दृष्‍टिकोण

दिवङ्गत आफन्तको सम्झना तथा आत्मा शान्तिकाे पर्व ‘गाईजात्रा’

काठमाडाैँ । यसपटकपनि गाईजात्रा काेराेनाकालमा परेकाे छ । गाईजात्रालाई साधारणतयाः बुझ्दा मृतकको सम्झनामा झाँकी, ब्यङ्ग्य, प्रहसन गर्ने दिन भनेर पनि बुझिन्छ । तर यतिमा मात्र गाईजात्रा सीमित भने छैन । पितृको सम्झनामा यो जात्रा मनाउने चलन छ । दिवङ्गत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि गाईजात्रा पर्व मनाउने गरिन्छ।

तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तिन्द्रको अकस्मात् निधन भएपछि शोकाकुल रानीको मन शान्त पार्न ‘हाम्रा युवराज मात्र होइन दुनियाँका सन्तान पनि मरेका हुन्छन्’ भन्ने देखाउन यो जात्रा सुरु गरिएको इतिहासमा उल्लेख छ ।

राजाले वर्ष दिनभित्र आफन्त मरेकाले गाईको झाँकी प्रदर्शन गर्नु भनी उर्दी दिएपछि यो जात्रा मनाउन थालिएको इतिहासमा वर्णित छ । गाईको झाँकीले मात्र रानी खुशी नभएका कारण अन्य तवरले प्रहसन, ब्यङ्ग, जस्ता कियाकलाप गरेपछि खुशी भएको हुँदा सो समयदेखि वर्षेनी हाँसो, मजाक टोल-टोलमा गर्दै गरेको इतिहासमा उल्लेख छ।

सापारु भनेर मनाउने यस पर्व नेवारहरूको मौलिक पर्व हो । दिवङ्गत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि गाईजात्रा पर्व मनाउने गरिन्छ । हिन्दुधर्म अनुसार यस पर्वका बारेमा पद्मपुराणमा उल्लेख छ । यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरूले यमलोक प्रवेश पाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख भएको छ । गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलाई श्रदालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहिआएको छ । यस पर्वका क्रममा प्रहसन, राजनैतिक, सामाजिक विकृति प्रति व्यङग्यात्मक प्रदर्शन नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका कारुण रसका गीतहरू पनि गाईने चलन छ ।

हालका दिनहरूमा गाईजात्राका अवसर पारेर समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरजनात्मक तथा व्यङग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गर्ने र पत्रपत्रिकाहरू, टिभीमा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य  प्रकाशन, प्रसारण गर्ने चलन पनि बढेको पाइन्छ ।

राजनैतिक घोच पेच गर्ने,सामाजिक वस्तुमाथि तीखो प्रहार गर्न हाँस्यकर्मीलाई त गाईजात्रा दशैँ भन्दा कम हुँदैन । ब्यङ्ग्य, प्रहसन गर्न सजिलो माध्यम पनि गाई जात्रा रहने गर्छ, जसलाई सो मनोरञ्जन गर्न छुट भएकाले अझ महत्वका साथ मनाउने गरिन्छ ।

भाद्र कृष्ण प्रतिपदा देखि या जनै पूर्णिमाको भोलिपल्ट देखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ हो ।

शहरमा गाई पाल्नेहरुले भने साँच्चिकै गाईलाई सिंगारेर नगर परिक्रमा गराउने गर्छन् भने केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुखुण्डो, पेरुङ्गाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजा सहित नगर परिक्रमा गर्ने चलन छ । वासा तथा तायमचा जहाँ बँसको डोको, तायमचामा मृतकको तस्बिर बनाएर नगर परिक्रमा गर्दै दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन समेत गर्ने प्रचलन छ ।

काेराेनाले गर्दा भिड गरेर गाईजात्रा मनाउन सक्ने अवस्था नहुँदा भर्चुअल माध्यमबाट, कम भेला भएर मनाउन प्रशासनले अनुराेध गरेकाे छ । यसकारण पर्व मनाउँदा महामारी सम्झँदै मनाउनुकाे विकल्प हामीसँग छैन ।

गाउँ सहर संवाददाता

तपाईँको मत