गाउँ सहर

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान रामेछापको अध्यक्षमा सुनुवार, जिल्ला कार्यालय पनि स्थापना

  • २८ असार आइतबार, २०८३ | १३:४१:०० मा प्रकाशित

रामेछाप। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति रामेछापको अध्यक्षमा कल्पना सुनुवार निर्विरोध चयन भएकी छन्। शनिबार मन्थलीमा सम्पन्न प्रतिष्ठानको प्रथम जिल्ला अधिवेशनले सुनुवारको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा अर्जुन पूर्वेली, द्वितीय उपाध्यक्षमा पम्फा मगर र महिला उपाध्यक्षमा सम्झना गौतम चयन भएका छन्। सचिवमा अनिता कुमारी थापा मगर, सहसचिवमा प्रतिभा बोहोरा, कोषाध्यक्षमा विशाल केसी तथा सहकोषाध्यक्षमा हिरामाया बिक निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यमा गीता कार्की, सुशीला बुढाथोकी, सुवास कार्की, विक्रमकुमार श्रेष्ठ, मनिष राउत, धर्मेन्द्र सेन्चुरी, मिरा सेन्चुरी, नवराज खड्का, छत्रबहादुर नेपाली, दीपक लाखे, राजकुमार श्रेष्ठ, किशोर सेन्चुरी, भानुभक्त सेन्चुरी र रिचा अधिकारी चयन भएका छन्।

अध्यक्षमा निर्वाचित भएपछि सुनुवारले पदभन्दा जिम्मेवारी ठूलो हुने बताउँदै प्रतिष्ठानको उद्देश्यअनुरूप जिल्लाको लोक तथा दोहोरीगीत, मौलिक कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। कलाकारको हकहित संरक्षण, क्षमता विकास तथा संस्थालाई थप प्रभावकारी र सशक्त बनाउने आफ्नो प्राथमिकता रहने उनको भनाइ छ।

नवनिर्वाचित कार्यसमितिले रामेछापको मौलिक लोककला, लोक तथा दोहोरीगीत तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै कलाकारको क्षमता अभिवृद्धि, सिर्जनात्मक गतिविधिको विस्तार तथा संस्थागत गतिविधिलाई थप सक्रिय बनाउने जनाएको छ।

यसैबीच प्रतिष्ठानले रामेछापमा आफ्नै जिल्ला कार्यालय पनि सञ्चालनमा ल्याएको छ। सदरमुकाम मन्थलीस्थित होटेल पाहुनाघर भवनमा स्थापना गरिएको कार्यालयको आइतबार प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रिता थापा मगरले औपचारिक उद्घाटन गरिन्।

प्रतिष्ठानका अनुसार कार्यालय सञ्चालनमा आएपछि जिल्लामा लोक तथा दोहोरीगीत, मौलिक कला र संस्कृतिको संरक्षण, कलाकारको क्षमता अभिवृद्धि तथा संस्थागत गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ।

तपाईँको मत