ब्लग

“दशैं नै हो कि यो मेरो दशा.. फर्कि आएको”

"दशैं नै हो कि यो मेरो दशा.. फर्की आएको" योगेश्वर आमत्य को यो गित सार्वजनिक भएको धेरै वर्ष भैसक्यो। पहिला सार्वजनिक हुँदा यस्तो पनि गीत हुन्छ र? गायकहरु जे पायो त्यही गाउछन, लेखक हरु जस्तै निःशब्द कोर्छन र सङ्गितकारहरु जस्तै गीतमा पनि सङ्गित भर्छन जस्तो लाग्थ्यो।

स्वभाविक नै हो मलाई त्यस्तो लाग्नु। म जस्तो धेरैलाई त्यस्तै लाग्थ्यो। यो गीत बजारमा आउँदा कतिले यो मानिसको लागि हैन यो खसी बोका, च्याङ्ग्रा तथा अन्य मासु खान मिल्ने जिवजनावरको बारेमा बनाईएको भन्दै ट्रोल नै बनाए। अधिकांसले यो गीत सस्तो लोकप्रियताका लागि बनाईएको भनी खण्डन पनि गरे। केही ले भने मेलोडिमा रम्दै मनोरञ्जनको वाहक बनाए।

दशैं हिन्दू धर्मवालम्बीहरुको महान चाड हो। नौ दिन सम्म माता दुर्गा भवानीको ९ विभिन्न रुपको पूजा आजा एवम् स्तुति गर्दै भब्यताको साथ मनाईन्छ दशैं। शुरुको दिन घटस्थापना बाट शुरु भएको चाडमा कोजाग्रत पूर्णिमा सम्म निरन्तर १४ दिन (तिथि नदोहोरिँदा सम्म) चलिरहन्छ।

सबै मानिसलाई यस महान कुम्भ चाड दशैंको बेला धमाधम हुन्छ। घर परिवारमा दशैं कसरी मनाउने, के खाने, के के लगाउने, कता घुम्न जाने भन्दै दशैंको बिदाको प्रयोग र समय मिलाउन ब्यस्त रहन्छन्। 'हुने खाने' लाई यो चाड दशैं हो भने 'हुँदा मात्र खाने' लाई यो चाड स्वाभाविक रुपमा दशा हो।

योगेश्वर अमात्यको यो गीत यहाँ मेल खान जान्छ। एक गरिब परिवारलाई पनि यो दशैं खर्च अभावका कारण दशा बन्न पुग्छ। के गर्नु चाड मनाउनै पर्‍यो, साथिभाईसंग रमाउन पर्‍यो, मासु खान पर्‍यो, वा भनौँ मासु नखाँदा पनि अन्य फलफूल सादा खानपिनमा पनि निरन्तर खर्च गरिरहन पर्‍यो। फेरि मानसिक तनाब झन कति हुने हो कति।

हुन त मिडल क्लास परिवारलाई पनि यो समस्या नहुने होइन। उनीहरु पनि कहाँ अछुतो छन र? जसो तसो पैसाको जुगाड गर्‍यो र बल्ल बल्ल चाड मनाउन तयार त हुन्छन मिडल क्लास परिवार तर दशै खर्चले अर्को महिना सम्मको राशन खर्च पनि ब्यहोर्न बाध्य हुदै ऋण भार थपिन्छ।

देखो सिकोले पनि खैलाबैला मचाएको छ हाम्रो समाजमा। शान्त तवरले मनाउन पाईने हो दशैं। दशैंमा टीका ग्रहण गरेर ठुलाको आशिर्वाद थाप्ने र सानालाई आशिर्वाद दिने मान्यता बिकास भएर दशैं मनाउँदै आईएको छ। त्यही आशीर्वाद पाउन र माया बाँड्न हामी विभिन्न स्थानमा रहेका आफन्त र मान्यजन खोज्दै टीका ग्रहण गर्न पुग्दछौँ।

वर्ष दिनभरी अफिसबाट फुर्सद नपाएर बसेकाहरुको लागि आफन्त भेटघाट गर्न ठुलो अवसर यहि दशैंले जुराउँछ। फलफुल वा मिठाई बोकी घर घर टीका थाप्न जाँदा बोकेर लाने चलन पनि छ दशैंमा। मानौँ यो चाडहरुको कुम्भ मेला जस्तै हो।

सानो खर्चमा पनि दशैं मनाउन सकिन्छ। तर छिमेकी र साथीभाईले के भन्लान्? आफ्नामा आएका ईष्टमित्रको सहि हेरबिचार गर्न पाईएन हने उनिहरुले के भन्लान्? खर्च नगर्दा समाजले लोभी भन्ला भन्ने सोचले पनि अस्तब्यस्त दशैं बन्छ कति घर परिवारको।

नयाँ कपडा लगाउनै पर्ने, मीठो खाना खानै पर्ने, राम्रो देखिन पर्ने र फेसबुकमा पोस्ट्याउनै पर्ने हाम्रो समाजले दशैं त्यसरीनै मनाउँदै आएको छ। मानसिक बिचलन पनि ननिम्त्याएको हैन दशैंले। खर्च र रमाईलो उत्सवबीचको जोडदार साझेदारी छ दशैंको।

जति धेरै खर्च उति नै धेरै घुमघाम र उति धेरै रमाईलो मान्ने एक जमात छ। त्यही जमातबाट अलिक टाढा दशैं खर्च जुटाउन र रमाईलो गरी चाड मनाउन सकस छ कति घरपरिवारमा। यो बिचको खाडल कहिले नपुरिने अर्को चुनौती छ यस महान चाडको।

त्यसैले पनि लेखिएको होला त्यो गित "दशैं नै हो कि यो मेरो दशा.. फर्कि आएको"। सबैमा दशा बिनाको दशैं होस्। चाडले खुशी ल्याओस आँशुका ढिका र आर्थिक बोझ नरहेको राम्रो। देखावटी दशैं भन्दा वास्तविक दशैं मनाउन जरुरी छ आजको समाजमा।

तपाईँको मत