गाउँ सहर

देशको गहना साम्बाको पुनरागमन यात्रामा भायानेटको ५ लाख सहयोग

काठमाडौं। नेपाली महिला फुटबलकी गौरव तथा ‘देशको गहना’का रूपमा परिचित सावित्रा भण्डारी ‘साम्बा’ यतिबेला आफ्नो खेल जीवनको सबैभन्दा चुनौतीपूर्ण मोडमा छिन्। मैदानमा देशको झण्डा उँचो राख्न अहोरात्र खटिने साम्बा घुँडाको गम्भीर चोटका कारण हाल मैदान बाहिर रहनुपरेको छ।

यस कठिन घडीमा इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशनले आफ्नी ब्रान्ड एम्बेसडर साम्बाको उपचार तथा पुनरागमनका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीले साम्बाको शल्यक्रिया र त्यसपछिको करिब आठ महिना लामो ‘रिह्याब’ प्रक्रियामा सहयोग पुर्‍याउने उद्देश्यसहित उक्त सहयोग उपलब्ध गराउने जनाएको हो।

साम्बाको उपचार र पुनः फिटनेसमा फर्किन ठूलो स्रोतको आवश्यकता पर्ने देखिएको छ। ‘थाकेको हो, हारेको छैन’ भन्ने उनको अदम्य आत्मविश्वासलाई सम्मान गर्दै भायानेटले यो सहयोगलाई खेलाडीप्रतिको जिम्मेवारी र सम्मानका रूपमा लिएको जनाएको छ।

साम्बाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै कम्पनीले भनेको छ, “देशको गहना साम्बाको रिकभरीको हरेक पाइलामा हामी साथै रहनेछौँ। उहाँ चाँडै निको भएर मैदान फर्कनुहुनेछ र देशलाई पुनः गौरवान्वित बनाउनुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ।”

भायानेटले ब्रान्ड एम्बेसडरप्रति देखाएको तत्परताले जस्तोसुकै कठिन परिस्थितिमा पनि प्रयोगकर्ता र सरोकारवालासँग अटुट सम्बन्ध र भरपर्दो ‘कनेक्सन’ कायम राख्ने कम्पनीको मूल मन्त्रलाई थप सशक्त बनाएको छ। खेल क्षेत्रप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कम्पनीले राष्ट्रिय खेलाडीको मनोबल उच्च राख्न योगदान पुर्‍याएको बताइएको छ।

नेपाली फुटबल समर्थकहरूले पनि साम्बाको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन्। सबैको साथ र हौसलाले उनी चाँडै नै पुनः मैदानमा फर्किने विश्वास गरिएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत