गाउँ सहर

“नेपाल प्रहरीलाई निर्मला हत्याको दोषीलाई सार्वजनिक गर्न हतार छ”

गम्भिरताका साथ अनुसन्धान

काठमाडौँ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्याबारे प्रहरीले इमान्दारपूर्वक अनुसन्धान गरिरहेको बताएका छन् । 

घटनाले चारैतिर अनुसन्धानमा हेलचेक्राइँ र गैरजिम्मेवारी प्रहरी प्रशासन भनिरहेकाे समयमा प्रवक्ता सुवेदीले पन्त हत्याबारे प्रहरीले इमान्दारपूर्वक अनुसन्धान गरिरहेको बताएका हुन् ।

रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा सुवेदीले पन्तको हत्याको अनुसन्धानमा प्रहरीलाई कुनै दबाब नआएकाले चाँडै दोषी पत्ता लाग्ने विश्वास व्यक्त गरे । उनले भने, “नेपाल प्रहरीलाई निर्मला हत्याको दोषीलाई सार्वजनिक गर्न हतार छ ।”

साक्षात्कारमा उनले  प्रहरीले बलात्कारका घटनामा ९७ प्रतिशतसम्म सफल अनुसन्धान गरिसकेको बताएका थिए । 

कञ्चनपुर उल्टीखामकी १३ वर्षिया बालिका निर्मला पन्तले ज्यान गुमाएको आज ५ महिना २८ दिन पुगेको छ तरपनि अभियुक्तकाे पहिचान हुन सकेकाे छैन । 

पछिल्लो प्रतिवेदनबाट अनुसन्धानमा चरम लापरवाही गरेको निष्कर्श आएको थियाे । यही लापरबाहीका कारण करिब तीन दर्जन प्रहरीमाथि कारबाहीका लागि सिफारिस पनि भएको छ । तर, उनका लागि न्याय माग्नेकाे अवस्था दिनकै पेचिलाे बन्दै गएकाे छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १८, निम्बुखेडास्थित उखुबारीमा साउन १० गते निर्मलाको शव फेला परेको थियो ।

प्रवक्ता सुवेदीले रामबहादुर बम्जनको आश्रमबाट पाँच जना बेपत्ता भएको घटनाबारे प्रहरीले उच्च प्राथमिकताका साथ अनुसन्धान गरिरहेको बताउन भ्याए । लगातारकाे ३३ किलो सुन प्रकरणपछि अवैध सुन समात्ने क्रम बढेको जानकारी पनि उनले दिएका थिए । 

गाउँ सहर संवाददाता

तपाईँको मत