कांग्रेसमा सदाको कचकचः के फेरि विभाजित हुन्छ ?
- शिवराज खड्का
- ५ श्रावण मंगलबार, २०८३ | ०८:५५:०० मा प्रकाशित
नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक राजनीतिक दल हो । प्रजातन्त्र, लोकतन्त्र र नागरिक स्वतन्त्रताको आन्दोलनसँग यसको इतिहास जोडिएको छ । तर कांग्रेसको अर्को परिचय पनि उत्तिकै पुरानो छ, गुटबन्दी, नेतृत्व संघर्ष, विभाजन र पुनर्मिलन । कांग्रेसको इतिहास हेर्दा एउटा तथ्य स्पष्ट देखिन्छ– यो पार्टीले जति बाह्य राजनीतिक संघर्ष गर्यो, त्यत्तिकै समय आन्तरिक संघर्षमा पनि बितायो । त्यसैले कांग्रेसको इतिहास केवल आन्दोलन र लोकतन्त्रको इतिहास मात्र होइन, निरन्तरको शक्ति संघर्षको इतिहास पनि हो ।
अहिले विशेष महाधिवेशनपछि गगनकुमार थापा सभापतिमा निर्वाचित भइसकेपछि पूर्वसभापति शेरबहादुर देउवा समूहले समानान्तर गतिविधि सञ्चालन गरिरहेको अवस्था नयाँ घटना जस्तो देखिए पनि यसको जरो कांग्रेसको स्थापनाकालमै पुगेर जोडिन्छ । त्यसैले आजको विवाद बुझ्न इतिहास फर्केर हेर्नु आवश्यक छ ।
जन्मजात गुटबन्दी २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएलगत्तै नेतृत्वको विवाद सुरु भएको थियो । बीपी कोइराला र डिल्लीरमण रेग्मीबीचको मतभेदले एउटै नामका दुई संगठन बने । त्यसपछि नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस एकीकरण भएर २००६ सालमा नेपाली कांग्रेस बनेपनि विचार र नेतृत्वको प्रतिस्पर्धी समाप्त भएन मातृकाप्रसाद कोइराला सभापति भए, तर पार्टीभित्र बीपी कोइरालाको प्रभाव बलियो थियो । यही शक्ति सन्तुलन अन्ततः २००९ सालमा ठूलो विभाजनमा परिणत भयो । प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र पार्टी सभापति बीपी कोइरालाबीचको टकरावले कांग्रेस चार चिरामा विभाजित भयो । इतिहासले पहिलो पटक प्रमाणित ग¥यो । कांग्रेसमा सरकार र पार्टी नेतृत्व दुई ध्रुवमा पुगे भने विभाजन अपरिहार्य बन्न सक्छ ।
दोहोरिरह्यो इतिहास
त्यसपछि पनि कांग्रेस पूर्ण रूपमा एकताबद्ध रहन सकेन । पञ्चायतकालमा बाह्य संघर्षका कारण गुटहरू धेरै खुलेर देखिएनन् । तर २०४६ पछि संसदीय राजनीतिमा फर्किएसँगै गुट राजनीति फेरि सतहमा आयो । कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र गणेशमान सिंहबीचको प्रतिस्पर्धाले पार्टीलाई लामो समय प्रभावित ग¥यो । २०५१ सालको मध्यावधि निर्वाचनमा आन्तरिक असन्तुष्टिका कारण कांग्रेसले बहुमत गुमायो ।
त्यसपछि गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाबीचको संघर्षले पार्टीलाई अर्को ठूलो विभाजनतर्फ धकेल्यो । २०५९ सालमा पार्टीको निर्देशन नमानेर संकटकाल थपेपछि देउवालाई कारबाही गरियो । त्यसको जवाफमा उनले नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे । पाँच वर्षपछि फेरि एकता भयो, तर गुट समाप्त भएन । बरु संस्थागत भयो ।
त्यसयता कांग्रेसमा प्रायः प्रत्येक महाधिवेशन गुटको अंकगणितमा निर्भर हुन थाल्यो । नीति र सिद्धान्तभन्दा कुन नेता कुन समूहमा छन् भन्ने कुरा निर्णायक बन्न पुग्यो ।
देउवा युग र कांग्रेसको क्रमिक कमजोर यात्रा १३औँ महाधिवेशनपछि शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस फेरि सत्तामा पुग्यो । तर त्यही अवधिमा संगठन कमजोर हुँदै गयो ।
क्रियाशील सदस्यता विवाद, भागबन्डाको संस्कृति, सिद्धान्तहीन गठबन्धन, संगठनभन्दा सत्ता प्राथमिकता, जनताभन्दा नेताप्रति उत्तरदायित्व र निर्णय प्रक्रियाको अत्यधिक केन्द्रीकरणले कांग्रेसको जनाधार क्रमशः खस्कँदै गयो ।
पार्टीभित्र विचारको बहस कम हुँदै गयो । नेतृत्व परिवर्तनको माग उठिरहे पनि पुरानो नेतृत्वले त्यसलाई गम्भीर रूपमा लिएन । गगन कुमार थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायत युवा नेताले संगठनात्मक रूपान्तरणको आवश्यकता औँल्याइरहे, तर पार्टी यथास्थितिमै अघि बढिरह्यो ।
यसबीच नयाँ पुस्ताले कांग्रेसलाई परिवर्तनको प्रतीक होइन, पुरानो राजनीतिक संस्कृतिको प्रतिनिधिका रूपमा हेर्न थाल्यो । जसले गर्दा कांग्रेसको जरा कमजोर हुँदै गयो ।
निर्वाचनको झट्का र विशेष महाधिवेशन
विशेष महाधिवेशनबाट गगन थापा सभापति र विश्वप्रकाश उपसभापतिमा निर्वाचित भए, साथमा अन्य युवाहरु एक ठाउँमा उभिए । तर देउवा–कोइराला पक्षले स्वीकार गरेन । विशेष महाधिवेशनलाई अदालत र निर्वाचन आयोगले वैधानिक मान्यता दिएपछि इतर पक्ष अलमलमा पर्यो विशेष महाधिवेशनको नेतृत्वलाई पार्टीभित्र सहज रूपमा स्वीकार गरिरहेको छैन ।
यसैबीचमा जेनजी आन्दोलन र संघीय निर्वाचन सम्पन्न भयो तर आमनिर्वाचन कांग्रेसका लागि ऐतिहासिक धक्का बन्यो । पार्टीले आफ्नो संसदीय इतिहासकै सबैभन्दा कमजोर परिणाम भोग्नुपर्यो । पार्टी ३८ सिटमा खुम्चियो । विशेष महाधिवेशनका कारण पार्टीको यो हालत भएको भन्दै यसैलाई हतियार बनाएर कांग्रेसभित्र अहिले पनि कचकच चलिरहेको छ ।
तथापी, पहिले पार्टीभित्रको आन्तरिक लोकतन्त्र अपेक्षाअनुसार सुदृढ हुन सकेको थिएन । निर्णय प्रक्रिया पर्याप्त सहभागितामूलक, पारदर्शी र विधिसम्मत नहुँदा धेरै निर्णय विवादित बन्ने गरेका थिए । त्यसको प्रत्यक्ष असर संगठनप्रति कार्यकर्ता र आमजनताको विश्वासमा परेको थियो । यही अवस्थाबाट पार्टीलाई बाहिर निकाल्ने उद्देश्यका साथ विशेष महाधिवेशनपछि सभापति थापाले व्यापक सुधार अभियान अघि बढाएका छन् । पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउने, निर्णय प्रक्रियालाई थप पारदर्शी, सहभागितामूलक र विधिसम्मत बनाउने तथा संगठनलाई जनमुखी र संस्थागत दिशामा रूपान्तरण गर्ने प्रयासमा उनी केन्द्रित छन् । व्यक्तिकेन्द्रित राजनीतिक संस्कृतिलाई नीतिमुखी र संस्थागत अभ्यासमा रूपान्तरण गर्दै कांग्रेसलाई पुनः जनविश्वासको केन्द्र बनाउने लक्ष्यका साथ सभापति थापाले सुधारका कार्यक्रम अघि बढाइरहेका छन् ।
गगन थापा विरुद्ध देउवा समूह
विशेष महाधिवेशनपछि कांग्रेस औपचारिक रूपमा गगन थापाको नेतृत्वमा आए पनि व्यवहारमा पार्टी दुई धारमा विभाजित देखिन थाल्यो । एकातिर नयाँ नेतृत्व छिटो संगठन पुनर्निर्माण, पुस्तान्तरण र नीति सुधारको पक्षमा देखियो । अर्कोतिर शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, शेखर कोइराला लगायतका नेताहरूले विशेष महाधिवेशनबाट बनेको संरचनालाई पूर्ण रूपमा स्वीकार गरेनन् । हाल उनीहरूले केन्द्रीय कार्यसमिति समायोजन, साझा राजनीतिक संयन्त्र, सदस्यता व्यवस्थापन र महाधिवेशन प्रक्रियामा संयुक्त निर्णयको माग राखिरहेका छन् । सर्वोच्च अदालतबाट वैधानिक विकल्प समाप्त भएपछि पनि समानान्तर बैठक र गतिविधि रोकिएको छैन । यसले विवाद कानुनीभन्दा बढी राजनीतिक भएको स्पष्ट देखिएको छ ।
एकताको प्रयास र बढ्दो अविश्वास
सभापति गगन थापाले देउवा–खड्का समूहका केही नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेर समेट्ने प्रयास गरे । तर असन्तुष्ट पक्षले त्यसलाई पर्याप्त मानेन । उनीहरूको अडान थियो– केही व्यक्तिको समावेशीकरण होइन, सम्पूर्ण संरचनाको राजनीतिक समायोजन हुनुपर्छ । पूर्णबहादुर खड्का र शेखर कोइराला पक्षले महाधिवेशनसँग सम्बन्धित सबै निर्णय राजनीतिक संयन्त्रमार्फत गर्नुपर्ने प्रस्ताव अघि सारे । नेतृत्वले छलफल गरिरहेको बताए पनि ठोस सहमति बन्न सकेन ।
यसबीच देउवा समूहले छुट्टै सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । उसले अब राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ । पार्टी एकताको सम्भावना ९९ प्रतिशत समाप्त भएको निष्कर्ष पनि सार्वजनिक भएको छ । यसले कांग्रेस फेरि विभाजनको संघारमा पुगेको संकेत दिएको छ ।
वास्तवमा आजको विवाद केवल व्यक्ति र पदको लडाइँ मात्र होइन । यो पुरानो नेतृत्व र नयाँ नेतृत्वबीचको शक्ति हस्तान्तरणको संघर्ष पनि हो । एक पक्षले विशेष महाधिवेशनलाई नयाँ सुरुवात मानेको छ भने अर्को पक्षले त्यसलाई राजनीतिक रूपमा अन्यायपूर्ण प्रक्रिया ठानेको छ । गगन थापाले जनमतको प्रतिनिधित्व गर्छन् भन्ने धारणा एकातिर छ । अर्कोतिर पुरानो संगठनात्मक संरचना र अनुभवलाई बेवास्ता गर्न नहुने तर्क पनि प्रस्तुत भइरहेको छ । यद्यपि दुवै पक्षका तर्कभन्दा ठूलो प्रश्न कांग्रेसको भविष्य हो ।
के कांग्रेस फेरि विभाजित हुन्छ ?
इतिहास हेर्दा कांग्रेसमा विभाजन असम्भव होइन । २००९, २०५९ सालमा भयो । दुवै पटक सरकार र पार्टी नेतृत्वबीचको टकराव निर्णायक बन्यो । अहिले पनि नेतृत्वको वैधता, संगठनको नियन्त्रण र भविष्यको राजनीतिक दिशामाथि विवाद छ । यद्यपि आजको परिस्थिति विगतभन्दा फरक पनि छ । विभाजन गर्ने पक्षसँग पहिलेजस्तो जनाधार, संगठन र चुनावी प्रभाव छैन । नयाँ पार्टी बनाए पनि त्यसले पुरानो कांग्रेसजत्तिको प्रभाव कायम राख्न सक्ने सम्भावना सीमित देखिन्छ ।
त्यसैले अहिलेको दबाब विभाजनभन्दा बढी राजनीतिक बार्गेनिङका रूपमा पनि हेरिएको छ । तर यदि संवाद पूर्ण रूपमा टुट्यो भने इतिहास फेरि दोहोरिन नसक्ने ग्यारेन्टी छैन ।
कांग्रेसको सबैभन्दा ठूलो चुनौती प्रतिद्वन्द्वी दल होइन, आफ्नै आन्तरिक संस्कृतिको सुधार हो । यदि पार्टीले गुटभन्दा संस्थालाई, व्यक्तिभन्दा नीतिलाई, सत्ता भन्दा संगठनलाई, भागबन्डाभन्दा आन्तरिक लोकतन्त्रलाई प्राथमिकता दिन सकेन भने नेतृत्व परिवर्तनले मात्र परिणाम दिने छैन ।
गगन थापाको नेतृत्वले जनतामा अपेक्षा जगाएको छ । तर त्यो अपेक्षा केवल लोकप्रियताले होइन, परिणामले टिक्नेछ । त्यस्तै देउवा समूहले पनि इतिहास, योगदान र अनुभवको सम्मान गर्दै पार्टीभित्रै आफ्नो भूमिका खोज्ने कि पुनः विभाजनको बाटो रोज्ने भन्ने निर्णय गर्नुपर्ने मोडमा पुगेको छ ।
यसर्थ नेपाली कांग्रेसको इतिहास हेर्दा एउटा सत्य बारम्बार प्रमाणित भएको छ-हरेक ठूलो विभाजनको सुरुवात गुटीय अविश्वासबाट भएको थियो । बीपी–मातृका, गिरिजा–देउवा र अहिले गगन–देउवा धु्रवीकरण त्यसैको निरन्तरता जस्तो देखिन्छ । तर हरेक विभाजनले अन्ततः कांग्रेसलाई कमजोर बनाएको छ भने एकताले मात्र उसलाई पुनः स्थापित गरेको इतिहास पनि उत्तिकै स्पष्ट छ ।
आज गगन थापाको नेतृत्वमा कांग्रेस नयाँ मोडमा उभिएको छ । एकातिर पुस्तान्तरण, संगठन सुधार र वैचारिक पुनर्जागरणको अवसर छ । अर्कोतिर पुरानै गुटबन्दी, समानान्तर संरचना र विभाजनको जोखिम पनि उत्तिकै बलियो छ । सदाबहार शक्ति–संघर्ष, चिरस्थायी गुटबन्दी र अन्त्यहीन विवादको कारणले विभाजन र एकताको चक्रव्यूहबाट गुज्रिँदै आएको कांग्रेस अहिले पुनः सोही अभिशप्त नियतिको कठघरामा उभिएको छ । एकातिर, निर्वाचनमा रास्वपाको अभूतपूर्व विजय र कांग्रेसको लज्जास्पद पराजयले केन्द्रीय नेतादेखि स्थानीयस्तरका कार्यकर्ता पंक्तिसम्मलाई गम्भीर राजनीतिक तथा मनोवैज्ञानिक आघात परेको देखिन्छ ।
त्यसैले अहिलेको प्रश्न केवल देउवा समूह पार्टीमा बस्छ कि छुट्टिन्छ ? भन्ने भन्दापनि के नेपाली कांग्रेस आफ्नो इतिहासबाट पाठ सिकेर संस्थामुखी लोकतान्त्रिक दल बन्न सक्छ, कि फेरि एकपटक आफ्नै आन्तरिक कचकचको बन्दी बनेर इतिहास दोहो¥याउँछ ? यही प्रश्नको उत्तरले कांग्रेसको मात्र होइन, नेपालको लोकतान्त्रिक राजनीतिको आगामी दिशा पनि निर्धारण गर्नेछ ।
प्रतिकृया दिनुहोस