अर्थतन्त्र

घट्याे सहकारी संस्थाकाे संख्या, मुलुकभर ८८ हजार जनालाई प्रत्यक्ष रोजगारी

काठमाडौं । सहकारी विभागले सातै प्रदेशमा रहेका सहकारी संस्थाहरुको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ ।

विभागले २०७७ साउनदेखि कार्तिक सम्म प्रदेश तथा स्थानीय तहहरुसँगको सहकार्यमा गरेको अध्ययनअनुसार हाल मुलुकमा २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्थाहरु छन् ।

जसमध्ये संघीय सरकारमा एक सय २५, प्रदेश सरकार अन्तर्गत ६ हजार २ सय र स्थानीय सरकार अन्तर्गत २३ हजार ७ सय ५९ वटा सहकारी संस्था रहेका छन् ।

यसअघि प्रकाशित विवरणअनुसार मुलुकभरी ३४ हजार ८ सय ३७ सहकारी संस्थाहरु रहेका थिए । कतिपय सहकारी एकीकरण भएका, कतिपय निष्क्रिय रहेका देखिएकाले सहकारी संस्थाहरुको यो तथ्यांक कायम भएको विभागद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

सञ्चालनमा रहेका सहकारी संस्थाहरुले चार खर्ब ७७ अर्ब ९६ करोड ११ लाख ४६ हजार ४७३ रुपैयाँ बचत संकलन गरेर ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख ११ हजार ३ सय ८१ रुपैयाँ ऋण लगानी गरेकाे बोर्डले जनाएको छ । देशभर रहेका सहकारीहरुको सेयर पुँजी ९४ अर्ब १० करोड ५० लाख १५ हजार ८ सय ३ रुपैयाँ रहेको र मुलुकभर ८८ हजार ३ सय ९ जनालाई प्रत्यक्ष रोजगारी प्रदान दिएको सहकारी बोर्डको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।  

मुलुक संघीयतामा गइसकेपछि विभागले पहिलो पटक यो तथ्यांक सार्वजनिक गरेको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत