कर्णाली र सुदूरपश्चिम पुगेर राहत र उद्धारमा कुनै कमी हुन नदिने प्रधानमन्त्री देउवाकाे प्रतिबद्धता
- गाउँ सहर संवाददाता
- ५ कार्तिक शुक्रबार, २०७८ | १२:५६:०० मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेमौसमी वर्षाले उत्पन्न गरेको डुबान, बाढी र पहिरोले प्रभावित कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला पुगेका बाढी पीडितलाई राहत दिने बताएका छन् ।
सुदूरपश्चिमस्थित बाढीपहिरो र डुबान क्षेत्रको अनुगमनमा रहेका प्रधानमन्त्री देउवा कञ्चनपुर पुगेका छन् । कैलाली सदरमुकाम धनगढीबाट शुक्रबार कञ्चनपुर सदरमुकाम महेन्द्रनगर पुगेर देउवा अनुगमनमा निस्किएका हुन् ।
बेमौसमी वर्षका कारण सबैभन्दा बढी प्रभावित सुदूरपश्चिममा पुगेर देउवाले योजनाबद्ध रूपमा प्रभावितका लागि राहतका कार्यक्रम र योजना ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले प्राकृतिक प्रकोपबाट प्रभावितका लागि राहत र उद्धारमा सरकारले कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री देउवाले सुर्खेत, दिपायल, बझाङ, बैतडी, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा बाढी, डुबान र पहिरोले पारेको प्रभावको निरीक्षण गरेका छन् । उनले महाकाली तटीय क्षेत्र तथा ब्रह्मदेवदेखि कुतियाकभरसम्म हेलिकप्टरबाटै निरीक्षणसमेत गरेका थिए ।
कर्णाली र सुदूरपश्चिमका प्राकृतिक प्रकोप प्रभावित क्षेत्रका जनप्रतिनिधि र पीडितबाट देउवाले त्यहाँको अवस्थाबारे जानकारी लिएका छन् ।
प्रधानमन्त्री देउवा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले तथा पूर्वमन्त्रीहरू एनपी साउद र रमेश लेखकलाई साथमा लिएर बाढी र पहिरो प्रभावित क्षेत्रको अवस्था बुझ्न गए छन् ।
त्यसैगरि, अवलोकन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा एमसीसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानून मातहत हुने भएकाले कुनै संशय गर्नु नपर्ने बताएका छन् ।
‘एमसीसी पास हुन्छ । यसमा संशोधन गर्नुपर्ने कुरै केही छैन । एमसीसीको बारेमा झूठा प्रचार गरिएको छ,’ देउवाले भने, ‘विश्व बैंक र एसियाली विकास बैंकले दिने ऋण सहयोगमा नेपालको कानूनभन्दा अन्तर्राष्ट्रिय कानून लागू हुन्छ । एमसीसी त अनुदान हो । उनीहरुले नै यसमा नेपालकै कानून लागू हुने बताएका छन् ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस