दिगोविकास

क्रियाशील सदस्यहरूकाे विवरणमा भएकाे त्रुटि सच्याउन, उजुरी र अपडेट गर्न कांग्रेसकाे सूचना

काठमाडाैं । नेपाली कांग्रेसले क्रियाशील सदस्यकाे नामावलीमा कुनै गुनासाे, त्रुटि र उजुरी भएमा केन्द्रीय क्रियाशिल सदस्यता छानबिन समितिकाे नाममा इमेल, लिखित र फाेनबाट जानकारी गराउन अनुराेध गरेकाे छ ।  

नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत थप १६ जिल्लाका २१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता नवीकरण र नयाँतर्फको प्रस्तावित नामावली पनि सार्वजनिक गरेको छ ।

कांग्रेसले विधानको प्रक्रियानुसार विवादरहित रूपमा पार्टीका जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले पार्टीको सफ्टवेयरमा ‘इन्ट्री’ गरिएका क्रियाशील सदस्यतासम्बन्धी विवरण आज पार्टीको वेबसाइट www.nepalicongress.org मार्फत सार्वजनिक गरिएको हो ।

यसअघि गत वैशाखमा ४५ जिल्लाका ८० प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये केहीको नवीकरण र नयाँ दुवै तथा केही स्थानको नवीकरण मात्रको प्रस्तावित विवरण सार्वजनिक गरिएको पार्टी केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।

सार्वजनिक गरिएका नामावलीमाथि कुनै उजुरी वा गुनासा भएमा केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको इमेल ठेगानामार्फत सम्बन्धित पार्टी निकाय वा व्यक्तिले यही जेठ २२ गतेभित्र लिखित गुनासो पठाउन सक्ने उनले बताए ।

सार्वजनिक गरिएका प्रस्तावित नामावलीमाथि परेका उजुरी र गुनासाका सम्बन्धमा समितिले गरेको निर्णयानुसार प्रस्तावित नामावलीको अन्तिम सूची कायम हुने समितिले जनाएको छ।

साथै, कम्प्युटर इन्ट्री भएका बाँकी जिल्ला र क्षेत्रको प्रस्तावित नामावली पनि क्रमशः सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।

क्रियाशील सदस्यतासम्बन्धी प्रक्रिया पुर्‍याई सफ्टवेयरमा नामावली इन्ट्री गर्दागर्दै इन्ट्री गर्न छुट भएकाले थप समय उपलब्ध गराइपाऊँ भनी समितिमा अनुरोध गर्ने केही जिल्ला र क्षेत्रीय समितिलाई यही जेठ २५ गतेसम्मको थप समय दिइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत