कला

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारको नतिजा प्रकाशन

काठमाडाैँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले सर्वोत्कृष्ट पुस्तक पुरस्कार र सर्जककाे नाम सार्वजनिक गरेकाे छ ।

सर्वोत्कृष्ट पुस्तक २०१९ बाट पुरस्कृत भएका पुस्तकहरूको घोषणा गर्न पाउँदा, अनेसास बोर्ड अफ ट्रस्टिज पुरस्कार समितिले गौरव व्यक्त गरेकाे छ ।

पुरस्कार घोषणाहुने वर्षको अघिल्लो वर्ष डिसेम्बर ३१ सम्म दुई वर्षका अवधिमा प्रकाशित भएका पुस्तकहरूमध्ये पुरस्कार समितिको सार्वजनिक सूचनामा उल्लेखित प्रक्रियाभित्र रही यस वर्ष नेपाल र अमेरिकामा गरी कूल १३६ पुस्तकदर्ता भएका थिए ।  

विभिन्न कारणले १४ पुस्तकहरू मूल्याङ्कनको मापदण्डमा परेनन् । पुरस्कार समितिबाट गठित गोप्य मूल्याङ्कन समितिले मूल्याङ्कन गरी विधागत रुपमा उत्कृष्ट घोषणा गरेका पुस्तकहरूलाई पुरस्कृत गर्ने अनेसास बिओटीको परम्पराअनुसार यस वर्ष पनि पुरस्कृत पुस्तकहरूको घोषणा भएको हो । 

सर्वाेत्कृष्ट पुस्तकहरूको नतिजा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा जुलाईमा प्रकाशन गर्ने र उत्कृष्ट पुस्तकका स्रष्टाहरूलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसरमा अनेसासको केन्द्रीय कार्यालय वासिङटन डी सी मा पुरस्कृत गर्ने विगतदेखिको परम्परा यस वर्ष पनि कायम गरिएको छ ।

विगतमा नेपालका विभिन्न अञ्चलबाट प्रतिनिधित्व गर्ने स्रष्टाहरूलाई उर्जाशील बनाउने अभिप्रायले विभिन्न अञ्चलको प्रतिनिधित्व हुने गरी पुरस्कार स्थापना गरिएका थिए । यस वर्षदेखि पुरस्कार समितिले नेपालको भूगोल संघीय प्रणलीमा समाहित भएको कारणले ती पुरस्कारहरूलाई विधागत पुरस्कारका रुपमा रुपान्तरण गरिएको जानकारी गराएका छन् ।

यस वर्षदेखि अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारको राशी १५०० अमेरिकी डलरलाई बढाएर २००० डलर बनाउनुका साथै विभिन्न नौ विधामा आकर्षक नगद पुरस्कार प्रदान गरी भविष्यमा नेपाली भाषाका साधकहरूलाई बढी उर्जाशील एवं सिर्जनशील बनाउने अपेक्षा पुरस्कार समितिले राखेको छ । 

नेपाली भाषा साहित्य र समालोचनाका क्षेत्रमा विज्ञता हासिल गर्नुभएका छ जना विद्वानहरूको मूल्याङ्कनबाट प्राप्तअङ्कको औषतबाट उत्कृष्ट भएका आधारमा यस वर्षका लागि अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार प्राप्त गर्ने पुस्तकहरू र सर्जकहरूको सूचीयस प्रकार रहेको छः-

  1. अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारः रोबोटकाआँखाहरू (कथासङ्ग्रह) –कथाकार नरेन्द्रराजपौडेल
  2. अनेसास सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कारः छाप्रो नं. ५५ (उपन्यास) –उपन्यासकार रमेश दियाली
  3. अनेसास सर्वोत्कृष्ट कविता/काव्य पुरस्कारः मेरो मान्छे (कवितासङ्ग्रह) –कवयित्रीकुन्ताशर्मा 
  4. अनेसास सर्वोत्कृष्ट कथा पुरस्कारः  पृथकबाटो (लघुकथासङ्ग्रह) –कथाकार युवराज मैनाली
  5. अनेसास सर्वोत्कृष्ट उपन्यास पुरस्कारः  पाठशाला (उपन्यास) –उपन्यासकार तीर्थ गुरु
  6. अनेसास सर्वोत्कृष्ट निबन्ध/नियात्रा/संस्मरण पुरस्कारः  यात्राको छहारीमाहिउँफूलकी रानी(संस्मरणनिबन्ध) –निबन्धकार घनश्याम राजकर्णिकार
  7. अनेसास सर्वोत्कृष्ट गीत/गजल/हाइकू/मुक्तक पुरस्कारः आँगन (गजलसङ्ग्रह) -नमिता बराल
  8. अनेसास सर्वोत्कृष्ट संस्कृति/दर्शन/समालोचना पुरस्कारः  मस्टो संस्कृति (संस्कृति/अनुसन्धान) लेखक तेजबहादुर कार्की
  9. अनेसास सर्वोत्कृष्ट बालसाहित्य पुरस्कारः यसका लागि चारवटा पुस्तक प्राप्त भएकामा कुनै पनि पुस्तकलाई पुरस्कार गर्नका लागि पुस्तकहरूको स्तरीयता नभएको भनी मूल्याङ्कन समितिको सिफारिश आएकाले यस वर्ष यस विधामा दिइने पुरस्कार स्थगित गरिएको छ ।

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारको राशी विगतमा १५०० अमेरिकी डलर रहेकामा यसै वर्षदेखि २००० डलर बनाइएको छ । यो पुरस्कारद्वारा सम्मानित स्रष्टाले मताधिकारसहितको अनेसासको आजीवन सदस्यता प्राप्त गर्नेछन् । यसै गरी अनेसास सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कारको राशी यस वर्षदेखि ११०० अमेरिकीडलर कायम भएको छ । कविता, कथा उपन्यास र निबन्धविधाका प्रत्येक सर्वोत्कृष्ट कृतिकालागि १००० अमेरिकीडलर पुरस्कार राशी रहेको छ । गीत, गजल, हाइकू र मुक्तक बिधामा उत्कृष्ट भएको एक पुस्तकका स्रष्टालाई ५०० डलरको पुरस्कार प्रदान गरिनेछ । संस्कृति,दर्शन र समालोचनामध्येको एउटा पुस्तकका स्रष्टा ५०० डलरको पुरस्कारबाट सम्मानित हुनेछन् । बाल लेखकहरूबाट लेखिएका विभिन्न विधाका पुस्तकहरूमध्ये उत्कृष्ट पुस्तकलाई ५०० डलरको बालसाहित्य पुरस्कार प्रदान गरिनेछ ।

अनेसासका उल्लिखित पुरस्कारबाट यस वर्ष पुरस्कृत हुनुहुने नेपाल र प्रवासका सबै विधाका पुरस्कृत स्रष्टाहरूलाई अनेसास बोर्ड अफ ट्रस्टिज पुरस्कार समितिले बधाई ज्ञापन गरेकाे छ र भानुजयन्तीको महिना अर्थात जुलाईमा पुरस्कारको घोषणा गर्नका निमित्त पूर्वनिर्धारित समयभित्रै सबै ६ जना मूल्याङ्कनकर्ता विशेषज्ञहरूले नतिजा उपलब्ध गराउनुभएका कारण नतिजा प्रकाशनको यो कार्य सम्भव भएको उसले बताएकाे छ ।

सबै मूल्याङ्गनकर्ताहरुले कुशलतापूर्वक जिम्मेवारी वहनगर्दै अहोरात्र खटेर यो नतिजा समयमा सार्वजनिक गर्नमा सहयोग गर्नुहुनेमा अाभार व्यक्त गरेकाे छ । यस कार्यका लागि पुस्तक दर्तादेखिका सबै सूचना सम्प्रेषण गरिदिएकामा सञ्चारजगत र पुस्तकहरूको सङ्कलनमा अहम् भूमिका निर्वाह गर्नुहुने अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली तथा अनेसास नेपाल शाखाप्रति पनि पुरस्कार समिति हार्दिक आभार प्रकट गरेकाे छ । 

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण महाकवि देवकोटाको जन्म जयन्तीका अवसरमा विशेष समारोहकाबीच वासिङटन डीसीमा वितरणहुने र त्यसको कार्यक्रम अनेसास बिओटी पुरस्कार समितिले निकट भविष्यमा सार्वजनिक गर्ने जानकारी दिइएकाे छ ।  
 

गाउँ सहर संवाददाता

तपाईँको मत