आज साउनको पहिलो सोमबार पशुपतिनाथलगायत देवालयमा दर्शनार्थीको भिड
- गाउँ सहर संवाददाता
- ७ श्रावण सोमबार, २०८१ | ०७:४०:०० मा प्रकाशित

काठमाडौं । सौरमासअनुसार पहिलो साउने सोमबारको व्रत आजबाट सुरु भएको छ ।
साउन ७ गते सोमबार सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमबार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताउँछन् ।
साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।
नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा रहेको समितिको पूर्वअध्यक्षसमेत रहेका धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबारका दिनमा भक्तजनको भीड लाग्छ । पशुपति क्षेत्रमा साउने सोमबारका लागि सबै तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
साउनको सोमबार पशुपतिनाथमा आउने भक्तजनका लागि तीन वटा लामको व्यवस्था गरिएको छ । उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलस्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको जानकारी पनि उनले दिए । पशुपतिनाका चारै ढोका सोमबार बिहान साढे तीन बजेदेखि नै भक्तजनका लागि खुला गरिएको छ ।
साउनको सोमबार पशुपति क्षेत्रमा ११ संस्थाका स्वयंसेवक खटाइएको छ । विभिन्न संस्थाले स्वास्थ्य शिविर, निःशुल्क भोजन, खोजखबरको कक्ष पनि सञ्चालन गर्न लागेका छन् । साउनको सोमबार पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । साउनको शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ ।
साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोल बम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ । बोल बम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजन पनि साउनमा लाखौँ हुने गरेका छन् ।
साउन महिनाको सोमबारका दिनमा पशुपतिनाथसँगै काठमाडौँ उपत्यकाका साथै देशभरका शिवालयमा आशुतोष भगवान शिवको पूजा, आराधना गर्न भक्तजनको भीड लाग्ने गर्छ । साउनको पहिलो सोमबारदेखि अन्तिम सोमबारसम्म व्रत गरेका भक्तजनले अन्तिम दिनमा गोदान एवं पूर्णपात्रदान गरी व्रत समापन गर्ने विधि छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
प्रतिकृया दिनुहोस