अर्थतन्त्र

धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारवाही गर्न अर्थ समितिको निर्देशन, कारबार्ही गछौंः अर्थमन्त्री शर्मा

काठमाडाैं । संसदीय समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पदाधिकारीहरूले पदीय आचरणविपरीत सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ। 

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको शुक्रबार सिंहदरबारमा बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदीय आचरणविपरीत सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो। 

सर्वोत्तम सिमेन्टको सेयर बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले परिवारका सदस्यहरूको नाममा खरिद गरेर पदीय आचारणविपरीत काम गरेको भन्दै चर्को आलोचना भइरहेका बेला समितिले तत्काल छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सचेत गराएको हो। 

नियमक निकाय आफैंले पदीय मर्यादाविपरीत सेयर कारोबार गरेकाले तत्काल छानबिन गरी उनीहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए।

उनले भने, ‘नेपाल धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीहरूले भित्री सूचनाका आधारमा गरेको भनिएको सेयर कारोबारको सम्बन्धमा अर्थ मन्त्रालयबाट अध्ययन छानबिन भइरहेको जानकारी माननीय मन्त्रीज्यू र अर्थसचिवज्यूबाट प्राप्त भएको छ। उक्त छानबिन यथाशीघ्र सम्पन्न गरी आवश्यक कारबाही अघि बढाउन र त्यसको जानकारी समितिलाई गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय समितिले गरेको छ।’

बैठकले सेयर बजारको दीगो विकास र स्थायित्व कायम गर्दै यस क्षेत्रको स्वच्छता, पारदर्शीता, सदाचारिता, नैतिकता साथै जिम्मेवार र जवाफदेहिता प्रवर्द्धन गर्न नीतिगत, कानूनी र संरचनागत व्यवस्था गरी समितिलाई जानकारी गराउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

बैठकमा समितिका सदस्यहरूले पूँजी बजारको नियमक निकायलाई स्वच्छ, जवाफदेही, पारदर्शी र विश्वासयोग्य बनाउने गरी कानूनी प्रबन्ध गर्न सरकारसँग माग गरेका थिए। 

समितिकी सदस्य रामकुमारी झाँक्रीले नेपाल धितोपत्र बोर्ड र नेप्से जस्तो पुँजी बजारको नियमक निकायलाई पारदर्शी र जवाफदेही बनाउनेगरी आवश्यक कानूनी व्यवस्था गर्न सरकारसँग माग गरिन्।

उनले बोर्ड र नेप्सेका पदाधिकारीहरूलाई पदमा बहाल रहुँञ्जेल पुँजी बजारमा कारोबार गर्न नपाउने गरी कानूनी व्यवस्था गर्न ढिलाइ गर्न नहुनेमा पनि जोड दिइन्।

समितिका सदस्य एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सेयर बजारबाट अनुचित लाभ लिन नपाउने गरी आवश्यक कानून निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए। उनले सेयर बजारमा सर्वसाधारणको विश्वास आर्जन गर्ने गरी नीतिगत, कानूनी र संरचनागत व्यवस्था गर्न पनि सरकारले ढिलाइ गर्न नहुने बताए।

समितिका सदस्य श्यामकुमार श्रेष्ठले पुँजी बजारभित्र देखिएका बेथितिको अन्त्य गर्न सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने बताए। 

उनले पुँजी बजारमा नियमक निकाय आफैंले कारोबार गर्न पाउन व्यवस्था उचित नभएकोतर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताए।

बैठकमा समितिका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले नियमक निकाय धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीहरूले पदीय मर्यादाविपरीत काम गरेकोमा सरकारको ध्यान गएको स्पष्ट पार्दै उनीहरूमाथि आवश्यक कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

उनले बोर्ड र नेप्सेका पदाधिकारीहरूले अनुचित ढंगले परिवारका सदस्यको समेत सेयर खरिद गरेको समाचार आएको उल्लेख गर्दै त्यसको सत्यतथ्य पत्ता लगाउन मन्त्रालयले छानबिनको कामलाई अन्तिम चरणका पुर्‍याएको पनि समितिलाई जानकारी दिए।

अर्थमन्त्री शर्माले सर्वोत्तम शेयर खरीद प्रकरणमा मन्त्रीस्तरीय निर्णयबाट छानबिन कमिटी गठन भई प्रकृया अगाडि बढेको बताउँदै छानबिन समितिले दिने निष्कर्षका आधारमा कारवार्ही अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् । 

बोर्डको संस्थागत जवाफपछि मन्त्रालयले बजारलाई सहि नियमन गर्न, जनतालाई वास्तविक कुरा जानकारी गराउने उदेश्यले मन्त्रालयका सचिव मघु मरासिनी र अर्थको वित्त महाशाखा प्रमुख समेत संलग्न रहेको दीर्घराज मैनाली सहित पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

अर्थमन्त्री शर्माले सर्वसाधारणको विश्वास जित्ने गरी सेयर बजारलाई अघि बढाउन आफू प्रतिवद्ध रहेको पनि बताए।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले पदीय मर्यादाविपरीत आफ्ना परिवारका सदस्यलाई सर्वोत्तम सिमेन्टको सेयर खरिद गराएको समाचार विभिन्न समाचार माध्याममा आएपछि अर्थ समितिले सो सम्बन्धमा सरोकारवाला निकायसँगको छलफललाई अघि बढाएको थियो। 

अर्थमन्त्री शर्माले नियमक निकायबाटै सेयर बजारमा विकृति भित्र्याउने काम गरेको सुनिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले मन्त्रीस्तरीय निर्णय गरेर छानबिनका लागि ५ सदस्यीय समिति समेत बनाएको समितिको बैठकमा जानकारी दिएका थिए।

मन्त्री शर्माले अर्थ मन्त्रालयले सधै लगानीकर्ताको हितमा काम गर्ने बताए । अनियमितताको विषयमा यो भयो भन्नु भन्दा पनि छानविनपछि आम लगानीकर्ताको हीतमा मन्त्रालयले कदम चाल्ने उनले भनाई थियो ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत