रामेछाप कांग्रेसमा नेतृत्वको दौड, दुई पक्षबीच तानातान
- गाउँ सहर संवाददाता
- २८ भदौ आइतबार, २०८३ | ०७:२३:०० मा प्रकाशित
काठमाडाैं । केन्द्रीय महाधिवेशन नजिकिएसँगै नेपाली कांग्रेस रामेछापमा पनि वडा/पालिका/नगरदेखि जिल्लाकाे नयाँ नेतृत्वका लागि आकांक्षीहरूको दौडधुप बढेको छ। जिल्ला सभापतिका आकांक्षीहरू अगुवा कार्यकर्ता भेटघाट, छलफल र आफ्नो पक्षमा माहोल बनाउन सक्रिय देखिएका छन्। केहीले अनौपचारिक रूपमा उम्मेदवारी घोषणा गरेर दौडधुप तीव्र पारेका छन् भने केही भने ‘पर्ख र हेर’को रणनीतिमा छन्।
जिल्ला र प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशनपछि गर्ने कार्यतालिका भएपनि सभापतिका आकांक्षीका रूपमा कार्यकर्तामाझ आफ्नो उपस्थिति देखाउँदै माहोल बुझ्ने काम भइरहेको एक अगुवा कार्यकर्ताले बताए। उनका अनुसार नेतृत्वका लागि आकांक्षी देखिएका नेताहरूले कार्यकर्तासँगको भेटघाटलाई तीव्र बनाएका छन्।
भरतप्रसाद चाैलागाईं, अर्जुनकुमार केसी, जितेन्द्रकुमार मोक्तान, दीपक खड्का, केशव महत लगायतका नेताहरू नेपाली कांग्रेस रामेछापको नेतृत्वमा पुग्न चाहेको देखिन्छ। यद्यपि, याे संख्या अझै बढ्न सक्ने देखिन्छ । आकांक्षीहरूमध्ये कसले औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने र कसले कसको पक्षबाट प्रतिस्पर्धा गर्ने भन्ने तस्वीर अझै स्पष्ट भइसकेको छैन। माेक्तान महासमिति सदस्य तथा पूर्वउपसभापति हुन् भने, केसी,चाैलागाईं महाधिवेशन प्रतिनिधि हुन् । त्यस्तै खड्का हाल सचिवकाे जिम्मेवारीमा छन् भने महत लिखुतामाकाेशी गाउँपालिकाे अध्यक्ष हुन् ।
आकांक्षीहरू असोज ३ र ४ गतेका लागि तोकिएको वडा अधिवेशनको तयारीका लागि कार्यकर्ता भेटघाट र छलफलमा जुटेका छन्। वडा अधिवेशनबाट सुरु हुने कांग्रेसको अधिवेशन प्रक्रिया गाउँ–नगरपालिका हुँदै प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनतर्फ अघि बढ्नेछ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको संशोधित कार्यतालिकाअनुसार गाउँ–नगर वडा अधिवेशन ३ र ४ असोजमा, गाउँ–नगरपालिका अधिवेशन ७ असोजमा तथा प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन १० असोजमा गर्ने तय भएको छ। १६ देखि १९ असोजसम्म केन्द्रीय महाधिवेशन गर्ने तालिका छ।
यता कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले भने समानान्तर महाधिवेशनको तयारी तीव्र पारेको छ। देउवा पक्षको सचिवालय समन्वय समितिले विज्ञप्ति जारी गर्दै महाधिवेशन तयारीका लागि जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा अधिवेशन तयारी समितिहरू ३ असोजभित्र गठन गरिसक्ने जनाएको छ।
देउवा पक्षले १५ असोजमा वडा अधिवेशन र त्यसपछि पालिका तथा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन गर्ने तयारी गरेको छ। उसले २१ देखि २३ मंसिरमा काठमाडौंमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहे पनि १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई १५औँ महाधिवेशन गर्ने वैधानिक दायित्व रहेको देउवा पक्षको दाबी छ। कांग्रेस संस्थापन पक्षले असोजमै महाधिवेशन गर्ने गरी तयारी अघि बढाएपछि देउवा पक्षले छुट्टै महाधिवेशनको तयारी थालेको हो।
यसको असर रामेछापमा पनि देखिएको छ। केही महिना अघि नै जिल्ला सभापति रहेका पूर्णबहादुर तामाङलाई निलम्बन गरेर पार्टी सभापति गगन थापाले नवराज थोकरलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।
रामेछापमा संस्थापन र देउवा पक्ष दुवै अगुवा कार्यकर्ता आफ्नो पक्षमा तान्न सक्रिय देखिएका छन्। जिल्लामा कांग्रेसको संगठनात्मक गतिविधि र नेतृत्वको प्रतिस्पर्धा स्पष्ट रूपमा दुई धारमा विभाजित देखिएको छ। दुवै पक्षले आगामी अधिवेशनलाई आफ्नो प्रभाव र शक्ति परीक्षणका रूपमा लिएका छन्।
यसबीच सभापतिका आकांक्षीहरूबीच व्यक्तिगत दौडधुपसँगै समूहगत समीकरण बनाउन पनि प्रयास भइरहेको छ। वडा अधिवेशनपछि मात्र जिल्ला नेतृत्वको प्रतिस्पर्धाको वास्तविक तस्वीर थप स्पष्ट हुने कांग्रेसका स्थानीय नेता–कार्यकर्ताहरूको बुझाइ छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज हरितालिका तीज : पाशुपत क्षेत्रमा बिहानैदेखि भक्तजनको भिड
- बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
- हरितालिका तीज सुरु, आज दर खाइँदै
- नेपाल एसीसी प्रिमियर कप च्याम्पियन हुँदै एसिया कपमा छनोट
- बाढीबाट १ हजार ८०० हेक्टर कृषियोग्य भूमि क्षति
- कुशे औँसीमा गोकर्णेश्वरमा क्रियटिभ सरसफाइको विशेष अभियान
- आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
- भोटेकोशी बाढी प्रभावितका लागि विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर
- आज जेनजी शहीद दिवस, देशभरि सार्वजनिक बिदा
- बाढीपीडितका लागि रिलायन्स एजुकेसन नेटवर्कको आर्थिक सहयोग
प्रतिकृया दिनुहोस