पर्यटन

तनहूँको च्यवनधामलाई धार्मिक पर्यटनको गन्तव्य बनाइने

पोखरा । गण्डकी प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री दीपक थापाले तनहूँको च्यवन धामलाई धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन् । तनहूँको शुक्ला गण्डकी नगरपालिका–२ मा रहेको शुक्लागण्डकी च्यवनधामको अवलोकन गरेपछि उनले यस्तो आश्वासन दिएका हुन् ।

‘नेपालमा सम्भावना रहेका पर्यटनका विभिन्न आयामहरु मध्ये धार्मिक पर्यटन पनि एक प्रमुख आयाम हो भन्दै उनले धार्मिक पर्यटनको विकासका लागि हाम्रो क्षेत्रमा रहेका धार्मिक स्थलहरुको संरक्षण, संवद्र्धन र प्रचार प्रसार गर्नु आवश्यक भएकामा जोड दिए ।

अवलोकनकै क्रममा मन्त्री थापा समक्ष च्यवनधाम संरक्षण तथा विकास समितिका पदाधिकारीहरूले आवश्यक सहयोग गर्न आग्रह गरेका थिए । समितिका सचिव दुर्गादत्त सापकोटाले धामका भौतिक संरचना र जग्गा संरक्षणका लागि कम्पाउण्ड गर्नुपर्ने आवश्यकता रहेपनि बजेट अभावमा गर्न नसकिएको गुनासो राखेका थिए ।

मन्त्री थापा संगै प्रदेश सभा सदस्य आशा कोईराला, प्रदेश योजना आयोगका सदस्य सुवास अधिकारी, जिल्ला वन कार्यालयका प्रमुख कोमलराज काफ्ले लगायतको टोलीले शुक्लागण्डकी च्यवनधाम स्थित शुक्लेश्वर मन्दिर, बौद्व गुम्बा, कृतिम हिमाल, १०८ पिपल, १०८ धारा लगायतका संरचनाको अवलोकन गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत