गाउँ सहर

गुरु पद्मसम्भवको मूर्ति उद्घाटनसँगै राप्ने पूजा सुरु, सुनापतिमा पर्यटन महोत्सवको तयारी तीव्र

रामेछाप । रामेछापको सुनापति गाउँपालिका–३, हिलेदेवीस्थित डोग्मे हेल्मो बस्तीमा गुरु पद्मसम्भवको नवनिर्मित मूर्ति उद्घाटनसँगै परम्परागत बौद्ध धार्मिक अनुष्ठान ‘राप्ने’ (प्राणप्रतिष्ठा) पूजा सुरु भएको छ।

भर्खरै निर्माण सम्पन्न भएको गुरु पद्मसम्भवको मूर्तिको प्राणप्रतिष्ठा तथा धार्मिक विधिअनुसार पूजा सञ्चालनका लागि उर्गेन छ्योलिङ पाङ गुम्बा व्यवस्थापन समितिको आयोजनामा अनुष्ठान सुरु गरिएको हो। गुरु खेन रिम्पोर्चे निमा दोर्जे लामाले विधिवत् पूजापाठ सुरु गर्नुभएको छ।

उर्गेन छ्योलिङ पाङ गुम्बा व्यवस्थापन समितिका पूर्वअध्यक्ष कुङ्गे लामाका अनुसार सुनापति डाँडामा रहेका १०८ लहरे मानेको विशेष पूजा तथा औपचारिक उद्घाटन समारोहको पूर्वसन्ध्यामा राप्ने पूजा सुरु गरिएको हो। लामा गुरुहरूबाट परम्परागत बौद्ध विधिअनुसार गरिने यस पूजाले धार्मिक आस्था, पितृप्रतिको सम्मान र बौद्ध संस्कृतिको संरक्षणलाई थप बल पुर्‍याउने उहाँले बताउनुभयो।

सुनापतिमा पर्यटन महोत्सवको तयारी तीव्र

यसैबीच, सुनापति गाउँपालिकाले ‘सुनापति भ्रमण वर्ष २०८३’ अन्तर्गत आगामी मङ्सिर २५ देखि २७ गतेसम्म तीनदिने पर्यटन महोत्सव आयोजना गर्ने तयारी तीव्र पारेको छ। महोत्सवको मुख्य आकर्षणका रूपमा सुनापति डाँडामा रहेका १०८ लहरे मानेको विशेष पूजा तथा औपचारिक उद्घाटन समारोह आयोजना गरिने कार्यक्रम रहेको छ।

धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण सुनापति डाँडामा गुरु पद्मसम्भवको नवनिर्मित मूर्ति, १०८ लहरे माने र निर्माणाधीन उर्गेन छ्योलिङ पाङ गुम्बाले यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा थप आकर्षण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

महोत्सवमार्फत सुनापतिको मौलिक तामाङ संस्कृति, बौद्ध धार्मिक परम्परा, स्थानीय कला, संस्कार तथा प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्दै आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ। यसबाट स्थानीय पर्यटन व्यवसायको विकास, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत