झिँगे दाउमा अल्झिएकाे नेपाली राजनीति
- १२ भदौ शनिबार, २०७८ | १२:१९:०० मा प्रकाशित

नेपालको राजनीतिमा नेपाली जननताले बेहोरेको विगत भोग्दैको वर्तमान र संभावनाको भविष्यको अन्तरलाई तुलना गरेर खस्रो अध्ययन मात्रै गर्दा पनि प्रचुर तथ्यहरूको चाङले के फेरियो अनि के संकटले बेरियो ? भन्ने बुझ्न सजिलो बनाउँछ । त्रिकालकाबीचको यो 'वर्तमान' उन्नति, प्रगति र सुसभ्य भएर भविष्य लक्षित हुने आशा र भरोसाको केन्द्र हो आम नेपालीका लागि । तर आशा दैनन्दित निराशा उन्मुख किन ? केमा फसेको हो नेपाली राजनीति ? आजको प्रश्न ।
प्राचीन नेपाल र यस पूर्वतिरको नेपाली समाजको लोक सामाजिक आख्यान कालखण्डतिर गएर नजर घुमाउँदा पनि तत्कालीन कालखण्डको नकारात्मक राजनीतिक चेत र आजको गणतान्त्रिक नेतृत्वको नकारात्मक राजनीतिक चेत, स्वभाव, शैली आदिजस्ता विषयमा त्यत्रो पृथक पन देखिँदैन कि बरु पटकपटक काँचुली फेरिएको त्यही अजिङ्गर अर्को उस्तै काँचुलीको ढाल बनाएर त्यही वंशको गुणले शतप्रतिशत काम गर्दै आएको स्पष्ट झल्किन्छ ।
बाइसे-चौबिसे टुक्रे भुरे राज्यकालदेखि नै वा भनौँ गोपाल वंशदेखि महिष्पाल,किराँत, लिच्छवि, मल्लसम्म आउँदा एकले अर्कालाई झिँगे दाउमा पारेर संकट थोपर्ने र ठूलो माछो बनेर सानारभुरा माछाको शिकार गर्ने एउटा स्वभाविक संस्कृति बनेको देखिन्छ । यस्तो कार्यमा जो सफल हुन्छ त्यस्तालाई विजेता भनेर ग्रहण गर्ने शासकीय मनोविज्ञानले सबैजसो शासकहरू ग्रसित थिए भन्ने तथ्यहरू जीवित छन् । यी राज्य निल्ने अघोषित-अपरिभाषित साम्राज्यवादी नीति नै थिए तर त्यसलाई राजनीतिको साहसी खेलको रूपमा सर्वस्वीकार्य हुन्थे र मुढे बल नै त्यो खेलको मुख्य हतियार बन्ने गर्थ्यो । आधुनिक नेपालको निर्माणमा पनि त्यही विजेताको हाँक र हुँकारले काम गरेको थियो भन्दा अत्युक्ति नहोला । एउटा फड्कोमा राज्यमाथि लगाइने शासकको गिद्दे नजर राणाकालमा आएर राज्य सत्ता प्राप्ति अनि ऐयासी भोगको मनोविज्ञानतर्फ संकुचित हुन पुग्यो र यही सत्ता प्राप्ति र गुमाइको खेलमा वंश र बन्धु शिकार झन्डै अघोषित शासकको नीति नै बन्यो । यसपछिको पञ्चायत पनि त्यही शासकले काँचुली नै फेरेको हो अजिङ्गरको अन्त्य थिएन ।
राणाहरूकै अन्त्यले जन्माएको प्रजातान्त्रिक व्यवस्थाचाहिँ के थियो ? यो आजको गम्भीर विश्लेषण एवम् समीक्षाको प्रश्न बन्नु पर्थ्यो तर सार उहीँ रूप मात्र अदलबदलले गर्दा प्राचीन शासकीय वंशसूत्रमा नमिल्ने केही छन् र आजका जनशासकसँग ? भन्नेतर्फ लाग्नुपरेको छ । त्यही विगतको शासकीय वंशसूत्र नवरङ्ग र ध्वजापताकाले सिँगारिँदै सत्ताको राजमा भविष्यको राजमार्ग बनाउँदै गरेको दृश्यले भावी कालखण्डमा पनि उहीँ अजिङ्गर काँचुली फेर्ने साहसी खेलको खेलाडीमा परिणत हुने संकेत देखिएको छ । जो उही प्राच शासकको विरासत वर्तमान नेपाली राजनीति र यसका नायकहरूमा हुबहु सचित्र रूपमा पाइलै पिच्छे देख्न सकिन्छ । यसैको एउटा उदाहरण हो आफ्नो स्वार्थको परिधिभित्र दललाई दलालको कब्जामा सुम्पेर उसैको दुष्चक्रमा देश, जनता र (प्रजातान्त्रिक गणतन्त्र) व्यवस्थालाई बाँदरझैँ नचाइरहनु ।
नेपाली जनता जे चाहन्छन् त्यो त दिने नै भयौँ कि त्यो चाहनाभन्दा केही कदम अगाडि के के दिने भनेर पो सोचिरहेका छौँ भन्नुहुन्छ हाम्रा राजनेता । यो गोपाल र महिष्पाल वंशीबाहेक अरू सबै शासकहरूको साझा वंश सूत्रात्मक लक्षण हो भनाइ मात्रको । शाकाहारी हौँ तर मासु नभए खाना खान्नौँ भन्दा के बुझ्ने जनताले ? कुनै कष्ट छैन बुझ्न व्यवहारमा नै पुष्टि छ, जे भन्छौँ त्यो गर्दैनौँ बरू नभनिएका स्वलाभका भर्याङ चढाउनु र चढ्नुमा नगरी छोड्दैनौँ । यहाँ जन गुनासो के हो भने प्रणाली, पद्धति र प्रक्रिया बनाऊ अनि आफैँ नमिछ बरू समय सापेक्ष सुध्रिनुहोस् र सुधार गर्नुहोस् । कहिल्यै कतै कसैलाई खाडलमा धकेलेर आफ्नो उचाइ बढाउने तुच्छ धृष्टता कम्तीमा राजनेताबाट नहोस् भन्ने हो ।
नाक ठूलो बनाएर हात्ती बन्ने चेस्टा गर्दा सुँगुर त भइएन ? राजनीति र नेपाली राजनेताले बिर्सेको तथ्य यही हो आज । हामी जनता तपाईं राजनेताको पुच्छर निमोठ्दै मात्रै छैनौँ तपाईंका पाइलापाइलामा साथ र भए गरिएका कार्यको समीक्षामा अनवरत छौँ । तपाईं त्रुटिपूर्ण खेलमा हुनुहुन्छ प्रजातान्त्रिक व्यवस्थाको जग चुनावी प्रक्रियामा नै । चुनाव आयो, खोजीखोजी धनवीरेहरूलाई टिकट बिक्री गर्नुभयो । जनताले जानीनजानी बहुमत दिए त्यो तपाईंको देखाउने दाँतसँग रूप त मिल्योतानि खाने दाँतसँग मिलेन । र त अल्पमतको व्यवसायको खोजीमा सरकार प्रमुखहरू नै निदाउन छोड्नुभयो । कारण एउटा मात्र थियो चुनावमा टिकट किन्ने क्रेताले लगानी त गर्यो बिक्रीको बजार बहुमतले बन्द गरेपछि तपाईं विक्रेताको कठालो समातिए होइन र ? अब तपाईं बजार व्यवस्थापनतर्फ लाग्नुभयो । सरकार ढालेर अल्पमत र बहुमतको खेल, पार्टी फुटाएर सांसदका टाउका खरिदबिक्री वास्तविकता यही होइन र ? तीन वर्ष किनबेचको बोहनीसम्म हुन नपाएको संसदीय व्यापार अहिले चम्काउनुभएकोमा जनता त के बोल्नु विदेशी पनि खुलेआम बधाई भन्न सर्माइरहेका छन् नै ।
समस्या काँधभरी बोकेर सधैँ देश निदाउन सक्दैन । विगतमा जे थियोे वर्तमानमा हुबहु छ र भविष्य त्यसैसँग सती लैजाने तारतम्मे मिलाउँदै हुनुहुन्छ आदरणीय नेतृत्व । यो क्षम्य पक्ष होइन । समयको बर्बादीका साथमा नेपाल आमाले ठूलो धनजनको मूल्य चुक्ता गरिन् तर उहीँ अजिङ्गरको काँचुली मात्र फेरिएका कारण जनजीविकामा कुनै फेरबदल नआएको हो । सधैँ सबैलाई नचपाई निल्ने दाउका अजिङ्गरहरूले सिनो खान राजी हुनुपर्छ र परिवर्तनका संवाहक नागराजहरूले आफ्नो ममताको फनाले देश र जनतालाई संरक्षण दिन बिलम्ब नगरौँ । सबै सम्बन्धित पक्षको चेतना भया ।
राजनेताले देश र जनतासँग जीवनमा एउटा जितका खातिर हजारौँ हार बेहोर्न तयार हुनुपर्छ । त्यही हारको नाम हो निस्वार्थ त्याग । प्रजातन्त्रको खलोमा निरङ्कुशताको दाइँ नहोस् । कम्तीमा यो गन्थनको निचोड नेपाल आमाको काखमा बसेर सुगन्ध छरौँ नसके दुर्गन्ध किन ? सके उन्नति, प्रगति, शान्ति र सुव्यवस्थाले सिँगारेर आमाको मर्ममा मलम लगाऔँ नसके मातृभूमिलाई चिथोरेर घायल नपारौँ किनकि यो राष्ट्रियता,प्रजातन्त्र र समाजवादको आदर्श विपरीत हुन्छ नै जुन आमाको कोख र काँखमा जन्मियौँ (हुर्कियौँ त्यसप्रतिको कर्तव्य च्युत भएको पनि ठहरिन्छ । बुझेर बुझ पचाउनेहरूको चौरासी जुनी नरक वास होस् र अबोध आत्माहरूमा सदबोधी प्राप्त होस् ।
प्रतिकृया दिनुहोस