अझै पुग्न सकेन तीन स्थानीय तहमा वाणिज्य बैङ्क
- गाउँ सहर संवाददाता
- १४ मङ्सिर मंगलबार, २०७८ | ०९:०९:०० मा प्रकाशित

काठमाडौँ । कुल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा वाणिज्य बैङ्कको उपस्थिति पुगेको छ । तीनवटा गाउँपालिकामा बैङ्कको शाखा अझै पुग्न सकेको छैन । शाखा नपुगेका स्थानीय तहमा बागमती प्रदेशमा धादिङको रुबीभ्याली, कर्णाली प्रदेशमा जाजरकोटको जुनीचाँदे र सुदूरपश्चिम प्रदेशमा बझाङको साइपाल गाउँपालिका रहेका छन् ।
यी गाउँपालिकामा पनि बैङ्क शाखा पुग्ने क्रममा रहेको राष्ट्र बैङ्कले जनाएको छ । सरकारको प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैङ्कको शाखा पु¥याउने लक्ष्यअनुरूप कुल ७५३ स्थानीय तहमध्ये २०७८ असार मसान्तमा ७५० स्थानीय तहमा वाणिज्य बैङ्कको उपस्थिति पुगेको हो ।
त्यसैगरी २०७८ असार मसान्तसम्ममा ‘क’ वर्गका चार हजार ७५३, ‘ख’ वर्गका एक हजार २३, ‘ग’ वर्गका २२२ र ‘घ’ वर्गका चार हजार ६८५ गरी बैङ्क तथा वित्तीय संस्थाको शाखा सङ्ख्या कुल १० हजार ६८३ पुगेको छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनका अनुसार प्रतिबैङ्क तथा वित्तीय संस्थाहरूको शाखाबाट औसतमा करिब दुई हजार ८४४ जनसङ्ख्याले सेवा प्राप्त गर्न सक्ने देखिन्छ । साथै शाखारहित बैङ्किङ सेवाको सङ्ख्या एक हजार ७०६ पुगेको छ ।
बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने प्रक्रियाबमोजिम २०७८ असार मसान्तसम्म कुल २२९ बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा संलग्न भई ५८ संस्था कायम भएका छन् । समीक्षा वर्षमा मात्र ‘क’, ‘ख’, र ‘ग’ वर्गका गरी ३३ संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई १२ बैङ्क तथा वित्तीय संस्था कायम हुन पुगेका छन् । सो अवधिमा भएका जम्मा २० वटा गाभ्ने/गाभिने तथा प्राप्तिमध्ये गाभ्ने/गाभिनेतर्फ १० र प्राप्तितर्फ १० रहेका छन् ।
आर्थिक वर्ष २०७७/७८ मा खुला बजार कारोबारका विभिन्न उपकरणमार्फत कुल तीन खर्ब तीन अर्ब २९ करोड तरलता प्रशोचन गरिएको छ भने कुल ६७ अर्ब ९४ करोड तरलता प्रवाह गरिएको छ । गत आवमा वर्षमा तीन खर्ब ७० अर्ब ३४ करोडको स्थायी तरलता सुविधा उपयोग भएको छ ।
यस्तै २०७७ असार मसान्तसम्म विभिन्न दरका गरी पाँच खर्ब ८८ अर्ब छ करोड बराबरका नोटहरू चलनचल्तीमा रहेकामा २०७८ असार मसान्तसम्ममा १६.२३ प्रतिशतले वृद्धि भई चलनचल्तीमा रहेका कुल नोट छ खर्ब ८३ अर्ब ५० करोड बराबरका छन् ।
राष्ट्र बैङ्कका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भई एक खर्ब ४१ अर्ब १२ करोड रुपियाँ पुगेको छ । सो अवधिमा कुल वस्तु आयात २८.७ प्रतिशतले वृद्धि भई १५ खर्ब ३९ अर्ब ८४ करोड रुपियाँ छ । गत आर्थिक वर्षमा कुल वस्तु व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड रुपियाँ कायम भएको छ । यो व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ३२.८ प्रतिशत हो ।
गत आर्थिक वर्षमा निक्षेप तथा कर्जा सुरक्षण कोषले २०७८ असार मसान्तसम्ममा एक खर्ब ४१ अर्ब कर्जा र आठ खर्ब ११ अर्ब ६२ करोड निक्षेप सुरक्षण गरेको छ । कर्जा सूचना केन्द्रबाट आर्थिक वर्ष २०७७/७८ मा २७ वाणिज्य बैङ्क, १८ विकास बैङ्क, १७ वित्त कम्पनी र ७० लघुवित्त वित्तीय संस्थाले जम्मा ५२ लाख ८४ हजार ३६१ कर्जाको सूचना माग गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस