गाउँ सहर

जारी निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइँदैन ? नियम पालना नगर्नेले कस्ताे सजाय भाेग्नुपर्छ ?

काठमाडाैँ । काठमाडाैँ, ललितपुर, भक्तपुर र पर्सा जिल्ला प्रशासन कार्यालयहरूले वैशाख १६ गते बिहानबाट वैशाख २२ गते राति १२ बजेसम्म कायम रहनेगरी निषेधाज्ञा जारी गरेका छन् । बाँके जिल्ला प्रशासनले वैशाख १२ गतेदेखि र कास्की जिल्ला प्रशासनले वैशाख १५ गतेबाट जिल्लाभरि निषेधाज्ञा लागु गरिसकेका छन् । १४ प्रभावित स्थानहरूमा निषेधाज्ञा जारी हुनसक्ने र जाेखिम हेरेर थपघट हुने स्थानीय प्रशासनहरूले बताइरहेका छन् । यसै सन्दर्भमा निषेधाज्ञामा के गर्न पाइने र के नपाइने ? बुझ्नु जरूरी छ ।

के गर्न पाइन्छ ?

  • व्रतबन्ध तथा विवाह आयोजनाका लागि १५ जनासम्म सहभागी (दुलहा र दुलही पक्षसहित) ले ब्यानरसहित दुई वटासम्म सवारीसाधन प्रयोग गरी जिल्लाभित्र वा अन्तरजिल्ला आवतजावत गर्न (पार्टी प्यालेस प्रयोग गर्ने भए अनुमति लिनुपर्ने) ।

  • चालकसहित बढीमा सात जनासम्मका लागि स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासन कार्यालयबाट अनुमति पास लिएर विवाह अथवा व्रतबन्धमा सहभागी भई अन्य जिल्लाबाट फर्कन ।

  • अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा बढीमा दुई कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका सवारीसाधन सञ्चालन गर्न ।

  • एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, कुरिअर एवम् डाँक सेवा, ब्याङ्क, वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, क्वारन्टीन, आइसोलशन, फोहोरमैला व्यवस्थापनलगायत ढुवानी तथा यातायतका साधनमा विषय उल्लेख गरी सञ्चालन गर्न ।

  • सरकारी कार्यालयलगायत सार्वजनिक सेवा प्रदायक संस्थाले सम्बन्धि मन्त्रालय वा विभागबाट जारी पास लिएर सवारीसाधन प्रयोग गर्न ।

  • विकास निर्माणमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सबन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारीद्वारा जारी हुने पास लिएर सञ्चालन गर्न ।

  • अस्पताल आउने-जाने बिरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य रूपमा सहभागी हुनुपर्ने अवस्थाका लागि प्रमुख जिल्ला अधिकारीद्वारा जारी हुने पास लिएर सवारी सञ्चालन गर्न ।

  • खाद्य सामग्रीका पसल, व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म ।

  • डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म ।

  • ब्याङ्क तथा वित्तीय संस्था, बिमा एवम्‌ राष्ट्र ब्याङ्कबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारीसाधन सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न ।

  • सूचना विभागले जारी गरेको प्रेस पासका आधारमा सूचना सङ्कलन तथा सम्प्रेषणका लागि आवतजावत गर्न ।

के गर्न पाइँदैन ?

  • सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनाटर, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जन स्थल, सैलुन, ब्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना सञ्चालन गर्न ।

  • अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारीसाधन चलाउन ।

  • अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा सञ्चालन ।

  • खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल, व्यवसायबाहेक अन्य पसल, व्यवसाय सञ्चालन ।

नियमकाे उल्लङ्घन गरे के सजाय हुन्छ ?

जिल्ला प्रशासन कार्यालयहरूले सङ्क्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ द्वारा प्राप्त अधिकारको प्रयोग गरी निषेधाज्ञासम्बन्धी आदेश जारी गरेका छन् ।

सङ्क्रामक रोग ऐन, २०२० अनुसार - उक्त ऐनअन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्छ । उक्त ऐनअन्तर्गत अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा ६०० रुपैयाँ जरिवाना अथवा दुवै सजाय हुनसक्छ ।

स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद अथवा दुवै सजाय गर्न सक्नेछन् ।

सजाय जस्ताे भएपनि राेगबाट जाेगिनु र जाेगाउनु पहिलाे कार्य हाे । बचेर बसाैँ, नियमकाे उल्लंघन नगराैँ ।

गाउँ सहर संवाददाता