अर्थतन्त्र

बागमती प्रदेश वार्षिक प्रतिवेदन भन्छ- खाद्य तथा अन्य बालीले ढाकेको भू–क्षेत्र र बालीको उत्पादन घट्याे

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले प्रादेशिक आर्थिक गतिविधि अध्ययन (बागमती प्रदेश) वार्षिक प्रतिवेदन (आ.व.२०७७/७८) प्रकाशन गरेकाे छ ।

आर्थिक स्थायित्व, अर्थतन्त्रको दिगो विकासका लागि मूल्य तथा शोधनान्तर स्थिरता र वित्तीय क्षेत्र स्थायित्व कायम गर्नु नेपाल राष्ट्र बैंकको उद्देश्य रहेको भन्दै उसले यी उद्देश्य हासिल गर्न बैंकले मौद्रिक, वित्तीय र विदेशी विनिमय नीति तर्जुमा गरी कार्यान्वयन गर्दै आएको बताएकाे छ । तथ्यमा आधारित नीति निर्माणका लागि बैंकले अर्थतन्त्रका विभिन्न विषयमा अध्ययन, अनुसन्धान गरी प्रतिवेदन प्रकाशन गर्दै आएको र अध्ययन अनुसन्धानको लागि कृषि, उद्योग र सेवा क्षेत्रका निकायबाट आवश्यक तथ्याङ्क तथा विवरणहरु संकलन/प्रशोधन गर्ने गरेकाे बताएकाे छ । 

मुलुकमा संघीयताको कार्यान्वयनसँगै प्रशासनिक स्वरुपमा आएको परिवर्तनका कारण प्रादेशिक रुपमा आर्थिक गतिविधिको अध्ययन तथा आवश्यक सल्लाह प्रदान गर्नुपर्ने आवश्यकता महसुस भएकोले “आर्थिक गतिविधि तथा विशेष अध्ययन मार्गदर्शन– २०७०” परिमार्जन गरी “आर्थिक गतिविधि तथा विशेष अध्ययन मार्गदर्शन, २०७६” अनुसार अध्ययन प्रतिवेदन तयार पार्न थालिएको प्रतिवेदनमा उल्लेख छ ।

बागमती प्रदेशका १३ वटा जिल्लाहरूको स्थलगत तथा गैरस्थलगत सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा सूचनाको आधारमा तयार गरिएको आर्थिक वर्ष २०७७/७८ को वार्षिक अध्ययन प्रतिवेदनले समीक्षा वर्षमा खाद्य तथा अन्य बालीले ढाकेको भू–क्षेत्र ०.२ प्रतिशतले घटेको छ भने यस्ता बालीको उत्पादन ०.७ प्रतिशतले घटेको बताएकाे छ । प्रमुख खाद्यान्न बालीमध्ये समीक्षा वर्षमा मकै उत्पादन २.० प्रतिशतले र धान उत्पादन ०.१ प्रतिशतले घटेको छ भने कोदो उत्पादन १.४ प्रतिशतले बढेको उल्लेख छ ।

यस्तै समीक्षा वर्षमा तरकारी उत्पादन १.९ प्रतिशतले बढेको छ । पशुजन्य उत्पादन अन्तर्गत दूध उत्पादन ६.२ प्रतिशत, मासु उत्पादन ७.६ प्रतिशत र अण्डाको उत्पादन १८.१ प्रतिशतले बढेको छ । समीक्षा वर्षमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट ४.२ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह भएको छ ।

प्रतिवेदनअनुसार समीक्षा वर्षमा यस प्रदेशका अध्ययन नमुनामा समेटिएका उद्योगको क्षमता उपयोग औसतमा ४६.४ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यस्ता उद्योगको क्षमता उपयोग औसतमा ३७.९ प्रतिशत रहेको थियो । औद्योगिक उत्पादनमध्ये पशुदाना उत्पादन १६.४ प्रतिशत, विस्कुट उत्पादन ३४.९ प्रतिशत, चाउचाउ उत्पादन २३.२ प्रतिशत, हल्का पेय पदार्थ १८.७ प्रतिशत, चुरोट उत्पादन ८.५ प्रतिशत, पश्मिना उत्पादन ४.० प्रतिशत, गार्मेण्ट उत्पादन १९.० प्रतिशत, रंग उत्पादन ५४.९ प्रतिशत, साबुन उत्पादन ४५.१
प्रतिशत र कंक्रिट उत्पादन ५१.६ प्रतिशत र कपडाको जुत्ता उत्पादन ३२.५ प्रतिशतले बढेको छ भने प्रशोधित दूध उत्पादन ११.० प्रतिशत र वियर उत्पादन ११.४ प्रतिशतले घटेको छ । बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा प्रवाह गरेको औद्योगिक कर्जा कुल प्रवाहित कर्जाको ३७.७ प्रतिशत रहेको छ ।

यसरी नै कोभिड–१९ संक्रमणबाट उत्पन्न भएको असहज परिस्थितिका कारण पर्यटन क्षेत्रमा गहिरो असर पुगेको छ । अन्तर्राष्ट्रिय पर्यटक आगमन ठप्प प्रायः रहेको तथा आन्तरिक आवागमनमा समेत असर परेको कारण पर्यटन क्षेत्र प्रभावित भएको छ । यस प्रदेशमा रहेका ठूला होटलहरूको अकुपेन्सी न्यून रहेको छ । घरजग्गा रजिष्ट्रेशन सङ्ख्या ३९.० प्रतिशतले तथा रजिष्ट्रेशनबाट प्राप्त हुनेराजस्व ५८.८ प्रतिशतले बढेको उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा परिचालन गरेको निक्षेप २०७७ असार मसान्तको तुलनामा २०७८ असारमा १९.३ प्रतिशतले र कर्जा प्रवाह २८.५ प्रतिशतले वृद्धि भएको छ । कर्जा–निक्षेप अनुपात औसतमा ७३.३ प्रतिशत रहेको छ । समीक्षा वर्षमा यस प्रदेशमा यातायात साधन सङ्ख्या १३.५ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनकाे पूर्ण पाठ यहाँ हेर्नुहाेस्

गाउँ सहर संवाददाता

तपाईँको मत