लघुकथा : शौभाग्य
- डा. रेणुका साेलु
- ५ श्रावण मंगलबार, २०७८ | ०७:०८:०० मा प्रकाशित

लगभग अपरान्हको चार बजेतिर मीना आफ्नो दैनिकी घरधन्दा गर्न साहुजीको घरमा पुगि । गेटमै राखेको सेनिटाइजर हातमा दल्दै चारतला माथि भान्साकोठामा पुगेर खुईया गर्दै थुचुक्कै बसि । "लौन नि आज सोमबार व्रत बसेको दिन, कस्तो लामो खुईया गरेको" साहुनी रिसाउनथाली । बिहानदेखि थुपारेर राखिदिएका जुठाभाँडा माझ्ने सहास नै हराएजस्तो भयो मीनालाई अनि कुर्ता सुरुवालसँग लगाएको सल झिकेर कम्मरमा बाँधेर धन्दा गर्न थाली ।
भान्साकोठा सफा गर्नेक्रममा थुप्रै खानाका परिकार पन्छाउँदै, थुक निल्दै गरि । पाएदेखि ती सबै परिकार एकै गाँसमा खान्थेँ जस्तो भोक थियो मीनासँग टाँसिएर बसेको । लामो समय कोरोना कहरले उसको काम खोसिएको थियो, त्यसैले अघाउँजी खान नपाएको महिनौँ भइसकेको थियो । भोकको चक्कर थेग्न टाउको र कम्मर कसेर बल्लबल्ल घरधन्दा सकि । "मीना यी तेरो सोमबारको भाग शौभाग्य, आफैँ लाउनु है, मेरा नन्दआमाजु दिदीबहिनीसरह तँलाई नि ल्याइदिएकी छु । यो एकदम महङ्गो खाले हो नि, राम्रो क्वालिटिको छ, पछिसम्म रङ्ग जाँदैन रे पसले साहुजीले भनेको । आफैँ लाउनु है, कसैलाई नदिनु यस्तो राम्रो कुरा । ला त कस्तो सुहाउँछ तँलाई, कसले दियो भनेर कसैले सोधे भने मेरो नाम लिनु ।"
साहुनीले थमाइदिएका हरिया पहेँला चुरा, मेहन्दिको पाकेट अनि पोतेको माला एकहातले समातेर अर्को हातले पेटको लाम्टा मुसारिरहेकी थिइ मीना । "यो शौभाग्य भन्दा त त्यो चुलोमा छोपेर राखेका खानेकुरा दिनु नि मलाई, नत्र अलिकती चामल दिए पनि त कोठामा केटाकेटीसँग तातो जाउलो बनाएर खानुहुन्थ्यो । कोठामा एक गेडो अन्न छैन, कोठाभाडा नतिरे कोठाबाट नै निकालिदिने भनेका छन घरपट्टिले, यो शौभाग्य न खान मिल्छ न भाडा तिर्न मिल्छ । के काम यो मलाई ?" मीना मनमनै यस्तै सोचिरहन्छे । मुखै फोरेर भन्न पनि सक्दिन । साहुनीले हातभरी हरियो, रातो, पहेँलो चुरा लगाइदिई, गलामा रङ्गिन पोते, निधारमा टीका लगाइदिएर भन्न थाली "लु हेर त कस्तो राम्रो खुल्यो तँलाई, आईमाईलाई शौभाग्यले सुहाउँछ क्या, लु खुसी भएर जा आज ।"
साहुनीका मिठा कुरा र महङ्गा शौभाग्य लिएर नमिठो भोक र गरिबीको शोक सुम्सुम्याउँदै तल झरी । गेट बाहिर निस्किएर ती हातका चुरा, गलाको पोते, निधारको टीका सबै फुकाली र बट्टाभित्र हालेर बेच्न निस्किई । साहुनीले यी शौभाग्य निकै महङ्गो भन्नुभएको छ, बेचेर त्यसको पैसाले चामल किनेर ल्याउँछु र पेटभरी भात खान दिन्छु केटाकेटीलाई अनि म पनि अघाउँजी खान्छु भन्दै हिँडेकी ऊ आधारातसम्म पनि कोठामा फर्किएकी छैन ।
प्राप्त प्रतिक्रिया
Love it
मर्मबोधी कथा ।
भोक र सौभाग्य ????
मार्मिक !!कति मीठो लेखन शैली!वाह दिज्यू!!
सुन्दर कथा ।
हृदयविदारक छोटो कथा दिदी। कैयौं दिनदेखि आधा पेट संघर्ष गरिरहेकी मीना अनि उनको सामुन्ने सुवास फालीरहेका ती ८४ परिकार...मीनाको अनुहारका निरीह धर्सा र मनमनै बगेको आँसुको गंगा सपष्ट देखियो कथामा। भोकले न सजावट खोज्छ न सौभाग्य रोज्छ। आफ्ना र गुँडमा आँ गरेर बसिरहेका बचेराका निम्ति चारो जोहो गर्न उपहार पाएका सरदम लिएर निस्केकी मीना कति बेला फर्किन् होला, ती चुरा पोते बिके बिकेनन् होला, बिके पनि सबैलाई पुग्ने खानेकुरा किन्न सक्ने रकम पाई पाईनन् होला...कथा पढि सकेर पनि यी कुराले मन बिथोली रह्यो। लाखौं मनका कथा अनि जीवनका व्यथा कोर्दिनु भयो। उतकृष्ट सृजना Renuka दिदी।
Heart touching
प्रतिकृया दिनुहोस