कला

लघुकथा : आमा

राधाको एक्लो सन्तान मिलन अस्ट्रेलिया बसेको ८ वर्ष भएको थियो । उसलाई अस्ट्रेलिया पठाउन राधाले खुब संघर्ष गरेकी थिइन् । उसले उतै विवाह गर्‍यो र नेपाल फर्केर आएन । फोन पनि आक्कलझुक्कल मात्रै गर्थ्यो । घर खर्च टार्न त्यही बूढो छाला घोट्नुपर्थ्यो राधालाई ।

छोराको बाटो हेर्दाहेर्दै ब्रेन ह्यामरेज भएर पतिको निधन भयो । उनी आँसु पिएर बाँच्न थालिन् । न टेक्ने आड छ न समाउने हाँगो । यस्तै कुराले उनी भक्कानिन्थिन् । अब त उनको मनबाट आशाको दीप धीमा हुँदै गइसकेको थियो ।

एकपटक उनी साह्रै बिरामी भएर थला परिन् । आफन्तको पहलमा मिलन नेपाल आयो । ऊ छोटो छुट्टीमा आएको थियो । छोराको व्यग्र प्रतीक्षाले आकुलव्याकुल बनेकी उनी ठीक हुँदै गइन् । "छोराको न्यास्रोले पो बिरामी परेकी रहिछन् त । छोराको अनुहार देख्नासाथ बुढिया त ठीक भइहालिन् नि ।"

छिमेकीहरुले यसो भन्दा उनी फिस्स हाँस्थिन् । सबैले आमालाई एक्लो नपार; कि सँगै लैजाऊ; कि नेपालमै बस भन्दै मिलनलाई सम्झाए । तर उसले एउटा कानले सुनेर अर्कोले उडाइदियो ।

"आमा हजुर बुढेसकालमा त्यहाँ गएर के गर्नुहुन्छ ? न भाषा बुझ्नुहुन्छ, न रहनसहन । तपाइँलाई हामीले समय दिन नि भ्याउँदैनौँ । बरु काकाको घरमा बस्नुहोस् । म खर्च पठाइदिन्छु।"

छोराले सँगै नलैजाने कुरा गरिरहँदा उनको नजर छोराको हातमा बनाएको ट्याटुमा ठोक्कियो । जसमा खोपिएको थियो "मेरी प्यारी आमा !"

"हुन्छ बाबु । तिमीले जहाँ भन्छौ, त्यहीँ बस्छु । तर त्योभन्दा पहिला मनबाट हटाइसकेकी आमालाई ट्याटुमा नअल्झाइराख । त्यहाँबाट पनि सदाको लागि हटाइदेऊ । आमा दुनियाँलाई देखाउने कुनै वस्तु होइनन्, मनमन्दिरमा सजाइने देवी पो हुन् त ।"

बूढानीलकण्ठ १, काठमाडौँ ।

तपाईँको मत