गगन थापाको सरकारलाई चुनौती : ‘पक्राउ गर्न आउँदा हतकडी लिएर आउनुहोला’
- गाउँ सहर संवाददाता
- ८ मङ्सिर मंगलबार, २०८३ | १७:४१:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई पक्राउ गर्न आउँदा हतकडी लिएर आउन सरकारलाई चुनौती दिएका छन् । आफूविरुद्ध हुने अनुसन्धानमा सहयोग गर्ने बताउँदै उनले कानुनानुसार अनुसन्धान र कारबाही गर्न सरकारलाई आग्रह गरेका हुन् ।
मंगलबार (मंसिर ८) पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा उनले कांग्रेसले कुनै पनि अनुसन्धानमा अवरोध नगर्ने स्पष्ट पारे । आफू वा अरू जोसुकैविरुद्ध हुने अनुसन्धानमा पार्टीले अवरोध नगर्ने उनको भनाइ छ ।
तर, राज्यका संयन्त्रलाई सत्ताको अनुकूलतामा प्रयोग नगर्न उनले सरकारलाई चेतावनी दिए । राज्यका निकाय सत्य र न्यायका पक्षमा उभिनुपर्ने उनले बताए ।
“नेपाली कांग्रेस कसैको अनुसन्धानमा अवरोध गर्दैन, मेरो अनुसन्धान होस् वा अरू कसैको,” उनले भने ।
सरकारका गलत कामको विरोध गर्नु आफ्नो राजनीतिक दायित्व भएको उनले उल्लेख गरे । उनले राजाको शासनकालदेखि नै आफूले राज्यका गलत कदमको विरोध गर्दै आएको स्मरण गरे ।
उनले आफू विगतमा पनि धम्की र मुद्दाको सामना गरेर अघि बढेको बताए । राजाको शासनकालमा आफूले एक्लै राजद्रोहको मुद्दा खेपेको र माओवादी द्वन्द्वका क्रममा पनि निकै दुःख पाएको उनको भनाइ थियो ।
कांग्रेस सहभागी केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका गलत कामको समेत आफूले विरोध गरेको उनले सुनाए । थापाले व्यक्तिगत जीवनमै असर पर्ने गरी प्रश्न उठाउने र सामाजिक सञ्जालमार्फत भय सिर्जना गर्ने प्रयास भइरहेको टिप्पणी गरे ।
“व्यक्तिगत जीवनमा समेत प्रश्नका कारण समस्या आएको छ । तर, प्रश्न गर्न सुरु गरेको थिएँ, अडियो आयो । पक्राउ गर्न आउँदा खाली हात नआउनुहोला, हतकडी लिएर आउनुहोला । प्रश्न गर्न छोड्दिनँ, तर्साएर तर्सिने मान्छे होइन,” उनले भने ।
थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीको १५औँ महाधिवेशनपछि हालसम्म पाँचपटक भेट भएको जानकारी पनि दिए । प्रदेश सरकारको समीकरणका विषयमा ओलीसँग भेटघाट हुँदै आएको उनले बताए ।
मधेस प्रदेश सरकारको समीकरणका विषयमा भने ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पुनः छलफल गर्नुपर्ने उनको भनाइ छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेप्से र कारोबार रकम दुवैमा वृद्धि
- चार महिनामा ८ खर्ब बढीको वस्तु आयात, व्यापार घाटा ६ खर्ब ६८ अर्बमाथि
- बढ्यो सेयर बजार, बैंकिङमा आकर्षण
- गुरु पद्मसम्भवको मूर्ति उद्घाटनसँगै राप्ने पूजा सुरु, सुनापतिमा पर्यटन महोत्सवको तयारी तीव्र
- २२औं लेखनाथ महोत्सव पुस २ देखि
- २४ बुँदामा नेपाल-भारत संयुक्त वक्तव्य (पूर्ण पाठसहित)
- यी हुन् नेपाल-भारतबीच भएका ८ समझदारी
- नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग गर्ने मोदीको घोषणा
- एनपीएलका आठ कप्तान : कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर
- भारतमा मोदीद्वारा प्रधानमन्त्री बालेनको स्वागत, समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण
प्रतिकृया दिनुहोस