अर्थतन्त्र

बैंकहरु व्याज वृद्धिको प्रतिश्पर्धामा, ग्राहक दोधारमा 

बुधबारबाटै होडबाजी

काठमाडौँ । मंगलबारको बैंकर्स एशोसिएसनको बैठकले व्यक्तिगत मुद्यती निक्षेपमा लगाउँदै आएको व्याज दरको प्रतिशतको सीमा खोलेसँगै वाणिज्य बैंकहरुमा प्रतिश्पर्धा छाएको छ । 

विभिन्न बैंकहरुले सिसिडी रेसियोमा समस्या परेको भन्दै व्याजदरको सीमा हटाउन संघमा लामो समयबाट दवाव दिँदै आएका थिए । बैंकहरुको दवावपछि संघले व्यक्तिगत मुद्दतीमा कायम राखेको साढे १० प्रतिशतको सीमा मंगलबारदेखि हटाएको थियो ।

निर्णयसँगै सर्वप्रथम जनता बैंक लिमिटेडले १२ प्रतिशतको अफर बजारमा फाल्यो । तर २ दिनको बीचमा अधिकांश बैंकहरुले व्याजदरमा प्रतिश्पर्धामा उत्रिएका छन् । अहिले धेरै व्याज दिनेमा होडबाजी नै जस्तो देखिएको छ ।

नेपाल बैंकर्स एसोसिएसनले व्यक्तिगत मुद्दतीमा लगाएको अधिकतम व्याजदरको सीमा हटाएसँगै निक्षेप तान्नका लागि बैंकहरु धेरै व्याजदरको प्रतिस्पर्धामा उत्रिएका हुन् । दैनिक यसरी बैंकहरुमा आएको प्रतिश्पर्धाले भने ग्राहकहरुलाई दोधार सिर्जना गरेको छ । यतापनि अफर, उतापनि अफर बीचमा परेका ग्राहकलाई निर्णय लिन हम्मेहम्मे परेको देखिन्छ ।

जनता बैंकले बुधबारबाटै व्यक्तिगत मुद्दतीमा १२ प्रतिशत व्याजदर दिने घोषणा गर्यो । लगत्तै माछापुच्छ्रे बैंकले साढे १२ प्रतिशत पुर्याएको छ । यस्तै कुमारी बैंकले सबैलाई पछाडि पार्दै १३ प्रतिशत व्याज दिने दिने घोषणा गरेको छ । तर, यी बैंकहरुले सीमित अवधिका लागि यो योजना ल्याएको बताएका छन् । 

जनताले दिने १२ प्रतिशत व्याजदर पाउनका लागि कम्तीमा १ लाख रुपैयाँ मौज्दात , माछापुच्छ्रेमा यस्तो न्युनतम मौज्दात  ५० हजार रुपैयाँ र  कुमारीले न्युनतम १० हजार मौज्दातमै १३ प्रतिशत दिने घोषणा गरेको छ ।

सीमित केही बैंकले मात्रै व्याजदर बढाउँदा भएको निक्षेप पनि खोसिने डरका कारण अन्य बैंकहरुलाई समेत व्यक्तिगत मुद्दतीमा व्याजदर बढाउन दवाव पुगेको छ । प्राथमिक पुँजी र निक्षेप जोडेर बैंकहरुले दिने कर्जाको हिस्सालाई सिसिडी रेसियो भनिन्छ । यस्तो रेसियो ८० प्रतिशत नाघेमा बैंकिङ्ग कारबाही हुने प्रावधान छ । 

बैंकहरुले बचत तथा संस्थागत निक्षेपमा दिने अधिकतम व्याजदरको सीमा भने यथावत राखिएको छ । अहिले बचतमा अधिकतम ७ तथा संस्थागत मुद्दतीमा ९ प्रतिशत व्याजको सीमा छ । 

असोज मसान्तसम्मको सिसिडी रेसियोअनुसार झण्डै १ दर्जन बैंकहरु थप निक्षेप नजुटाएसम्म ऋण दिन नसक्ने अवस्थामा छन् । जसले गर्दा बैंकहरुलाई महँगो लागतका बाबजुत निक्षेप तान्नुपर्ने बाध्यता परेको हो । 

अहिले अधिकांशत बैंकहरुमा ऋणीको चाङ थामिनसक्नु छ भने निक्षेपकर्ताको खोजी जारी छ । ऋणको सबै प्रक्रिया पुरा गरेरपनि ऋण दिन नसकिरहेको र ऋणीलाई फकाउँदै पठाउँदै गरेका बैंकहरुलाई थोरै राहत दिनसक्ने बैंकर्सहरु बताउँछन् । तर, व्यक्तिगत बाहेक बचत र संस्थागत सवालमा व्याजदरको सीमा यथावत रहँदा ग्राहकको मनमा त्यस्तो आहा.. भन्ने अवस्था नरहेको बानेश्वरका बैंकर एजेन्ट दिलीप पौडेल बताउँछन् ।

यस्तै बालाजुमा सहकारी संस्था चलाईरहेका एक उद्यमी मान बहादुर तामाङ्गले भने, ‘ग्राहक तान्नको लागि सीमा फुकुवा गरेपनि हामीले के बुझ्नु आवश्यक छ भने अब ऋणमा लाग्ने व्याजपनि स्वतः बढ्छ । त्यसैले व्यक्तिगत बचतकर्ताले पनि उफ्रिहाल्ने अवस्था छैन । सेकिने त हाम्रै ढाड हो ।’ उनले थपे, ‘तर यो सीमाको दायरा खुकुलो हुँदा निक्षेपकर्ताको संख्या बैंकहरुले केहीमात्रामा भने बढाउन सक्छन् ।’

याेपनि पढ्नुहाेस्

बैंकहरुले अब चाहेजति व्याज दिन सक्ने

तपाईँको मत