर्ने र संकास्पद नमुनाहरुको gene sequencing गर्ने गरिएको छ। यसका साथै बिगत एक महिना अगाडी देखी पोजिटिभ भएका नमुनाहरुको थप परिक्षण गर्ने गरिएको छ ।
यहि क्रममा मिति २०७८ मङ्सिर ३ गते नया भेरिएन्ट पुष्टि भएको देश हुँदै एक ६६ बर्षीय बिदेशी नागरिक नेपालको त्रिभुवन अन्तरराष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका थिए, नेपाल आउदा नियमानुसार PCR रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पुरा गरेको पाइएको थियो । वहाँसँग नजिकको सम्पर्कमा आएका एक ७१ बर्षिय व्यक्ति र स्वयं आफैलाई मंशिर ७ गते कोभिड-१९ संग मिल्दाजुल्दा लक्षणहरु देखिए पश्चात परिक्षण गर्दा कोभिड-१९ को नतिजा पोजिटिभ आएको थियो । COVID-१९ परीक्षणमा पोजिटिभ आएकाहरुको S-gene परीक्षण गर्नु पर्ने हालको नयाँ रणनीति अनुरुप परीक्षण गर्दा दुवै जनाको नमुनामा S-gene फेला परेको थिएन (S-gene Target failure) । S-gene फेला नपरेका उक्त दुवै नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु ( NPHL) मा gene sequencing गर्दा मिति २०७८ मङ्सिर १९ गते राति COVID-१९ को नयाँ भेरिएन्ट Omicron नेपालमा पहिलो पटक पुष्टि भएको छ ।
हाल दुवै जना नेपाल सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा रही स्वास्थ्य लाभ गरी रहनु भएको छ । हाल उहाहरुमा कुनै लक्षणहरु देखिएको छैन र स्वास्थ्यकर्मीको निगरानीमा हुनुहुन्छ ।
उक्त दुई व्यक्तिहरुसंग सम्पर्कमा आएकाहरुको बृहत रुपमा कन्ट्याक्ट ट्रेसिंग गरिएको, कन्ट्याक्ट ट्रेसिंगबाट प्राप्त ६६ जना सम्पर्कहरुको PCR परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको, सबै स्वस्थ रहेको पाइएको छ ।
यससँगै नेपालमा Omicron को निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिंगको कार्यलाई थप प्रभावकारी बनाइएको छ । आम नागरिकलाई Omicron सम्बन्धी बैज्ञानिक तथ्य प्रेषण गर्न बिश्वमा भएका यस सम्बन्धी अध्ययन अनुसन्धानका आधारमा प्राप्त सहि सूचनाहरु आधिकारिक माध्यमबाट प्रवाह गर्ने गरिएको छ । कोभिड १९ का अरु भेरिएन्ट जस्तै Omicron को संक्रमणबाट बच्न पनि जनस्वास्थ्यका सबै मापदण्डहरुको पालना ( मास्कको सही प्रयोग, भौतिक दुरी कायम गर्ने, भिडभाड नगर्ने तथा हात धुने कार्य, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने ) र खोपको प्रयोग महत्वपूर्ण हुने भएकोले सबैमा मापदण्डको पालना गर्न र खोप अभियानमा सहभागिता हुनुहुन अनुरोध छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस