रिलायन्समा एसईई निबन्ध प्रतियोगिता सम्पन्न, उत्कृष्टलाई छात्रवृत्ति प्रदान
- गाउँ सहर संवाददाता
- ७ जेठ बिहीबार, २०८३ | ०८:२४:०० मा प्रकाशित
काठमाडौं । रिलायन्स कलेजले आयोजना गरेको छैठौँ राष्ट्रव्यापी माध्यमिक शिक्षा परीक्षा (एसईई) खुला निबन्ध प्रतियोगितामा अनुप भण्डारी प्रथम भएका छन् । देशभरबाट एसईई उत्तीर्ण विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त प्रतियोगिता सिर्जनात्मक लेखन, आलोचनात्मक सोच र विचार अभिव्यक्तिको सशक्त मञ्चका रूपमा लिइएको कलेजले जनाएको छ ।
प्रतियोगितामा कान्ति भैरव सेकेन्डरी स्कुल, काठमाडौंका भण्डारीले उत्कृष्ट निबन्ध लेखन प्रस्तुत गर्दै प्रथम स्थान हासिल गरेका हुन् । उनले नगद १५ हजार रुपैयाँसहित कक्षा ११ मा भर्नामा शतप्रतिशत छुट र मासिक शुल्क पूर्ण रूपमा छुट प्राप्त गरेका छन् । साथै, कलेजले प्रदान गर्ने अन्य शैक्षिक सुविधामा समेत प्राथमिकता पाउने व्यवस्था गरिएको छ ।
त्यसैगरी काठमाडौं न्यू क्यासल स्कुलबाट एसईई उत्तीर्ण दिव्या लक्ष्मी शर्मा द्वितीय भएकी छन् । उनले १० हजार रुपैयाँ नगद पुरस्कारसहित कक्षा ११ को भर्नामा शतप्रतिशत छुट र ९ महिनाको मासिक शुल्क छुट प्राप्त गरेकी छन् ।
तेस्रो स्थान सिन्धुपाल्चोकस्थित तेर्से सेकेण्डरी स्कुलकी राधिका ज्योतिले प्राप्त गरेकी छन् । उनले ६ हजार रुपैयाँ नगदसहित कक्षा ११ मा पूर्ण भर्ना छुट र ६ महिनाको मासिक शुल्क छुट प्राप्त गरेकी छन् ।
यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने थप १० विद्यार्थीलाई जनही २ हजार पाँच सय रुपैयाँ नगद, कक्षा ११ को भर्नामा ५० प्रतिशत छुट र दुई महिनाको मासिक शुल्क छुट प्रदान गरिएको कलेजले जनाएको छ । साथै थप उत्कृष्ट १० सहभागीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ, जसले उनीहरूको सिर्जनात्मक क्षमताको सम्मान र प्रोत्साहन गरेको कलेजको भनाइ छ । उक्त प्रतियोगितामा सातै प्रदेशका ३७ जिल्लाबाट कुल ४८७ वटा निबन्ध प्राप्त भएका थिए ।

यस वर्षको निबन्ध प्रतियोगिताको शीर्षक “समयको माग: सुशासन र भ्रष्टाचारमुक्त नेपाल” तोकिएको थियो । समसामयिक विषयमा आधारित उक्त शीर्षकले विद्यार्थीहरूलाई देशको वर्तमान अवस्था, सुशासनको आवश्यकता र भ्रष्टाचार न्यूनीकरणका उपायबारे आफ्ना विचार प्रस्तुत गर्ने अवसर प्रदान गरेको थियो ।
कलेजका प्रधानाध्यापक रविन्द्र जंग थापाका अनुसार प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूको लेखन क्षमता मात्र नभई उनीहरूको सोच्ने शैली, विश्लेषणात्मक क्षमता र सामाजिक दृष्टिकोणको विकास गर्नु पनि हो । उनले विद्यार्थीहरू भविष्यका नीति निर्माता भएकाले उनीहरूमा देश विकास, प्रविधि, पूर्वाधार र सीपसम्बन्धी ज्ञान हुनु अत्यावश्यक रहेको बताए ।
उनले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा सिर्जनात्मकता, जिम्मेवारीबोध र सामाजिक उत्तरदायित्व विकास गर्न मद्दत गर्ने उल्लेख गर्दै कलेजले हरेक वर्ष निरन्तर रूपमा यस्तो कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिए ।
वि.सं. २०६२ सालमा स्थापना भएको रिलायन्स कलेज काठमाडौंका प्रतिष्ठित शैक्षिक संस्थामध्ये एक मानिन्छ । चाबहिल, सरस्वतिनगरमा अवस्थित कलेजले विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा प्लस टु तहको अध्यापन गर्दै आएको छ ।
त्यसैगरी स्नातक तहमा बीबीएस, बीसीए र बीएसडब्लू तथा स्नातकोत्तर तहमा एमबीएस कार्यक्रम सञ्चालन भइरहेको छ । कलेजले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीहरूको सर्वांगीण विकासमा विशेष जोड दिँदै आएको छ ।
विद्यार्थीहरूलाई नेतृत्व क्षमता, नवीन सोच, आलोचनात्मक विश्लेषण र जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने उद्देश्यका साथ कलेजले विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । शैक्षिक ज्ञानसँगै व्यवहारिक सीप विकासलाई समेत प्राथमिकतामा राखेर कलेज अघि बढिरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस