गाउँ सहर

बाढीपीडितका लागि रिलायन्स एजुकेसन नेटवर्कको आर्थिक सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनाका लागि रिलायन्स एजुकेसन नेटवर्कले ४ लाख ५३ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

‘सहयोगमा ऐक्यबद्धता, रिलायन्सको सहभागिता’ भन्ने मूल नारासहित नेटवर्क परिवारले विपद्मा परेकाहरूप्रति सामाजिक उत्तरदायित्व निर्वाह गर्दै राहत रकम संकलन गरेको हो।

रिलायन्स एजुकेसन नेटवर्कअन्तर्गत सञ्चालित रिलायन्स पब्लिक स्कुल, रिलायन्स इन्टरनेशनल एकेडेमी र रिलायन्स को-एड स्कुलका विद्यार्थी, अभिभावक तथा शिक्षक–कर्मचारीको सामूहिक सक्रियतामा उक्त रकम संकलन गरिएको हो।

नेटवर्कका अध्यक्ष रविन्द्रजङ्ग थापाका अनुसार तीनवटै विद्यालयले प्रति विद्यालय १ लाख ५१ हजार रुपैयाँका दरले जम्मा ४ लाख ५३ हजार रुपैयाँ सहयोग गरेका हुन्। 

संकलित सम्पूर्ण रकम औपचारिक रूपमा PABSON Kathmandu Welfare Fund लाई हस्तान्तरण गरिएको छ। उक्त रकम बाढीबाट प्रभावित विद्यालय तथा विद्यार्थीहरूको हित र पठनपाठनमा सकेसम्म खर्च गरियोस् भन्ने आफ्नो चाहना रहेको अध्यक्ष थापाले बताए।

‘आपत्को कठिन घडीमा मानवीय सेवाभावसहित सहयोग गर्नु नै मानवीय धर्म हो,’ अध्यक्ष थापाले भने, ‘संकलित सहयोग रकम प्रभावित विद्यालय र विद्यार्थीको आवश्यकतामा उपयोग होस् भन्ने हाम्रो चाहना हो।’

यस कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आर्थिक तथा भौतिक सहयोग पुर्‍याउने रिलायन्स परिवार, विद्यार्थी, अभिभावक तथा शिक्षक–कर्मचारीप्रति नेटवर्कले धन्यवाद तथा आभार व्यक्त गरेको छ।

रिलायन्स इन्टरनेशनल एकेडेमीका भाइस प्रिन्सिपल श्रीधरप्रसाद पौडेलले विद्यालयका बालबालिकाहरूले स्वेच्छिक रूपमा आफ्नो खाजा खर्च तथा अभिभावकबाट सहयोग रकम संकलन गरी बाढीपीडितका लागि सहयोग गरेको बताए। विपद्को समयमा सहयोग गर्नुपर्छ भन्ने भावना बालबालिकामा विकास हुनु सकारात्मक पक्ष भएको भन्दै उनले विद्यार्थीहरूले आफ्नै इच्छाले गरेको सहयोगले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको भावना झल्काएको उल्लेख गरे।

रिलायन्स एजुकेसन नेटवर्कले शैक्षिक गतिविधिसँगै सामाजिक सेवामा समेत आफ्नो सहभागिता जनाउँदै आएको जनाएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत