राजनीति

राप्रपाको लोकप्रियता वृद्धि गर्न राजनीतिक सँस्कार भएका प्रतिनिधिलाई पार्टीभित्रको जिम्मेवारीमा ल्याउनु पर्छ

पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को लोकप्रियता वृद्धि गर्न राजनीतिक सँस्कार भएका प्रतिनिधिलाई पार्टी भित्रको जिम्मेवारीमा ल्याउनु पर्छ भन्ने कार्यकताहरूको जोड छ ।

गलत सोँच र आचरण भएका पात्रले पार्टीको गरिमा र लोकप्रियतालाई नकारात्मक असर पार्ने भएकोले अधिवेशनको क्रममा सजग भएर सही प्रतिनिधि चयन गर्नु पर्दछ भन्ने पार्टी कार्यकताको भनाइ थियो ।

कुम्मायक गाउँपालिकाको विहीबार सम्पन्न अधिवेशनमा भाग लिँदै स्थानीय कार्यकर्ताहरूले राजनीतिक सँस्कार र प्रजातान्त्रिक अभ्यास एक अर्काका पूरक भएको बताए । स्वेच्छाचारी पात्र र प्रवृत्तिबाट पार्टी तहसनहस हुन्छ भन्ने चिन्ता प्रकट गरे । पार्टी एकढिक्का रहनु पर्दछ भन्ने मत जाहेर गरे ।

‘प्रजातान्त्रिक विकल्प बन्ने लक्ष्य लिएको राप्रपाले आन्तरिक प्रजातन्त्र अक्षुण्ण राख्नु पर्दछ । प्रजातान्त्रिक अभ्यास, राजनीतिक आचरण र पार्टी सदस्यहरूको मनोवृत्ति यस मानेमा महत्वपूर्ण हुन्छ,’ केन्द्रीय कार्य सम्पादन सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष सगुन सुन्दर लावतीले भने ।

यासोक बजारमा सम्पन्न अधिवेशनलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य मानदेव केरुङले भने, ‘स्वर्गीय नेता पद्मसुन्दर लावतीको योगदानको बलमा पाँचथरमा राप्रपा अडेको छ । दुःखको कुरा ऐतिहासिक सत्यलाई बिर्सेर, उहाँको योगदानलाई नबुझे जस्तो गरेर, एकथरी राप्रपाको छवी धमिलो पार्न उद्धत छन् । आम पार्टीपंक्ति यसैले चनाखो रहनु परेको छ ।’

राप्रपा पाँचथरका सह–अध्यक्ष राज कुमार जोशीले भने, ‘जनताको बलमा राप्रपाले राजनीतिक उचाई लिनेछ । वर्तमान परिवेशले यही संभावनालाई इंगित गरेको छ ।’

अधिवेशनले जगत जंग लावतीको अध्यक्षतामा कुम्मायक गाउँपालिका समिति सर्वसम्मत निर्वाचित गर्यो ।

कार्यक्रममा जिल्ला सदस्य पवित्र श्रेष्ठ र महिला संगठनका केन्द्रीय सदस्य कल्पना थेबेको पनि उपस्थिति थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत