अर्थतन्त्र

नेपालबाट विदेश निर्यातमा रेकर्ड, के भयो अत्यधिक आयात-निर्यात ?

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ मा मुलुकले १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपैयाँ बराबरको सामान निर्यात गरेको थियो। २०८१/०८२ मा निर्यातको हिस्सा ह्वात्तै बढेर २ खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजार रुपैयाँ पुगेको छ। 

जुन, अघिल्लो आर्थिक वर्षभन्दा ८१.८० प्रतिशतले बढी हो। यसले अर्थतन्त्र चलायमान भएको र व्यापार घाटा कम गर्न सहयोग पुर्‍याएको विज्ञहरूले बताएका छन्। यद्यपि, निर्यातमा बाहिरबाट किनेर भारत पठाइएका सामानको हिस्सा धेरै छ। त्यसैकारण आन्तरिक उत्पादन बढाएर निर्यात नगरे दिगोपनमा समस्या आउने अर्थविद्हरू बताउँछन्। 

नेपालले वैदेशिक व्यापारमा गत आर्थिक वर्षमा १५ खर्ब २७ लाख ९ करोड २५ लाख रुपैयाँबराबरको कूल व्यापार घाटा भएको थियो।

के भयो अत्यधिक निर्यात ?

गत आर्थिक वर्षमा सबैभन्दा बढी सोयाविन तेल निर्यात भएको छ। नेपालबाट निर्यात भएको कूल २ खर्ब ७७ अर्बमध्ये सोयाविन तेल मात्रै १ खर्ब ६ अर्ब ७९ करोड ८ लाख रुपैयाँबराबरको ५० करोड २३ लाख ५६ हजार किलो भारतमा निर्यात भएको छ।

यस्तै १२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँबराबरको ५ करोड ३२ लाख ३५ हजार लिटर सनफ्लावर बीउ तथा तेल भारततर्फ नै निर्यात भएको छ। तेश्रोमा नेपालको मौलिक उत्पादन ठूलो अलैंची भारततर्फ निर्यात भएको हो। ७ अर्ब ६७ करोड ४० लाख रुपैयाँबराबरको ४२ लाख ९४ हजार किलो निर्यात भएको हो।

चौथोमा नेपालमा उत्पादन भएको कार्पेट पनि अत्यधिक परिमाणमा निर्यात भएको छ। गत आर्थिक वर्षमा अमेरिकामा ६ अर्ब ६० करोड ४७ लाख रुपैयाँबराबरको ३ लाख १४ हजार स्क्वायर मिटर अमेरिकामा निर्यात भएको हो।

सूर्यमुखी तेल, पाम र भटमास तेलको निर्यात जोड्दा कुल निर्यातको करिब ४४ प्रतिशत हिस्सा ओगटेको छ। यसको हिस्सा बढ्नुको कारण पनि भारतले उक्त तेल आयातमा कर बढायो। अरू देशबाट नेपालमा कम मूल्यमा जान सम्भव भयो।  यसैले भारतसँग नेपालको करको दर फरकले यहाँबाट तेल निर्यात भएको हो। नेपालको उत्पादन, गुणस्तर बढेर निर्यात भएको स्थिति होइन। अरु देशबाट एकमुष्ट ट्यांकरमा तेल ल्याएर प्याकिङ गरेरमात्रै पठाउने काम भएको छ।

झट्ट हेर्दा निर्यात आकार बढे पनि यो गति दीर्घकालसम्म नरहने भएकाले आन्तरिक उत्पादनलाई नै जोड दिनुपर्ने विज्ञहरूको भनाइ छ। 

के के भयो अत्यधिक आयात ?

गत आर्थिक वर्षमा सबैभन्दा बढी डिजेल १ खर्ब २८ अर्ब ७६ करोड १६ लाख रुपैयाँबराबरको आयात भएको छ । यस्तै १ खर्ब ८ अर्ब ९५ करोड ३३ लाख रुपैयाँबराबरको कच्चा सोयाबीन तेल, ६४ अर्ब १२ करोड ७४ लाखबराबरको पेट्रोल, ६२ अर्ब ५८ करोड ७२ लाख रुपैयाँबराबरको खाना पकाउने एलपी ग्यास, ३५ अर्ब ५४ करोड ७३ लाख रुपैयाँबराबरको स्मार्ट मोवाइल फोन, २९ अर्र्ब २ करोड १९ लाख रुपैयाँबराबरको कच्चा सनफ्लावर तेल, २० अर्ब ३५ करोड ७१ लाखको धान, १८ अर्ब ६२ करोडरुपैयाँबराबरको बिद्युतीय गाडीलगायत आयात भएको छ ।

व्यापार घाटा भने साढे १५ खर्ब २७ अर्ब
भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/०८२  व्यापारघाटा १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख रुपैयाँ रह्यो। अझ अघिल्लो आवको सोही अवधिमा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ रहेको थियो।  अघिल्लो आवको तुलनामा ६ प्रतिशतले व्यापारघाटा बढेको छ। 

तर नेपालको अर्थतन्त्र लामो समयदेखि आयातित वस्तुमै निर्भर रह्यो। जस्ले गर्दा निर्यातको हिस्सा कुल आयातको करिब १० प्रतिशत हाराहारीमा मात्रै हुने गरेको छ। मुलुकको १ लाख रुपैयाँको आयात गर्दा १० हजार रुपैयाँमात्रै निर्यात गर्न सकेको देखिन्छ। यसैकारण मुलुकले सधैं व्यापार घाटा व्यहोर्नु परेको हो।

गाउँ सहर संवाददाता

तपाईँको मत