राजनीति

सभापति गगन थापाको राजीनामा समाधान होइन : डा. सुनिल शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टी सभापति गगन थापाको राजीनामा माग्नु वा दिनु अहिलेको संकटको समाधान नभएको बताएका छन्। उनले अहिले देखिएको समस्या अर्थात प्रतिनिधिसभाकाे निर्वाचनमा नेपाली कांग्रेसकाे हार कुनै एक व्यक्तिको असफलता नभई दशकौँदेखि चल्दै आएको फोहोरी र अवसरवादी राजनीतिक संस्कारको परिणाम भएको बताए।

नेता शर्माले नेतृत्वको हैसियतले सभापतिमाथि नैतिक जिम्मेवारी अवश्य रहने उल्लेख गर्दै सम्पूर्ण असफलताको भारी एउटै व्यक्तिको काँधमा थोपर्नु न्यायोचित नहुने धारणा व्यक्त गरे। “यो क्षणिक भावावेशमा राजीनामा माग्ने वा दिने समय होइन, बरु पार्टीभित्र गम्भीर आत्मसमीक्षा आवश्यक छ,” उनले भने।

शर्माका अनुसार यदि विशेष महाधिवेशन नगरी पुरानै नेतृत्वको कार्यशैली र संरचनामा चुनाव लडिएको भए पार्टीको अवस्था झन् जटिल हुन सक्ने थियो। उनले हाल देखिएको पराजयलाई विगतका गलत निर्णय, जनभावना विपरीतका गतिविधि र कमजोर संगठनात्मक कार्यशैलीको दीर्घकालीन परिणामको रूपमा व्याख्या गरे।

उनले नागरिकको विश्वास कमजोर बनाउने गतिविधिमा संलग्न विगतका नेतृत्व र सम्बन्धित व्यक्तिहरूले पनि आफ्नो जिम्मेवारी स्वीकार गर्नुपर्ने बताए। “अब विगतलाई दोष दिँदै जिम्मेवारीबाट पन्छिने समय छैन,” उनले भने।

नेता शर्माले नेपाली कांग्रेसको इतिहासमा कोइराला परिवारले लोकतन्त्र, त्याग र संघर्षको प्रतीकका रूपमा महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै वर्तमान संक्रमणकालीन अवस्थामा पार्टीभित्र एकता र सहकार्यको वातावरण निर्माण गर्न सबै पक्ष सक्रिय हुनुपर्ने बताए।

उनले विगतका कमजोरीबाट पाठ सिक्दै पार्टीलाई नयाँ ढंगले पुनः निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए। “अब शून्यबाटै नयाँ संघर्ष सुरु गर्नुपर्छ। जनताको गुमेको भरोसा पुनः जितेर कांग्रेसलाई फेरि जनतामाझ विश्वासिलो र शक्तिशाली बनाउने समय आएको छ,” उनले भने।

गाउँ सहर संवाददाता

तपाईँको मत