गाउँ सहर

नेवार समुदायले आज म्हः पूजा गर्दै

  • ५ कार्तिक बुधबार, २०८२ | ०८:०५:०० मा प्रकाशित

काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ ।

यही शास्त्रीय मान्यता र विश्वासका आधारमा आत्म (म्हः) पूजा गर्ने परम्परा बसेको हो । यो पर्व नेवारी समुदायको बाहुल्यता रहेको काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत स्थानमा मनाउने गरिएको छ ।

महत्व र विधि
-नेवारी भाषामा म्हः भनेको शरीर हो । 

-सम्पूर्ण नेवार समुदायद्वारा मनाइने म्हः पूजा नेपाली पर्वमध्ये विशेष पर्वका रुपमा रहिआएको छ । 

-आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष छ । 

-समग्र देवता ऊर्जाशक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विaश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफै अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्व विकास भएको पाइन्छ । 

-किम्बदन्तीअनुसार परापूर्व कालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो । त्यसबाट धेरै मानिसको क्षति हुन गएकाले त्यसपछि जीवित रहेका मानिसले -आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास छ । 

-प्रत्येक वर्ष नेपाल संवतअनुसार कार्तिक शुक्लपक्ष प्रतिपदा तिथिमा नेवार परिवारमा परिवारको मूलीले परिवारका सबै सदस्यहरुको पूजा गरी हाँस वा कुखुराको फूल सगुन चढाइन्छ । 

-शरीरमा शान्ति नभएसम्म आत्मशान्ति नहुने भएकाले म्हः पूजाको दिन शरीरलाई तान्त्रिक विधिबाट पूजा गरिन्छ । 

-यसो गर्दा वर्षभरि चोट नलाग्ने र मन पनि शान्त हुने धार्मिक विश्वास छ । 

-म्हः पूजा गर्न परिवारका प्रत्येक सदस्यको लागि पूर्वसम्मुख पारेर एकरएकवटा मण्डल बनाइँछ । 

-मन्डलमा खाने तेलको सानो घेरालाई बीचमा पारी त्यसपछि क्रमशः बाहिर अक्षता, लावा, कालो भटमास, मासको गेडा, धान, बेसारले रंगाएको चामलको धूलो, त्यसपछि पानी र रंगीबिरंगी फूलका घेरा हालिन्छ ।

तपाईँको मत