गाउँ सहर

दीपशिखा पुस्तकालयमा भानु जयन्ती

पोखरा । पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा भानु जयन्ती मनाइएको छ । दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्रको आयोजनामा आदिकवि भानुभक्त आचार्यको २१३औं जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको हो ।

पुस्तकालयले भानु जयन्तीमार्फत भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा भानुभक्तका योगदानका स्मरण गर्न का लागि परिचर्चा,उच्चारण क्षमताको विकास गर्ने उद्धेश्यले विद्यालयस्तरीय भानुुभक्तकृत रामायण वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको अध्यक्ष कृष्णहरि भण्डारीले जानकारी दिए ।

पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवम कार्यपालिका सदस्य निर्मला पौडेलले भानुभक्तको रामायणबाट एक श्लोक वाचन गर्दै कार्यक्रम उद्घाटन गरेकी थिइन् ।वधुशिक्षा प्रश्नोत्तर, भक्तमाला, रामगीता, फुटकर रचना लगायतका माध्यमले राष्ट्रियता र सांस्कृतिक चेतना जगाउन भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको उनले बताइन् ।

गत वर्ष पुस्तकालय दिवशका अवसरमा  विद्यालयस्तरीय भानुुभक्तकृत रामायण वाचन प्रतियोगितामा प्रथम भएकी लक्ष्मी आदर्श मा.वि.की जयन्ती आचार्य र तृतीय भएकी लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलकी सुदिक्षा पौडेलले आआफ्ना प्रस्तुति राखेका थिए भने लिटल फ्लावरका अभिमन्यु पौडेल र गोगन मा विकी सलिना सुनारले रामायणका श्लोक वाचन गरेका थिए ।  

भानुभक्तका योगदानका परिचर्चामा सहभागी हँुदै सामुदायिक पुस्तकालय संघ गण्डकीका अध्यक्ष एवम् पुस्तकालय कोषाध्यक्ष माधव भण्डारी ,लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल, दीपशिखा सामुदायिक पुस्तकालयका कार्यालय प्रमुख धनु पहारी, सचिव पदमप्रसाद अधिकारी,सदस्यहरु कमला भण्डारी, विश्वराज पौडेल, एलिसा केसी, सिकाइ केन्द्रका सचिव होमनाथ पौडेल, जनप्रकाश माविका पूर्व अध्यक्ष बाबुराम सुवेदी, लक्ष्मी आदर्श मा.वि.का प्रअ शिवमणि भण्डारी लगायतले नेपाली जातीय एकता, राष्ट्रिय पहिचान ,नेपाली सांस्कृतिक चेतना जगाउन भाषिक  एकीकरणका माध्यमले राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान रहेकामा जोड दिए ।
पुस्तकालय व्यबस्थापन समितिका पदाधिकारीहरु तथा कर्मचारीहरु, सिकाइ केन्द्रका कार्य समिति सदस्यहरु लगायतले रामायणको पुस्तकबाट विभिन्न श्लोकहरु वाचन गरेका थिए  ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ भनेकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरणा मिलेको धारणा सहभागीहरुको रहेको थियो । कार्यक्रम सिकाइ केन्द्रकी उपाध्यक्ष सावित्री भण्डारीले सञ्चालन गरेकी थिइन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत